रिङरोडकाे बहानामा रुख कटानी

कर्णालीपत्र संवाददाता २८ पुष २०७६, सोमबार १२:४९

पुनम बिसी
सुर्खेत । वन जंगल क्षेत्रको संरक्षण गर्ने जिम्मा लिएको सामुदायिक वन उपभोक्ता समूहले निकट भविष्यमा निर्माण हुने रिङरोडको नाममा गैरकानूनी रुपमा बाटोमा पर्ने रुखलाई कटानी गरेको छ ।

प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर–११ स्थित अम्बिकादेवी सामुदायिक वन उपभोक्ता समूहले सुर्खेतमा रिङरोडका लागि भन्दै बाटोमा पर्ने करिब डेढसय वटा रुख काटेको हो ।
वन उपभोक्ता समूहले बाटो क्षेत्रमा पर्ने भन्दै गएको पुस ११ देखि २६ गतेसम्म बाटोमा पर्ने साल, साज, मसलालगायतका जातका रुखहरू काटेको थियो ।

वीरेन्द्रनगर–११ स्थित अम्बिकादेवी सामुदायिक वन उपभोक्ता समूहले काटेका रुख ।

उपभोक्तालाई काठ, दाउरा उपलब्ध गराउने बहानामा उपभोक्ता समूहले प्रचलित कानून विपरित सामुदायिक वन क्षेत्र जोडिने सीमानाका रुख काटेको हो । उपभोक्ताका लागि काठ, दाउरा उपलब्ध गराउन परे सम्बन्धित निकायबाट स्वीकृति लिनुपर्ने व्यवस्थालाई वास्तै नगरेर उपभोक्ता समूहले सम्बन्धित निकायलाई जानकारी नै नदिएर उक्त रुख कटान गरेको पाइएको छ । सडक क्षेत्रमा पर्ने भएकाले धोद्रा, हाँगा भाँचिएका रुखहरू मात्र काटेको उपभोक्ता समितिकी सचिव अञ्जली शर्माले स्वीकार गरिन् । ‘धोद्रा तथा हाँगा भाँचिएका रुखहरू मात्र हामीले काटेका छौं ।’ उनले भनिन्, ‘कुनै एउटा रुख ढाल्दा अर्कोलाई असर पारेपछि ती रुख पनि काटिएका छन् । राम्रा रुखहरू हामीले काटेका छैनौं ।’

‘हाम्रो सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताबाट काठ, दाउराका लागि आएको मागलाई सम्वोधन गर्दै रुख काटिएका हुन् ।’ उपभोक्ता समितिका कोषाध्यक्ष धर्मराज रावतले भने, ‘काटिएका रुखको ६० रुपैयाँको पूर्जी काटेर दाउरा बाँढिएको छ ।’ डेढ मिटर लम्बाइ र एक मिटर गोलाइका काठका टुक्रा बनाएर रुखका टुक्रालाई दाउरा गर्ने प्रयोजनका लागि बिक्री गरिएको दाबी उनको छ । तर यसप्रति वन डिभिजन कार्यालय सुर्खेतले भने अनविज्ञता प्रकट ग¥यो । रुख काट्न कसैलाई स्वीकृति नदिएको उल्लेख गरेका डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख गोविन्दप्रसाद दहालले भने, ‘अम्बिकादेवी सामुदायिक वन उपभोक्ता समितिलाई रुख काट्न हामीले स्विकृति दिएका छैनौँ । यदि काटेको रहेछ भने त्यो सरासर गैरकानूनी हो ।’

रुख काट्दा डिभिजन वन कार्यालय सुर्खेतसँग अनुमति लिनुपर्छ तर कुनै अनुमति नलिई काटिएकाले तत्काल रुख काट्न रोक लगाइएको दाहालले बताए । आइतबार डिभिजन वन कार्यालय सुर्खेतका सहायक वन अधिकृत प्रशान्त श्रेष्ठको नेतृत्वमा रुख काटिएको क्षेत्रमा अनुगमन समेत गरिएको जानकारी उनले दिए । ‘अनुगमनमा गएको टोलीले दुईरचारवटा रुख काटिएको छ भनेको छ,’ उनले भने, ‘अब त्यो विषयमा हामी थप अध्ययन गर्छौ।’ यसबारेमा अझ विस्तृतरूपमा अध्ययन गर्ने कार्यालय सुर्खेतले जनाएको छ ।

२०५२ सालमा स्थापना भएको उक्त सामुदायिक वन उपभोक्ता समूहमा ६ सय १० जना सदस्य रहेका छन् । सो वन एक सय ३९ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

रोडको सर्भे गर्नै बाँकी

चक्रपथ निर्माणको जिम्मा पाएको खड्का कृष्ण कन्सट्रक्सनले उक्त सडक खण्डको सर्भे गर्न बाँकी रहेको जानकारी दिएको छ । बाटोका लागि रुख काटिएको बताउनु निराधार भएको बताउँदै कन्सट्रक्सन सुर्खेतका एरिया इन्चार्ज गोविन्द आचार्यले भने, ‘हामीले चक्रपथको काम गर्नुपर्ने ३३ किलोमिटर हो । सुब्बाकुनादेखि शंकर चौकसम्म हाम्रोतर्फबाट सर्भे भइसक्यो । तर ११ नं. वडाको उक्त सडक खण्डमा अहिलेसम्म सर्भे भएको छैन ।’

नेपाली सेनाको क्याम्पदेखि नेवारेखोला पुल हुदैँ गरिनुपर्ने सर्भे नागरिकको विवादका कारण रोकिएको छ । चक्रपथमा सुब्बाकुनादेखि सानो सुर्खेत खण्डमा काम गरिरहेको कन्सट्रक्सन कम्पनीले धोद्रेसालदेखि नाराढिकसम्मको उक्त खण्डमा कहाँकति सडक विस्तार हुनेबारे अनविज्ञ नै छ । ‘कम्पनीको तर्फबाट गरिने सर्भे हालसम्म पनि भएको छैन ।’ आचार्यले भने, ‘बाटो विस्तारका कारण यो रुख जान्छ भन्ने नै छैन । सर्भे भए मात्र यो रुख बाटोमा पर्छ पदैन भनेर एकिन गर्न सकिन्छ । नत्र कसरी भन्नु ।’

फोटो क्याप्सनः वीरेन्द्रनगर–११ स्थित अम्बिकादेवी सामुदायिक वन उपभोक्ता समूहले काटेका रुख ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘कर्णालीमा मिसिन जन दबाब आवश्यक’

२८ पुष २०७६, सोमबार १२:४९
हाम्रो (कर्णाली प्रदेश) तर्फबाट कुनै कसर बाँकी राख्दैनौं, तपाईहरूले यताबाट दबाब सिर्जना गर्नुस्,’ नेपालगञ्जका व्यापारीहरूसँगको भेटमा उनले भने, ‘सबै (सरकार र राजनीतिक दल) को ध्यान केन्द्रित गर्ने गरी संयुक्त दबाबका लागि हामी तयार छौं ।’