पर्यटन पूर्वाधारमा ध्यान देऊ

कर्णालीपत्र संवाददाता २७ पुष २०७६, आईतवार १५:२६

गएको पुस १६ गते सरकारले विधिवत् रुपमा शुरुमा ‘नेपाल भ्रमण वर्ष’को शुभारम्भ गरेपछि अहिले निर्धारित पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकहरू आउने क्रम शुरु भइसकेको छ । मुलुकको आर्थिक विकासका लागि पर्यटन एक महत्वपूर्ण क्षेत्र हो । सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ का रुपमा मनाउने र पर्यटक संख्या २० लाख पु¥याउने योजनाअघि सारेको छ । भने कर्णाली प्रदेश सरकारले एक लाख बाह्य पर्यटकलाई कर्णाली भ्रमण गराउने लक्ष्य सार्वजनिक गरेको छ । अहिलेको हाम्रो पर्यटन पूर्वाधारको कमजोर अवस्थाले यो निकै महत्वाकांक्षी लक्ष्य हो । यही बीचमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको विकासमा पाँच वर्षीय कार्यदिशा सार्वजनिक गरेको छ । त्यस्तै कर्णाली प्रदेश सरकारले १५ वर्षीय भिजनसहितको पाँच वर्षे कर्णाली पर्यटन गुरु योजना निर्माण गरेको छ । आगामी पाँच वर्षभित्रमा पर्यटक संख्या १५ लाख पु¥याउँने र कुल राष्ट्रिय आम्दानीमा पर्यटनको हिस्सा १० प्रतिशत पु¥याउने लक्ष्य कर्णाली प्रदेश सरकारले लिएको छ । निःसन्देह, पर्यटकीय मुलुक नेपालको जैविक तथा भाषा र संस्कृतिको पर्यटकीय क्षेत्र कर्णाली हो तर पर्याप्त पूर्वाधार नहुँदा भ्रमण वर्षको शुरुवातीमै कर्णाली आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले निर्धारित कर्णाली घुम्न समय छोटो बनाउन बाध्य भएका खबर सार्वजनिक हुन थालिसकेका छन् । जसमा प्रदेश सरकारका लागि मात्रै नभएर ‘नेपाल भ्रमण वर्ष २०२०’ कै लागि दुःख पक्ष हो । यसले कर्णाली घुम्न आउने पर्यटकको संख्या लक्ष्यअनुसार पुग्ग्नमा चुनौतीको भूमिका खेल्ने निश्चित छ ।

संविधानतः गठन भएको प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकमै पर्यटक क्षेत्र कर्णालीको समृद्धिको आधार रहेको निष्कर्षसहित २०७५ साललाई रारा कर्णाली पर्यटन वर्षका रुपमा मनाएको कर्णालीमा ४ लाख ७५ हजार १ सय २५ पर्यटकले कर्णालीमा भ्रमण गरेको तत्थ्यांक सरकारले सार्वजनिक गरेको छ । जसमध्ये बाह्य पर्यटकको संख्या २१ हजार २ सय ९१ मात्र छ । यस आधारमा हेर्दा एक वर्षमै बाह्य पर्यटकको संख्या चारगुणा बढी पर्यटक भित्र्याउने लक्ष्य चानचुने होइन । प्रदेशका २० बाह्य र २० आन्तरिक पर्यटकहरूका लागि तय भएका पर्यटकीय गन्तव्यहरू भौतिक पूर्वाधारको विकामा जोड दिने कुरा प्रदेशले निर्माण गरेको गरु योजनामा उल्लेख भएको छ तर प्रदेश सरकारको नीति तथा कार्यक्रम अघि आउनु र गुरु योजनाको निर्माणपछि भएकाले उक्त गुरु योजनाले निर्दिष्ट गरेका काम चालु आर्थिक वर्षको सञ्चालन ‘भ्रमण वर्ष २०२०’ मा कार्यान्वयन नहुने निश्चित छ । यसले यो वर्षमा कर्णालीका पर्यटकीय गन्तव्यको पुर्वाधारमा नियमितबाहेक उल्लेख्य रुपमा तीब्रता पाउनेमा आशा गर्ने ठाउँ कम छ । त्यसैले पनि यो वर्ष प्रथमतः सरकारी लक्ष्य अनुसार पर्यटक भित्रिनेमा अनेक तर्क गर्न थालिएको छ । भने दोस्रोमा कर्णालीको भ्रमणमा आएका पर्यटकले बनाएर आएको तालिकामा अनुसारको समय कर्णालीमै बिताउन नसक्ने भएपछि पर्यटकीय क्षेत्रबाट अपेक्षित आन्तरिक आम्दानीको आँकडा अझ निराशाजनक हुने देखिन्छ ।

पर्यटक भित्र्याउने कुरामा मौखिक र लिखित महŒवकांक्षा राखेरमात्रै हुँदैन, लक्ष्यमा पुग्ने पूर्वाधार विकास मुख्य कुरा हो । पर्यटकहरूमा गन्तव्यमा पुग्ने यात्रा सुरक्षा र सुविधाको विश्वास पनि बढाउनुपर्छ । यसतर्फ पहल गर्न उत्तिकै जरुरी छ । नेपाल भ्रमण वर्ष १९९८, पर्यटन वर्ष २०११ र कर्णाली रारा पर्यटन वर्ष २०७५ समेतको अनुभव सन् २०२० को भ्रमण वर्षका लागि उपयोगी हुनेछ । आगामी पाँच वर्षको पर्यटन लक्ष्य पूरा गर्न यो भ्रमण वर्षको सफलता कोशे ढुंगा सावित हुनेछ । महत्वकांक्षी योजना र लक्ष्यमा पूर्वाधार विकास नै प्राथमिक कुरा हो । पूर्वाधारमा जति जोड दिइन्छ र प्रचारप्रसार हुन्छ त्यति नै पर्यटकको संख्यामा वृद्धि हुन्छ । तसर्थः सरकारले निर्दिष्ट गरेका ४० वटा पर्यटकीय गन्तव्यको पूर्वाधार र त्यहाँसम्म पुग्ने पूर्वाधार निर्माण निर्माणमा ध्यान दिन जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

E-paper (2076-09-28)

२७ पुष २०७६, आईतवार १५:२६

सम्बन्धित शीर्षक