कर्णालीमा भ्रमण वर्ष ; प्रचारभन्दा पूर्वाधार आवश्यक

कर्णालीपत्र संवाददाता २५ पुष २०७६, शुक्रबार १०:४२

वसन्त भण्डारी
सुर्खेत । सञ्चारमाध्यममा रारा तालका बारेमा आएका समाचार र फोटाप्रति निकै मोहित भएका धादिङका विवेक तामाङ ३ जनाको समूह बनाएर एकसाता लामो भ्रमणका लागि आन्तरिक पर्यटक बनेर शनिबार पहिलो पटक मुगुको रारा पुगे । हिउँले हाँसेको राराको दृश्यप्रति मोहित भएका उनले माइनस १० को तापक्रम भएको रारामा खाने गाँस र बस्ने बाँसको उचित व्यवस्था नपाएपछि भोलिपल्टै मुगु सदरमुकाम गमगढी फर्किए ।

कर्णाली प्रदेश सरकारले गएको पुस १६ गते आयोजना गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भ कार्यक्रमका दृश्यलाई सामाजिक सञ्जालबाट प्रत्यक्ष हेरेका दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ का विकास कार्की बुलबुले, काँक्रेबिहार, देउतीबज्यै गोठीकाँडामा ५ दिनसम्म घुम्ने योजना लिएर २ दिनअघि सुर्खेत आए । सुर्खेत पुगेको भोलिपल्टै सबै ठाउँ घुमेर सकाएका विकास तेस्रो दिनमै घर फर्के । धादिङका विवेक र दैलेखका विकास कर्णालीका पर्यटकीय स्थलमा आए । आवास र पर्यटक भुल्ने पर्याप्त स्थान नहुँदा निर्धारित समयअघि नै गन्तव्यबाट फर्किने सयौं पर्यटकहरूका प्रतिनिधि पात्र हुन् । प्रदेश सरकारले २० वटा आन्तरिक र २० वटा बाह्य पर्यटकीय गन्तव्यका रुपमा छनोट गरे पनि तिनीहरूको पूर्वाधार विकासमा ध्यान दिन नसक्दा कर्णाली आउने पर्यटकले निर्धिारित समयअघिनैं कर्णालीका पर्यटकीय गन्तव्य छोड्नु पर्ने बाध्यता छ ।

‘भ्रमण वर्षमा एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको प्रदेश सरकारले सूचीकरण गरेका प्रदेश राजधानी विरेन्द्रनगरकै पर्यटकीय गन्तव्यको पूर्वाधारमा कुनै सुधार गरेको रहेनछ,’ बुधबार वीरेन्द्रनगरमा भेटिएका दैलेखका कार्कीले भने, ‘घरबाट आउँदा अनेकौं सोचेर आएका थियौं तर यहाँ अर्कै पायौं । पाँच दिन घुम्ने योजना एक दिनमा सकियो ।’ बुलबुले नयाँ बन्न लागेको रहेछ, सुख्खा तालबाहेक अरु केही पनि घुम्न लायक ठाउँ छैन । काँक्रेविहार घुम्नलाई ५ मिनेट पनि बढी हुने उल्लेख गरेका भैरवी गाउँपालिका–२ दैलेखका सोविन थापाले ३ वर्ष पहिला आउँदा पनि निर्माण कै चरणमा रहेको काँक्रेविहारको अवस्थाले पर्यटकलाई आकर्षित नगर्ने ठोकुवा गरे । सरकारले घोषणा गरेका पर्यटकीय गन्तव्यमा प्राकृतिक जंगल बाहेक अन्य केही छैन ।’ उनले भने, ‘अहिलेकै अवस्था रहे भ्रमण वर्षमा पनि सरकारी लक्ष्य अनुसारका पर्यटक कर्णाली घुम्न आउलान् भन्ने लाग्दैन ।’

प्राकृतिक रुपमा कर्णाली बरदानकै रुपमा रहेको भए पनि आवास र अन्य व्यवस्थापनको समस्याले पर्यटकलाई बस्ने मन हुँदाहुँदै बस्न नसकिएको जानकारी दिएका धादिङका तामाङले पर्यटकलाई कजाई राख्न रारालगायतका पर्यटकीय स्थानमा पूर्वाधारको विकासलाई ध्यान दिनुपर्ने सुझाव दिए । कर्णालीका निश्चित पर्यटकीय क्षेत्रमा पर्यटक आए पनि उनीहरुलाई समय बिताउने प¥याप्त ठाउँ नभएको स्वीकार गरेका उद्योग, पर्यटक, वन तथा वातावरण मन्त्रालयलका सचिव डा. कृष्णप्रसाद आचार्यले यस अवस्थालाई मध्यनजर गरेर प्रदेशका पर्यटकीय गन्तब्यमा आउने पर्यटकको बसाइँ लम्ब्याउन विशेष कार्यक्रम तय गर्ने क्रममा रहेको दाबी गरे । उनले भने, ‘पर्यटकले कर्णालीका गन्तव्यमा बिताउने भनेर छुट्याएको समय बिताउने वातावरण तयार गर्न सरोकारवाला निकायसँग छलफल गरेर हामीले छिट्टै ठोस योजना ल्याउने तयारी थालेका छौं ।

अन्तरराष्ट्रिय महत्वका क्षेत्रमै पूर्वाधार छैनन्

भ्रमण वर्ष २०२० मा एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको कर्णाली प्रदेश सरकारले अन्तरराष्ट्रियस्तरका पर्यटकीय महत्वका क्षेत्रको पूर्वाधार निर्माणसमेत अघि बढाउन सकेको छैन । प्रदेशका दशवटै जिल्लालाई समेटेर १० वटा पर्यटकीय क्षेत्रलाई सरकारले सूचीकरण गरे पनि सूचीकृत भएका पर्यटकका लागि हेर्नलायक गन्तव्य भएका क्षेत्रको नजिक आवास नहुँदा र आवासको व्यवस्था भएका क्षेत्रमा पर्यटकलाई समय बिताउने ठाउँ छैन ।

तल्कालीन जलाधार विकास कार्यालयबाट आर्थिक वर्ष २०७५/०७६ मै निर्माण भइसक्नुपर्ने सुर्खेतको बुलबुलेको पुननिर्माणको टेण्डर प्रक्रियामै भएको ढिलाईले आधा काम पनि सकिएको छैन । लामो समयअघि पुरातत्व विभागले निर्माण शुरु गरेको काँक्रेविहार मन्दिरको रंगरोगन तथा व्यवस्थापकीय काम बाँकी नैं छ ।

सरकारले बाह्य पर्यटकहरूको गन्तव्यका रुपमा सूचीकृत गरेको दैलेखको पञ्चकोशी क्षेत्रका श्रीस्थान र नाविस्थानमा पेट्रोलियम पदार्थको अन्वेषणको काम बाहेक जिल्लाबाट छनोट भएको राकम कर्णालीमा पर्यटक केन्द्रित गर्ने पूर्वाधार निर्माणमा कुनै काम भएको छैन । रारा ताल र छाँयानाथलाई मुगु जिल्लाका मुख्य गन्तव्यका रुपमा राखिएपछि रारामा जाने पर्यटक अहिले पनि गाँस र बाँसका लागि सदरमुकाम गमगढी आउनुपर्ने बाध्यता छ भने छाँयानाथ जाने बाटोकै प्रारम्भिक सुधार हुन सकेको छैन ।
प्रदेश सरकारले अन्तरराष्ट्रिय गन्तव्यका रुपमा जुम्ला जिल्लाबाट चन्दननाथ, गुठिचौर, पातरासी, सिंजा उपत्यकालाई समावेश गरेको भए पनि पछिल्लो समय खासै बाह्य पर्यटक केन्द्रित काम प्रदेशबाट हुन सेकेको छैन ।

पचालझरना, चुलिमालिका, कोटदरबार पञ्चदरबार, पिली र मान्मा कालीकोटबाट, कुपिण्डे दह र छाँया क्षेत्र, खैरावाङ मन्दिर, रुकुमपश्चिमको सिस्ने हिमाल र स्यार्पु ताल, मुसिकोट दरबार र डिग्रे मन्दिर, जाजरकोटको भेरी नदी, नदैगढ, कुशें, ठाकुरजीको गाँठलाई प्रदेश सरकारले बाह्य पर्यटकहरूलाई आकर्षित गर्ने गन्तव्यको सूचीमा राखेको छ । तर पनि त्यहाँ पूर्वाधारका कामले परिणाम देखाउन सकिएको छैन ।

डोल्पामा अपर डोल्पा, से–फोक्सुण्डो, से–गुम्बा, बिजेर, साल्दाङ जिन्जे, धोतराप, छार्का, त्रिपुरासुन्दरी, छलमस्ता, दुनै र हुम्लाको लिमी उपत्यका, रलिङ, राहदेव भ्यू, डुडल, दूधे दह, खार्पुनाथ, सिमीकोटलाई पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरे पनि त्यहाँ पूर्वाधार निर्माणका कुनै काम हुन सकेका छैनन् ।

आन्तरिक तथा बाह्य पर्यटकीय गन्तव्यका रुपमा केही स्थानको छनोट भए पनि पूर्वाधारको समस्याले कर्णालीको पर्यटन क्षेत्रले उल्लेख्य पर्यटकलाई आकर्षित गर्न नसकेको बताएका कर्णाली पर्यटन प्रवद्र्धन समितिका संयोजक राजु कार्कीले अबको जोड पूर्वाधार निर्माणमा दिनुपर्ने बताए ।

गुरु योजना कार्यान्वयन अर्को वर्ष

गएको २०७५ साललाई कर्णाली पर्यटन वर्षका रुपमा मनाएको प्रदेश सरकारले प्रदेशको पर्यटन क्षेत्रको गुरु योजनाको कार्यान्वयन भ्रमण वर्ष सकिएपछि मात्रै हुने भएको छ ।

गुरु योजना केही समय अघि मात्रै निर्माण सकिएको बताएका उद्योग, पर्यटक, वन तथा वातावरण मन्त्रालयलका सचिव आचार्यले बजेट कार्यान्वयनका हिसाबले गुरु योजना आर्थिक वर्ष २०७७÷७८ देखि लागू हुने बताए । ‘चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम पहिला नैं आएकाले गुरु योजनाले निर्दिष्ट गरेका कामहरू अहिले नै कार्यान्वयन गर्न नसकिने अवस्था आयो ।’ उनले भने, ‘सबै पर्यटकीय गन्तव्यको सम्भाव्यता अध्ययन गरेर अर्को आर्थिक वर्षबाट गुरु योजना अनुसार हामी काम गर्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीपत्र समाचार प्रभाव: सोलार अनुदानको ठगी रकम फिर्ता

२५ पुष २०७६, शुक्रबार १०:४२
जिल्लाका चारवटा स्थानीय तहका दलित तथा जनजातीहरूका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको पूर्ण अनुदानमा जुम्ला पठाईएका २ हजार २ सय १ थान सोलार सेटमा व्यापारी मिनबहादुर मल्लले प्रतिसोलार १ हजार ५ सय उठाउँदै ३३ लाख ३ हजार रुपैयाँ असुलेका थिए ।