सातामै चार जनाले आत्महत्या गर्छन् कर्णालीमा

कर्णालीपत्र संवाददाता २३ पुष २०७६, बुधबार १०:१५

पुनम बिसी
सुर्खेत । आर्थिक, सामाजिक र सांस्कृतिक समस्याले थलिएको कर्णालीमा एक सातामा चार जनाले आत्महत्या गर्ने गरेका छन् ।

साउनदेखि मंसिर मसान्तसम्म नेपाल प्रहरीमा रेकर्ड भएका आत्म हत्याका घटनाका आधारमा हरेक साता चार जनाले आत्महत्या गर्ने गरेको तत्थ्यांकले कर्णालीमा यस्तो भयावह अवस्था देखिएको हो ।

चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म मात्र प्रदेशका दश जिल्लामा १ सय ८ जनाले आत्महत्या गरेको नेपाल प्रहरी कर्णाली प्रदेश कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरिक्षक लोकनाथ तिम्सिनाका अनुसार गएको पाँच महिनामा सबैभन्दा बढी आत्महत्या गर्नेको संख्या सुर्खेतमा छ । जहाँ ५१ जनाले आत्महत्यालाई आफ्नो अन्तिम विकल्पका रुपमा रोजेका छन् । प्रवक्ता तिम्सिनाका अनुसार दैलेखमा १५, जाजरकोटमा ४, सल्यानमा २२, रुकुमपश्चिममा ६, जुम्लामा ४, हुम्लामा २ र कालिकोटमा ४ जनाले आत्महत्या गरेका छन् । यस बीचमा मुगु र डोल्पामा भने आत्महत्या गर्नेको संख्या प्रहरीको तथ्याङ्कमा उल्लेख छैन ।

प्रहरीका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा २ सय २६, २०७३/०७४ मा २ सय २३, २०७४/०७५ मा २ सय ५५ र २०७५/०७६ मा २ सय ४९ जनाले आत्महत्या गरेका छन् । यसले आर्थिक वर्ष २०७२/०७३ यता कर्णालीका १ हजार ६१ जनाले आत्महत्या गरेको स्थिति छ । भौगोलिक रुपमा विकट र आर्थिक रुपमा विपन्न कर्णालीमा विष सेवन गर्नु र झुण्डिनु नै आत्महत्याको प्रमुख माध्यमका रुपमा रहेको नेपाल प्रहरी कर्णाली प्रदेश कार्यालय सुर्खेतले जनाएको छ ।

आर्थिक नै प्रमुख कारण

हरेक वर्ष बढ्दै गएको कर्णालीको आत्महत्याप्रति नजिकबाट हेरेको प्रहरीले आर्थिक अवस्थालाई आत्म हत्याको प्रमुख कारकका रुपमा रहेको निष्कर्ष निकालेको छ ।

अध्ययनपछि बेरोजगार भएर बस्नु, प्रदेशका महिलामा आत्मनिर्भरताको कमी तथा आफन्त वैदेशिक रोजगारमा गएका कारण मानसिक रुपमा परेको असरले नै कर्णालीका नागरिक आत्महत्यातिर प्रेरित हुने गरेको प्रहरीको भनाई छ ।
‘आत्महत्या गर्नुको मुख्य कारण नागरिकको जिवनमा आर्थिक असन्तुलन नै देखिएको छ’, नेपाल प्रहरी कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रमुखसमेत रहेका प्रहरी नायव महानिरीक्षक पूर्णचन्द्र जोशीले भने, ‘आर्थिक अवस्थालगायतका सामाजिक कारणले कर्णालीका नागरिकलाई आत्महत्याको बाटो समात्न बाध्य बनाएको छ ।’ यस्तै अवस्था रही रहने हो भने यहाँ (कर्णाली) को आत्म हत्याको विद्यमान दर रोकिने अवस्थामा नरहेको ठहर उनको छ ।

परपुरुष/स्त्रीसँगको सम्बन्ध, बोक्सी/छुवाछुतजस्ता सामाजिक कुरिती, श्रीमान/श्रीमती बीचको कलह, बेरोनगारी, घरेलु हिंसालगायतका सामाजिक कारणले कर्णालीका नागरिकले अन्तिम विकल्पका रुपमा आत्महत्याको बाटो अबलम्बन गर्न बाध्य भएको नेपाल प्रहरी कर्णाली प्रदेशका प्रवक्ता तिम्सिना बताउँछन् । उनले भने, ‘सामाजक सञ्जालको बढ्दो प्रयोग, युवापुस्तामा बढ्दै गएको असफल प्रेम कहानी, दीर्घ रोग तथा मानसिक असन्तुलन, न्याय प्रणालीमा पहुँचको कमी, आर्थिक तथा सामाजिक समस्यासँग सामञ्जस्य गर्नसक्ने तत्कालिक क्षमतामा देखिएको कमीले यो समस्यालाई थप बढवा दिएको छ ।’ गएको पुसको दोस्रो साता सुर्खेतको वीरेन्द्रनगर–७ मा रहेको सुकुम्बासी बस्तीमा ११ वर्षीय एक बालकले आफ्ना बुवाआमाबीच घरमा देखिएको चरम आर्थिक समस्याले भएको झगडाका कारण मानसिक दवाव सिर्जना भैं उनले आत्महत्याको बाटो रोजेको उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले आधिकांश आत्महत्याका घटनामा कुनै न कुनै रुपमा आर्थिक कुरा जोडिएको उल्लेख गरेको छ ।

उमेर अनुसार प्रदेशभरका आत्महत्याका घटनाहरुको विश्लेषण गरेको प्रहरीले १६ देखि ३० वर्षका उमेर समूहका नागरिक धेरै रहेको उल्लेख गरेको छ । संख्यात्मक रुपमा अन्य व्यवसाय भन्दा कृषि पेशामा संलग्न नागरिकले आफ्नो जीवन अन्तिम विकल्पका रुपमा आत्महत्याको बाटो रोजेको उल्लेख गरेका प्रहरी प्रमुख जोशीले युवापुस्तामा प्रभावकारी सन्देश पु¥याउँन नसके निकट भविष्यमा यसको दर अनपेक्षित रुपमा बढ्नेतर्फ संकेत गरे ।
अस्थायी सुखमा फस्दा समस्या कर्णाली प्रदेशमा आत्महत्याको अवस्था भयावह हुनमा स्वयम् नागरिककै कमजोरी रहेको ‘द आर्ट अफ लिभिङ्ग’का मनोपरामर्शदाता डा. कञ्चन घिमिरको धारणा छ । आत्महत्या तिर प्रेरित गर्ने कमजोर मानसिकता विरुद्व नागरिक आफै लाग्न सके आत्महत्याको घटना रोकिने उनको भनाई छ । उनले भने, ‘हामी महत्वाकांक्षी छौ । हामी अस्थायी सुखमा फसेका छांै । त्यसैले हाम्रो मानसिकता कमजोर छ । हामीमा हाम्रो शरीर, परिवार तथा राष्ट्रप्रतिको जिम्मेवारीवोधमा कमी आउन थालेको छ ।’

व्यक्ति बलियो हुनुपर्ने उल्लेख गरेका डा. घिमिरले नागरिकलाई अस्थायी सुखमा नफस्न अनुरोध गरे । प्रश्न गर्दै उनले भने, ‘यहाँ कसलाई गरिब भन्ने ? दुई छाक खान नपाएको कोही छैन । खान नपाएर व्यक्तिले आत्महत्या कहिल्यै गर्दैन । हामी बढी खाएर आत्महत्यातर्फ प्रेरित भएका छौं । हाम्रो असन्तुलित बानीले हाम्रै जीवनलाई अव्यवस्थिततर्फ धकेलिरहेको छ ।’ सम्बन्धित व्यक्तिकै कमजोर मानसिकताले आत्महत्याको बाटो रोजेको उल्लेख गरेका घिमिरेले अस्थायी सुखमा नफसी सन्तुलित जीवनलाई अंगाल्न अनुरोध गरे ।

आत्महत्या दुरुत्साहन गरे पाँच वर्ष कैंद

गत वर्ष भदौ १ देखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन, २०७४ले व्यक्तिलाई आत्महत्यामा दुरुत्साहन गरेको कसुरमा फौजदारी सजायको व्यवस्था गरेको छ । कोही व्यक्तिले आत्महत्या गर्छ र उसलाई कसैले सो कार्य गर्न दुरुत्साहन गर्छ वा सो गर्न बाध्य तुल्याउँछ भने त्यस्तो कसुरमा यस्तो सजायको व्यवस्था गरिएको छ । संहिताको दफा १८५ (१) मा ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्न र गराउन हुँदैन’ भन्ने कुरा उल्लेख छ । संहिताको दफा १८५ (२)ले उक्त कसुर गरेमा पाँच वर्षसम्मको सजाय र पचास हजार रुपैयाँसम्मको जरिवानाको व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रैथाने बाली लोप हुदैँ गएको चिन्ता

२३ पुष २०७६, बुधबार १०:१५
‘जुम्लामा उत्पादित धान, मकै, जौं, गहुँ, सिमी, भटमास, केराउ, कागुनो, चिनो र फापरजस्ता रैथाने बाली अहिले निकै लोभ हुँदै गएका छन् ।’ उनले भने, ‘बजारमा पाई आयातित खाद्य वस्तुले कृषक अल्छी भए भने पुराना भद्रगोल सुहाउँदा बाली लोभ हुन थाले ।’