उर्जाशील समयमा त्याग, नजित्ने चुनावमा टिकट !

कर्णालीपत्र संवाददाता २१ पुष २०७६, सोमबार १३:४१

कर्णालीपत्र, सुर्खेत । निर्वाचनबाट पराजय हुने देखिएपछि नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभाको उम्मेदवार बनाइएकी वीरेन्द्रनगर–१३ की सावित्री पौडेलले आइतबार मनोनयन दर्ता गराउन नमानेपछि पूर्ववत निर्णय परिवर्तन गरेको छ । शनिबार सातवटै प्रदेशबाट उम्मेरदवारको टुंगो लगाएको कांग्रेसले अन्तिममा आएर कर्णाली प्रदेशबाट गणेशकुमारी बस्नेतलाई राष्ट्रियसभाको सदस्य पदमा मनोनयन दर्ता गराएको छ ।

लामो समयको सांगठनिक राजनीतिमा आफूलाई बेवास्ता गरेको कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्पष्ट बहुमतमा हार्नसक्ने सम्भावना देखेर आफूलाई उम्मेदवार छनोट गरेको भन्ने संकेत गरेकी पौडेलले ‘तर्न नसकिने खोलामा हाम फाल्न’ नहुने मान्यताले पार्टीको निर्णय अस्वीकार गरेको बताइन् ।

‘हरेक खेलमा हारजित हुनु स्वभाविकै हो । तर यो नदी तर्न सक्दैन भन्ने थाहा हुँदाहुँदै हामफल्नु मुर्खता हो ।’ उनले कर्णालीपत्रसँग भनिन्, ‘अहिलेसम्म मेरो क्षमताको मूल्यांकन भएको छैन । पार्टी भित्रको गुटबन्दीले व्यक्तिको क्षमता मूल्यांकन गर्न सक्दैन । त्यसैले म निष्कृय हुन खोजिरहेकै छु । जसकै कारण यो पटकको राष्ट्रियसभाको टिकट अस्वीकार गरेकी हुँ ।’

लामो सयमदेखि पार्टीको संगठन र नेताहरूको सम्पर्कमा नरहेको उल्लेख गरेकी पौडेलले राष्ट्रियसभाको टिकटको खबर र अस्वीकार गरेको क्षणलाई सम्झिदैं भनिन्, ‘शनिबार बिहान म आफ्नै सुरमा घरभित्रको काम गर्दै थिएँ । मेरो फोनको घण्टी बज्यो । फोन उठाएर हेर्दा लामो समय सम्पर्क नगरेका नेपाली काँग्रेसका एक नेताले फोन गरेका रहेछन् । फोन उठाउने बित्तिकै राष्ट्रिसभाको निर्वाचनका लागि हामीले तपाईलाई पार्टीको तर्फबाट उम्मेरदवार छनौट गरेका छौं । तपार्इंलाई बधाई छ ! भन्ने आवाज आयो । जवाफमा धन्यवाद शब्द त खर्चिएँ, तर अहिले उम्मेदवार बन्ने इच्छा जाहेर गरिनँ ।’

पार्टीले गरेको राष्ट्रिय सभाका लागि उम्मेदवारको प्रस्ताव क्षणभरमै स्वीकार गर्न सक्ने समय थिएन । उनले भनिन्, ‘मलाई प्रस्तावका लागि एक घण्टा पनि सोच्ने समय दिइएन । एकछिनमा निर्णय लिन मलाई गाह्रो भयो । फेरि राष्ट्रियसभा भनेको गरिमामय सभा हो । त्यहाँ जान म पनि परिपक्व हुनुपर्छ ।

लामो समय सक्रिय राजनीति बाहिर बसेकीले पनि म आफूलाई अहिले नै निर्वाचन लड्ने मनसाय नभएको बताएकी पौडेलले यसपछि पार्टीले दिने आफू सुहाउँदो अवसरका लागि तयार हुने बताइन् ।

नैतिकता र आदर्शले राजनीतिमा निस्क्रिय

१० कक्षामा पढ्दैं गर्दा नेपाली काँगे्रसका नेता पूर्णबहादुर खड्का (हालका महामन्त्री) लगायतको व्यक्तित्व देखेर पौडेल राजनीतिमा जोडिन पुगिन् । सुर्खेतको खाँडदेवी माध्यमिक विद्यालय चौरासेमा अध्ययन गर्दै २०४७ साल जेठ ३ गते नेपाली कांग्रेसमा आवद्ध भएकी उनले पार्टीको औपचारिक कार्यक्रमको उद्घोषणको जिम्मा पाएपछि कांग्रेसको सक्रिय राजनीतिमा तानिन पुगिन् । त्यसको तीन महिनामै महिला संगठनको सुर्खेत जिल्ला सचिवको जिम्मेवारी निर्वाह गरेकी उनले त्यसपछि पार्टीको कुनै परिभाषित जिम्मेवारी पाइनन् । ‘पार्टीको विधि, त्यसमा गरिएको योगदानले भन्दा व्यक्तिगत सम्बन्ध र बहुरुपी चरित्र नभएकै कारण म विस्तारै पार्टीमा जिम्मेवारी बिहिन अवस्थामा पुगें ।’ पौडेलले भनिन्, ‘२०५१ को मध्यावधी निर्वाचनको घोषणा गरेपछि म सक्रिय राजनैतिक जीवनबाट टाढिदैं गएँ ।’

सुर्खेत कांग्रेसलाई बलियो पार्टी बनाउन आफूले पनि इट्टा थपेको दाबी गरेकी उनले थपिन्, ‘बहालवाला सांसद र नेता उमेरले ठूलो हुनुहुन्छ तर पार्टीको योगदानका हिसाबले उहाँहरू भन्दा म सिनियर हुँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हुम्लामा कुहिएको चामल वितरण

२१ पुष २०७६, सोमबार १३:४१
‘घरमा खाद्यान्नको समस्या भएर खाद्यबाट चामल लिएको थिएँ ।’ उनले कर्णालीपत्रसँग भने, ‘बेलुका भात पकाउन भन्दै चामलको बोरा खोल्दा त पुरै चामल डल्ला परेर खानै नमिल्ने रहेछ ।’ मैले ल्याएको ल्याएको बोराको पुरै चामल कुहिएको देखिएपछि खाद्य डिपोबाट सँगै चामल ल्याएका रतन भण्डारीकोमा पुगेको जानकारी दिएका भण्डारीले भने, रतनले ल्याएको बोराको चामल पनि त्यस्तै कुहिएको रहेछ ।’