चिसो छल्दै जम्बु, भोटेजिराको व्यापार

कर्णालीपत्र संवाददाता १८ पुष २०७६, शुक्रबार १३:५१

हेमान्त केसी
जाजरकोट । तातो मौसममा यार्सागुम्वा संकलन गरेर आम्दानीको स्रोत बनाउँदै आएका शे–फोक्सुण्डो गाउँपालिका–९ का इमान दुन्दुप गुरुङ अहिले जाजरकोटका गाउँमा छन् ।

उनी एक्लै नभई दुई छोरा र श्रीमतीका साथ रुकुम पश्चिमका गाउँ घुमेर जाजरकोट पुगेका हुन् । जाजरकोटको नलगाड नगरपालिका मुख्य बजार यात्रा गर्दै तीन दिनदेखि सदरमुकामस्थित खलंगामा बस्दै आएको उनको भनाई छ । गुरुङसँगै शे–फोक्सुण्डो गाउँपालिकाका धेरै मानिसहरु अहिले देशका विभिन्न ठाउँमा पुगेको छन् । गुुरुङ परिवार जाजरकोट सदरमुकाममा दैनिक बिहानैदेखि ३० केजीको बोरीमा जम्बु बोकेर सदरमुकामबासीको घर, दैलोमा पुग्दै व्यापार गरिरहेका छन् ।

१५ दिनभित्र करिब एक लाख रुपैयाँभन्दा बढीको जम्बु बिक्री गरिसकेको बताउने गुरुङ भन्छन्, ‘उपल्लो डोल्पा घरमा हिउँ परेको छ, वर्षायाममा जंगलमा पाईने जम्बु जम्मा गरेर चिसो मौसम हजुरहरुको घर, दैलोमा आएर व्यापार गछौँ ।’

हाम्रोमा जाजरकोट जस्तो खेतबारीमा खाद्यान्न उत्पादन नहुँने भएकाले जंगलमा उत्पादन हुँने जडीबुटीहरु संकलन गरेर बिक्री गरी आएको पैसाले दैनिक परिवारिक समस्या समाधान गर्दै आएको गुरुङले बताए । गुरुङ जस्तै वडा नं ७ का सार्के बैजु श्रीमतीसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा जम्बु बिक्री गरिरहेका छन् । दुई छोरा काठमाडौँमा पढाउँदै आएका वैजु वर्षेनी जम्बु बिक्री गरी भएको आम्दानीले छोराको पढाई खर्च जुटाउँदै आएको बताए ।
अहिले जेठा छोरा कक्षा ११ र कान्छो छोरा ९ कक्षामा काठमाडौँ पढ्दै आएका छन् । यार्सागुम्वादेखि जम्वुसम्म बिक्री गरेर जम्मा भएको पैसाबाट पढाई तथा घर खर्च जुटाउँदै आएका छौँ । उनले भने, ‘हाम्रो जमिनमा उत्पादन हुँने उवा, तितेफापर सिमीले हामीलाई तीन महिना खाना पुग्दैन, सडक यातायात पुगेको छैन ।’

उपल्लो डोल्पाबाट दुनैसम्म पिठ्युँमा बोकेर ल्याएको जम्बु, सिमीलगायतका वस्तुहरु दुनैबाट ट्याक्टरमा राखेर कर्णाली प्रदेश र अन्य ठाउँमा निर्यात गरिदैं आएको उनको भनाई छ ।
उपल्लो डोल्पाको हिमाली भागमा चौंरी पाटनमा उम्रिने यो जम्बु दाल तथा तरकारीमा राख्दा बासनादार हुने भएकाले अत्यधिक प्रयोग हुँदै आएको छ । उपल्लो डोल्पाका सबै स्थानीय तहको जंगलमा पाईने यो बासनादारा जम्बु देशका अन्य ठाउँमा अत्यधिक माग हुने गरेको छ ।

यहाँका स्थानीयबासीहरु जंगलमा पाइने जम्बु सित्तैमा संकलन गरी आर्थिक उपार्जनका लागि गतिलो माध्यम बनाउँदै आएका छन् । भौगोलिक रुपमा सडक सञ्जालसँग नजोडिएका डोल्पो वुद्ध गाउँपालिका, शे–फोक्सुण्डो गाउँपालिका, छार्काताङसुङ गाउँपालिकाका पाटनमा जम्बु पाइने गर्छ ।

यहाँका अधिकांश स्थानीयबासीहरु जम्बु संकलन गरेर बाहिरी जिम्मामा लिएर बिक्री गर्दै आएका छन् । जम्बु प्रतिमाना ५० रुपैयाँमा बिक्री हुने गर्दछ । असोज, कात्तिक महिनामा पाटन क्षेत्रमा जम्बु सुक्ने भएकाले सोही समयमा पाटनमा गएर स्थानीयबासीहरुले जम्बु टिप्ने गर्दछन् ।

विद्यालय उमेरका बालबालिकादेखि सक्रिय सबै यहाँका स्थानीयबासीहरु जम्बु टिपेर अर्थ उपार्जन गर्न सक्रिय हुने गरेका छन् । एक जनाले एक क्वीन्टलसम्म सजिलै बोकेर लिन सक्ने भएकाले स्थानीयबासीहरु ढुवानीमासमेत सजिलो हुने गर्दछ । जम्बु बिक्री गरेर राम्रो आम्दानी गर्दै आएको फोक्सुण्डो गाउँपालिकाका प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

भोटेजिराको माग उच्च

उपल्लो डोल्पाका सबै स्थानीय तहमा पाइने भोटेजिरा (पोट्का)को माग अत्यधिक हुने गरेको छ । तरकारी, मासु र चट्नीमा अत्यधिक रुपमा प्रयोग हुने भोटेजिरी उपल्लो डोल्पाको पाटनमा पाइने गर्दछ ।
प्रतिकेजी पाँच सय रुपैयाँदेखि सात सय रुपैयाँसम्म पर्ने यो भोटेजिरा अर्गानिक मानिन्छ । स्थानीयबासीहरु भोटेजिरा पाटनमा भदौं महिनाको तेस्रो साता तिर संकलन गर्ने गर्दछन् । भोटेजिरासँगै पाटनमा अन्य औषधिजन्य जडिबुटीसमेत संकलन गरेर चिसो छल्न वेशी झरेको समयमा उपल्लो क्षेत्रका डोल्पालीले व्यापार गर्दै आएका छन् ।

जडिबुटीको भण्डार रहेको डोल्पामा यहाँका स्थानीयबासीको मुख्य आम्दानीको स्रोतसमेत यहीं रहेको छ । राज्यलाई करसमेत तिर्न नपर्ने यी जडिबुटीबाट यहाँका स्थानीयले मनग्य आम्दानी गर्दै आएको र स्थानीय सरकारले समेत यो कार्यबापत कर नलिएको प्रमुख जिल्ला अधिकारी मुकेश केसीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आमा सुरक्षा कार्यक्रमलाई एकीकृत गर

१८ पुष २०७६, शुक्रबार १३:५१
सुरक्षित सुत्केरी गराउनुलाई कतिपय अवस्थामा ‘दोस्रो जन्म’ भन्ने गरिन्छ । गर्भावस्था र सुत्केरी हुने बेलाका वेदनालाई निकै सङ्गिनरूपमा व्यक्त गर्न ‘प्रसव वेदना’ भन्ने गरिएको छ । यसरी बुझौँ कि यो सबैभन्दा ठूलो वेदना हो । यसबेला हुने आमा तथा नवजात शिशुको स्वास्थ्यमा आउनसक्ने गम्भीर प्रकृतिका स्वास्थ्य समस्यालाई आत्मसाथ गर्दै देशका तीनै तहका सरकारले […]