छुई गोठ भत्काउन महाअभियान

कर्णालीपत्र संवाददाता १८ पुष २०७६, शुक्रबार १३:३१

हस्स्त बुढा
जुम्ला । जिल्लामा पहिलो पटक मानव साङ्लो बाँधेर रजस्वला हुँदा बाहिर बस्ने स्थान (छुई गोठ) भत्काउन महाअभियान शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा गएको बिहीबार जिल्लालाई छुई प्रथा उन्मुलन गर्नेे निर्णय भएको एकसाता पछि बिहीबार महाअभियान नाम दिएको कार्यक्रममार्फत् जिल्लाका सबै पक्षले सामूहिक प्रतिवद्धता व्यक्त गरिएको हो ।

जिल्लाको प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, स्थानीय तह, महिला सञ्जाल, नागरिक समाजलगायत जिल्लाका अन्य सरोकारवाला निकायले आफू बसेको गाउँ÷वस्तीमा भएका छुई गोठलाई हटाउने प्रण गर्दै महाअभियान शुरु गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिइन् । उनका अनुसार कर्णालीकै सामाजिक कुरिति र अन्धविश्वासको रूपमा रहेको महिला रजस्वला हुँदा गरिने दुब्र्यवहार अर्थात् ‘छुइप्रथा’ न्यूनीकरण गर्न छुईगोठ भत्काउने अभियानको नेतृत्व जिल्ला प्रशासन कार्यालयले नै गरेको हो । ‘कानूनी हिसाबले अपराधिक र सामाजिक हिसाबले अन्धविश्वासका केन्द्रको रुपमा रहेको छुई प्रथालाई बढवा दिने छुई गोठलाई जिल्लाका सबै गाउँ र वस्तीबाटै भत्काउने अभियानको अगुवाई प्रशासनले गर्छ ।’ उनले भनिन्, ‘अहिले पनि गाउँगाउँमा महिला महिनावारी हुँदा बस्ने छुट्टै छुईगोठ यथावत नै छन् ।

जुम्लाको टुडिखेलमा बिहिबार आयोजना गरिएको छुई गोठ भत्काउने महाअभियानका क्रममा राष्ट्रिय झण्डा आकारमा बाँधिएको मानव साङ्लोको माथिबाट देखिएको दृश्य ।

जसका कारण महिलाहरूलाई झनै हिंसामा पार्ने काम भएको छ ।’ छुई प्रथा न्यूनीकरणका क्षेत्रमा सरकारी तथा गैरसरकारी तवरबाट अनेक काम भए पनि अपेक्षित उपलब्धी हात नपरेको प्रति दुःख व्यक्त गरेकी प्रमुख जिल्ला अधिकारी बञ्जाडेले जिल्लाका महिलाहरूलाई कुरितिविरुद्ध लड्ने, आत्मरक्षा गर्नेे क्षमताको विकास गर्न नसकेको उल्लेख गरिन् ।

छुई भएको समयमा घर बाहिर बस्दा दिन प्रतिदिन महिलामाथि हुने हिंसात्मक गतिविधिसँगै सामाजिक अपराधका घटनामा वृद्धि जिल्ला प्रशासन कार्यालयले सबै सरोकारवाला निकायको उपस्थितिमा यस्तो अभियान सञ्चालन गर्ने निर्णय गरेको उनको भनाई छ । जिल्लाका सबै वस्तीसम्म लैजाने बताइएको महाअभियानको अवधिमा छुई भएका बेला गोठमा बस्ने र बस्न लगाउने जोसुकैलाई पनि कानूनअनुसार कारबाही गर्ने चेतावनी स्थानीय प्रशासनले दिएको छ ।

आजको युगमा पनि महिलामाथि छुई प्रथाका नाममा विभेद र अत्याचार जस्ता समाचार निरन्तर रुपमा सञ्चारमाध्यममा आइरहेको सन्दर्भमा प्रशासनलगायत अन्य सरोकारवालासँगको समन्वयमा अभियान सञ्चालन गरी महिलामाथि भएको विभेद घटाउने लक्ष्य अभियानले राखेको छ । छुई प्रथा कुरिति भएको र त्यस्तो कार्य गर्न गराउन निषेध गर्ने गरी २०६३ वैशाख २६ गतेको मन्त्रिपरिषद्ले गरेको निर्णयलाई स्थानीयस्तरमा कार्यान्वयन गर्न प्रशासनले पहिलो पटक यस्तो अभियान थालेको हो । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा (१६८) को उपदफा (४) ले महिलाको रजस्वला वा सुत्केरी अवस्थामा छाउगोठका रुपमा छुट्टै राख्न नपाइने कानूनी व्यवस्थासमेत रहेकाले त्यसका बारेमा जनस्तरसम्म जानकारी गराउन पनि सामूहिक अभियानको थालनी गरेको प्रमुख जिल्ला अधिकारी बञ्जाडेले बताइन् ।

कुनै किसिमको भेदभाव वा छुवाछुत वा अमानवीय व्यवहारको कसुर गर्ने व्यक्तिलाई ३ महिनासम्म कैद वा ३ हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था कानूनमा उल्लेख भएअनुसार नै जिल्लामा यस्तो अभियानको थालनी गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए । जिल्लाका स्वयम् महिलाहरूलाई नै अघि सारेर जिल्लाका सबै छुई गोठ भत्काउने अभियानको योजना छ । हालसम्म जुम्लामा २१ गाउ छुई गोठमुक्त घोषणा भइसकेको दाबी प्रशासनले गरेको छ ।

छुइप्रथा उन्मुलन समिति गठन

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको संयोजकत्वमा छुई प्रथा उन्मुलन समिति गठन गरिएको छ । बिहीबार गठित समितिमा निमित्त जिल्ला न्यायाधिवक्ता चन्द्रबहादुर खत्री र प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्द सदस्य रहेका छन् । समितिले यस्तो छुई प्रथालगायतका अन्य विभिन्न प्रकारका सामाजिक विभेदको अन्त्य गर्न स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय गरेर जिल्लाका आठ वटै स्थानीय तहका जनप्रतिनिधि, राजनीतिककर्मी, धार्मिक अगुवा (धामी झाँक्री, पुरोहित) सामाजिक संघ संस्था, विद्यालय, सामाजिक अभियन्ता, स्वास्थ्यकर्मीलगायतसँग सहकार्य गरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । यसै गरी समितिले छाउपडी प्रथालाई निरन्तरता दिनेमाथि क्रमशः राज्यबाट प्रवाह हुने सेवा सुविधा, सामाजिक सुरक्षा भत्ता र वित्तीय संस्थाबाट प्रदान गरिने सहुलीयत कर्जा रोक्का गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीमा जिप खस्दा चारको मृत्यु

१८ पुष २०७६, शुक्रबार १३:३१
बाजुरा । कर्णाली कोरिडोरअन्तर्गत हिमाली गाउँपालिका–७ बाँधुमा जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै ज्यान गएको छ भने एक जना वेपत्ता भएका छन् । धुलाचौरबाट कोल्टीतर्फ आउँदै गरेको से १ ज १०६४ नम्बरको स्वामीकात्तिक यातायातको जिप बाँधुको कालापहाडमा दुर्घटना भएर कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह […]