राराको बिरासतलाई ख्याल गरौ ।

कर्णालीपत्र संवाददाता १६ पुष २०७६, बुधबार ११:२३

पश्चिमको अफगानिस्तानदेखि पूर्वको म्यानमारसम्मको समग्र हिमालय क्षेत्रमा अवस्थित तालहरुको तुलनामा सबैभन्दा सुन्दर मानिएको रारा तालको वरिपरि १४ किलोमिटर लामो साइकल लेन बनाउन लागिएको कुरा सार्वजनिक भएको छ । रारा ताल वरिपरि भएको हालको घोरेटो बाटोलाई व्यवस्थित गर्न र रारा घुम्ने आउने पर्यटकलाई मध्यनजर गर्दै पछिल्लो दुई वर्षयता बनाउन लागिएको साइकल लेनको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) कर्णाली प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले तयार गरिसकेको कुरासमेत आधिकारिक रुपमा बाहिर आएको छ । चाडैँनै टेण्डर प्रक्रिया शुरु हुने बताइएको साइकल लेनका लागि गएको आर्थिक वर्ष २०७५।७६ मै तीन करोड रकम विनियोजन गरिएको थियो । यस वर्षदेखि काम शुरु गर्ने तयारी प्रदेश सरकारले गरेको छ । पाँच हजार मिटर लामो तालको वरिपरि रहेको हालको गोरेटो बाटोलाई विस्तार गरी डेढ मिटर चौडा साइकल लेन बनाउन लागिएको साइकल लेन, रारा तालको पश्चिम भागमा पर्ने निकास क्षेत्रबाट शुरु भएर निकुञ्जको क्याम्प हुँदै विस्तार हुनेछ । लेनको उत्तरतर्फको भागमा नाला निर्माण गरिने छ भने लेनमा सिमेन्टको ब्लक बिछ्याइने प्रारम्भिक योजनामा उल्लेख छ । त्यस्तै लेनका केही भागमा पर्ने खोलामा कल्भर्ट बनाइने योजना पनि विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख छ ।

रारामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि तालको वरिपरि घुम्न सहजताका लागि कर्णाली प्रदेश सरकारले अघि बढाएको साइकल लेनको अवधारणा पर्यटक आकर्षित गर्ने महत्वपूर्ण अवधारणा हो । तर यसले कतै रारा तालको विद्यमान सौन्दर्यतामा कुनै हस्तक्षेप त हुदैन ? भन्नेतर्फ समेत गम्भीर भएर सोच्न आवश्यक छ । ५ हजार मिटर लामो तालको गोरेटो बाटोलाई विस्तार गर्दा विद्यमान तालको आकारले समेत कालन्तरमा खुम्चनु पर्ने अवस्थाका बारेमा कर्णाली प्रदेश सरकारले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत चनाखो हुन आवश्यक छ । प्राकृतिक रुपमा रहेका हरेक तालतलैया र अन्य पूर्वाधारलाई मानव सृजित विकासे गतिविधिको हस्तक्षपका कारण कुरुप बनेका उदारहण हाम्रै देश नेपालमा प्रशस्तै छन् । जसको अर्को उदारहणका रुपमा थप विकासका नाममा हामीले गर्ने गतिविधिले भोली राराको नाम समेत थपिन सक्ने कुरामा आजैदेखि सरकार र सम्बन्धित क्षेत्रका सरोकारवाला निकायले ध्यान दिन आवश्यक छ ।

मानव विकास सुचांकको पुछारमा रहेको कर्णालीको मुगु जिल्लाको समुन्द्रि सतहबाट २ हजार ९ सय ९० मिटर उचाईमा अवस्थित अनुपम प्राकृतिक उपहार रारा ५ किलोमिटर लम्वाई, ३ किलोमिटर चौडाई, १ सय ६७ मिटर गहिराई र १०।८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको नेपालको सबैभन्दा ठूलो ताल हो । सन् २००७ मा विश्व सिमसार सूचिमा सूचिकृत भएको राराको उल्लेखित आकार विद्यमान छ वा छैन् भन्ने बारेमा समेत स्थानीय स्तरबाटै बहस शुरु भएका बेला शुरु हुन थालेको साइलकल लेनले यसको वर्तमान क्षेत्रफललाई कायम गराउने चुनौतीको भूमिका त निर्वाह गर्ने हैन भन्नेमा समेत अहिले बुद्धिमतापूर्वक बहस र छलफल गर्न जरुरी छ । तत्कालिन रुपमा पर्यटकलाई भित्र्याउने नाममा यसको वातापवरणीय प्रभाव मूल्यांकन तथा पर्यवरणीय अध्ययन र अनुसन्धान बिनै निश्चित भूगोल र व्यक्तीको संलग्नतामा तयार पारिएका योजना र बिस्तृत परियोजना प्रतिवेदनले कतै कर्णालीको प्रमूख पहिचान बनेको रारालाई मानव सृजित हस्तक्षेप निम्तीने त होइन ? यसतर्फ सोचिएन भने अल्पकालिन लोकप्रीय कार्यक्रमले दिर्घकालिन रुपमा पार्नसक्ने असरले आजका हामी पुस्तोसम्ममा लागि घातक सावित हुने छौं भन्नेमा गम्भिर बनौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

१० वर्षमा १५ लाख पर्यटन भित्र्याउने प्रदेश सरकारको लक्ष्य

१६ पुष २०७६, बुधबार ११:२३
कर्णालीपत्रलाई प्राप्त कर्णाली पर्यटन गुरु योजनाले पर्यटकहरुलाई आकर्षित गर्न नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भदेखि नै कर्णालीको प्राकृतिक र जैविक विविधतामा आधारित आयोजनाहरु, तीर्थास्थल, अध्यात्म र ध्यानसम्बन्धी आयोजनाहरु सञ्चालन गर्ने उल्लेख गरेको छ ।

सम्बन्धित शीर्षक