‘विमानस्थल कायापलट बनाउन सकिन्छ’

कर्णालीपत्र संवाददाता १६ पुष २०७६, बुधबार ११:१८

वसन्त भण्डारी
सुर्खेत । नागरिक उड्डयन प्राधिकरण सुर्खेत शाखाका प्रमुख उमेशकुमार पन्थीले थोरै तर चलाखीपूर्ण लगानीबाट सुर्खेत विमानस्थलको कायापलट गर्न सकिने बताएका छन् । सुर्खेत विमानस्थलबाटै यान्त्रिक उडान, रातिमा पनि उडानको लागि (आइएफआर) सिस्टमको विकास गर्न सकिने भन्दै प्रमुख पन्थीले त्यसका लागि तत्काल अध्ययन अघि बढाए थोरै लागानीबाटै उल्लेखनीय सेवा दिन सकिने बताए ।

मंगलबार सुर्खेत नागरिक उड्यन प्राधिकरणको २१औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा प्रमुख पन्थीले गम्भीरताका साथ लागेमा यसै विमानस्थलबाट ठूलो काम गर्न सकिने बताएका हुन् ।

आइएफआर सिस्टमका लागि विमानस्थलको पूर्व पश्चिमा कम्तिमा ७५ मिटर आवश्यकता पर्दछ तर हाल विमानस्थलमा ४९ मिटर मात्रै भएकाले त्यो विस्तार गरेमा रातिमा पनि हवाई सेवा उपलब्ध गराउन सकिने उनले बताए ।

यान्त्रिक उडानका लागि विमास्थलको धावनमार्ग २ सय मिटर विस्तार गरेको अवस्थामा ठूला विमानले पनि भारी बोकेर आउन सक्ने भन्दै उनले अध्ययन गरेर विस्तार गर्नु एकदमै आवश्यकता भएको बताए । साथै अध्ययनका लागि प्रदेश सरकारले नै पहल गर्नुपर्ने उनको भनाई थियो ।

‘लामो समय अध्ययन गर्न ५ देखि १० वर्ष लाग्छ’ उनले भने, ‘तर प्रारम्भिक अध्ययन ३ महिनाभित्र नै गर्न सकिन्छ । हामीले प्रारम्भिक अध्ययन गरेरै भए पनि कति धावनमार्ग बढाउँदा फाइदा हुन्छ कति धावनमार्ग बढाउँदा घाटा हुन्छ त्यो सबै पत्ता लगाउन सकिन्छ ।’

यसअघि २०७६ भदांैमा कर्णाली प्रदेश सरकारको पहलमा संघीय सरकारको टोलीले विमानस्थलको अध्ययन गरेको थियो । तर टोलीले अध्ययनपछि विस्तार गर्नुपर्ने बताए पनि हालसम्म कुनै रिर्पोट नदिएको उनको भनाई छ । २०२२ सालमा बनेको सुर्खेत विमानस्थललाई सानो तथा जोखिमपूर्ण विमास्थलको रुपमा हेरिदैँ आइएको छ ।

हाल १२ सय ५५ मिटर लामो धावनमार्ग रहेको सुर्खेत विमानस्थलमा नजिकै काँक्रेविहार जंगल, बस्तिपुर डाँडा, उत्तर तिरका अग्ला डाँडाका कारण आवश्यकता अनुसार विस्तार गर्न नसकिने प्रमुख पन्थीको भनाई छ ।

साथै उनले नजिकै राजमार्ग भएकाले पनि उडानमा समस्या भइरहेको बताए । राजमार्गमा ठूला खालका गाडीहरु गुड्दा हवाई उडानमा समस्या सृजना हुनसक्ने उनको भनाई छ । साथै उनले राजमार्ग आसपासको क्षेत्रमा काँडेतार लगाएर विमानस्थलको क्षेत्र छुट्याइएकोमा ८÷९ मिटर भित्रको जग्गा सडकको भएकाले सडकले त्यो जग्गा लिएको अवस्थामा आजकाल भइरहेको उडान पनि बन्द हुनसक्ने उनले बताए ।

भौगोलिक कारण भाडा दर महंगो

जहाज उडानका लागि तयारी हुँदा कहिलेकाहीँ वातावरणीय कारणले रद्द हन्छ । कहिल्यै यात्रु नहुँदा समस्या पर्छ । प्रमुख पन्थीले भने, ‘ठूला विमान धेरै भारी बोकेर आउन सक्दैनन् । त्यसको क्षतिपूर्ती एअरलायन्सले यात्रुबाट असुल्छन् । त्यसैले भाडा महंगो हुन्छ ।’

विमानस्थलको तत्काल अध्ययन गरेर आवश्यकता अनुसार विस्तारको काम अघि बढाएर यान्त्रिक उडान र रातिमा पनि उडान गर्न सकिने (आइएफआर) सिस्टमको विकास गरेको अवस्थामा भाडादर घट्ने प्रमुख पन्थीको विश्वास छ ।

स्थापना दिवसको अवसरमा विमानस्थल सरसफाइ गरिएको छ भने उत्कृष्ट काम गर्ने कर्मचारीलाई नगद २५ सय रुपैयाँसहित सम्मान समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राराको बिरासतलाई ख्याल गरौ ।

१६ पुष २०७६, बुधबार ११:१८
तत्कालिन रुपमा पर्यटकलाई भित्र्याउने नाममा यसको वातापवरणीय प्रभाव मूल्यांकन तथा पर्यवरणीय अध्ययन र अनुसन्धान बिनै निश्चित भूगोल र व्यक्तीको संलग्नतामा तयार पारिएका योजना र बिस्तृत परियोजना प्रतिवेदनले कतै कर्णालीको प्रमूख पहिचान बनेको रारालाई मानव सृजित हस्तक्षेप निम्तीने त होइन ?