रारामा १४ किलोमिटर साइकल लेन बन्दै

कर्णालीपत्र संवाददाता १४ पुष २०७६, सोमबार ११:४३

सुर्खेत । रारा तालमा साइकल लेन बन्ने भएको छ । कर्णाली प्रदेश सरकारले राष्ट्रिय निकुञ्जभित्र पर्ने तालको वरिपरि १४ किलोमिटर लामो साइकल लेन बनाउन लागेको हो । ताल वरिपरि हाल घोरेटो बाटो मात्र रहेको र त्यसलाई व्यवस्थित गर्न साइकल लेन बनाउन लागिएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
रारा घुम्ने आउने पर्यटकलाई मध्यनजर गर्दै बनाउन लागिएको लाइकल लेनको विस्तृत परियोजना प्रतिवेदन
(डिपिआर) निर्माण भइसकेको र चाडैँनै टेण्डर प्रक्रिया शुरु हुने मन्त्री नन्दसिंह बुढाले जानकारी दिए । मन्त्री बुढाले गत आर्थिक वर्ष ०७५÷०७६ देखिनै साइकल लेनका लागि बजेट विनियोजन गरेको भए पनि समय अभावले काम हुन नसकेको बताए । उनले भने, ‘साइकल लेनको लागि गत वर्षनै ३ करोड रकम विनियोजन गरिएको थियो । डिपिआर भइसकेको छ । यस वर्षदेखि काम शुरु हुन्छ ।’
५ हजार मिटर लामो तालको वरिपरि रहेको गोरेटो बाटोलाई विस्तार गरी डेढ मिटर चौडा साइकल लेन बनाउने योजना मन्त्रालयको छ । साइकल लेन तालको पश्चिम भागमा पर्ने निकास क्षेत्रबाट शुरु भएर निकुञ्जको क्याम्प हुँदै विस्तार हुने डिभिजन वन कार्यालय मुगुका सबइन्जिनीयर गोरसिंह बडुवालले जानकारी दिए । उनकाअनुसार लेनको उत्तर तर्फको भागमा नाला निर्माण गरिने छ भने लेनमा सिमेन्टको ब्लक बिछ्याइने छ । त्यस्तै लेनका केही भागमा पर्ने खोलामा कल्भर्ट बनाइने पनि सवइन्जिनियर बडुवालले जनाए । साइकल यात्रीलाई आराम गर्न स–साना पार्कसमेत बनाइने उनले बताए ।
मन्त्रालयले गत वर्ष साइकल लेनका लागि छुट्याएको ३ करोड रुपैैयाँलाई यस वर्ष निरन्तरता दिए पनि टेण्डर प्रक्रियामा जान लागिएको हो । गत वर्ष बजेट ढिला गरी स्वीकृत भएकोले डिपिआर मात्र निर्माण डिभिजन वन कार्यालयले डिपिआर मात्र निर्माण गरेको थियो ।
साढे करोड बढी लाग्ने
प्रारम्भिक अनुमानअनुसार साइकल लेनका लागि साढे सात करोडभन्दा बढी रकम लाग्ने भएको छ । डिभिजन वन कार्यालय मुगुले तयार पारेको डिपिआरका अनुसार १४ किलोमिटर लामो सो लेन निर्माण पूरा गर्न साढे सात करोड लागत लाग्ने अनुमान गरिएको छ । डिपिआरमा लेनका लागि आवश्यक केही पूर्वाधार छुटेकाले सो रकम अपुग हुने सवइन्जिनियर बढुवालले बताए । डिपिआरमा पार्क निर्माणका केही पूर्वाधारका कामहरु छुटेका छन् । सवइन्जिनियर बढुवालले भने, ‘त्यो सबै समावेश गरेर हामीले बनाउनुपर्ने हुन्छ । त्यसका लागि डिपिआरमा उल्लेख गरेको साढे सात करोडभन्दा धेरै लाग्छ ।’
प्रदेश सरकारले लेनका लागि यस वर्ष विनियोजन गरेको ३ करोडले पुग्ने गरी यस वर्ष टेण्डर खोल्न लागेको डिभिजन वन कार्यालयका लेखा अधिकृत दुर्गाबहादुर कार्कीले बताए । प्रदेश सरकारबाट आधाभन्दा कम बजेट आएको छ । उनले भने, ‘त्यो बजेटले सबै काम गर्न सकिदैंन । चालु आवमा ३ देखि ४ किलोमिटरमात्र लेनको कामका लागि टेण्डर खोल्ने तयारीमा छौँ ।’ लागत अनुमानअनुसार मन्त्रालयले बजेट दिए यसै वर्ष सबै कामको टेण्डर खोल्ने र अर्को वर्षभित्र निर्माण सम्पन्न हुने लेखा अधिकृत कार्कीले जनाए । यता उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले आयोजना क्रमागत भएकाले अर्को आर्थिक वर्षमा प्रयाप्त बजेट विनियोजन गर्ने बताएको छ ।
चालु आर्थिक वर्षको बजेट डिभिजन वन कार्यालय मुगुमा २ महिना पहिलानै पठाइ सकेको बताएको भन्दै उद्योग मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायाले आवश्यक रकम छुट्याउने प्रदेश सरकारको तयारी रहेको जानकारी दिए ।
रारा जाने बाटो बाटोमा होमस्टे
उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले रारा जाने पर्यटकलाई लक्षित गरेर बाटोमा होमस्टे सञ्चालन गर्ने बताएका छन् । ‘पर्यटक कर्णालीमा आएर राम्रो सन्देश लिएर जाओस् भन्ने हाम्रो चाहाना हो ।’ उनले भने, ‘त्यसका लागि हामीले आधार निर्माण गरिरहेका छौँ । रारा जाँदा बाटोमा पर्यटकलाई खाने र बस्ने ठाँउको अभाव भएको बताउँदै मन्त्री बुढाले होमस्टेले पर्यटकलाई सहज हुने दावी गरे । आइतबार सञ्चार क्लव सुर्खेले आयोजना गरेको कार्यक्रममा मन्त्री बुढाले स्थानीय तहको समन्वयमा कर्णालीमा आउने पर्यटकको रेकर्ड राख्ने काम शुरू हुने जानकारी दिए ।
तत्कालै प्रदेश सरकारले गरेका कामको ठोस नतिजा नदेखिए पनि केही वर्षपछि कर्णाली प्रमुख पर्यटकीय गन्तव्य बन्ने उनको दाबी छ । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुबेदीले वीरेन्द्रनगर क्षेत्रभित्रका पर्यटकीय क्षेत्रहरूको पुर्ननिर्माणको काम भइरहेको बताए । प्रहरी नायव महानिरीक्षक पूर्णचन्द्र जोशीले पर्यटकलाई कर्णालीमा ढुक्क र सुरक्षितसँग घुम्ने वातावरण बनाउन सुरक्षा निकायले आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । त्यस्तै होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष गोरख रावतले केही दिनमै छलफल गरेर पर्यटकका लागि विशेष प्याकेज घोषणा
गरिने बताए ।

माघ १६ गते बुलबुले जाउँ

कर्णाली प्रदेश सरकारले नेपाल भ्रमण वर्षको शुरुवात बुलबुले तालबाट गर्ने तयारी गरेको छ । अंग्रेजी नयाँ वर्षको दिन जनवरी १ मा बुलबुलेमा एक सामारोहका बीच भ्रमण वर्षको शुरुवात गर्ने तयारी गरेको हो । मन्त्री बुढाले जनवरी १ का दिन बिहान ११ बजे पिपल चौतारीबाट कर्णाली प्रदेशका १० वटै जिल्लाका विभिन्न भाँकीसहित बुलबुले गएर भ्रमण वर्षको शुरुवात गर्ने बताए । सोही दिन दक्षिण एशियाली खेलकुद प्रतियोगितामा कर्णालीबाट पदक प्राप्त गर्ने खेलाडीलाई सम्मान गर्ने, तथा प्रदेश सरकारले तोकेको ४० वटा अन्तरिक र बाह्य पर्यटकीय क्षेत्रको फोटो प्रर्दशनसमेत गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

E-paper (2076-09-15)

१४ पुष २०७६, सोमबार ११:४३

सम्बन्धित शीर्षक