‘राजनीतिक मुद्दा भनेर मलाई अपहरण गरिएको रहेछ ’

कर्णालीपत्र संवाददाता ८ पुष २०७६, मंगलवार १०:४९

आइतबार साँझ करिब ६ बजे अपहरणमुक्त भएका ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई दैलेख प्रहरीको टोलीले सोमबार बिहान २ बजे सदरमुकाम ल्याई पु¥याएको छ । विप्लव नेतृत्वको नेकपा माओवादी कार्यकर्ताको अपहरणपछि १८ घण्टासम्म विकट भूगोल र हिमपात क्षेत्रमा पैदल हिडेका कारण अलि अस्वस्थ भएको उनले बताएका छन् । ‘अपहरणपछि आइतबार दिउँसो डेढ घण्टाजति आराम गर्न दिए, उनले भने, ‘त्यसपछि फेरि कतै बस्न पाइएन ।’ अपहरण गरिएका वेला उनको हातमा काँडाले कोतरेको छ भने कपडाको विभिन्न भागमा च्यातिएको छ । अपहरणका बेला दिनरात हिंडेका कारण धेरै थकान महशुस गरेका अध्यक्ष शाहीलाई बोल्न पनि असजिलो भएको थियो ।
अपहरणबारे उनले यसरी बेलीविस्तार गरेका छन् ।
‘शनिबार राती खाना खाइसकेर हामी सुतिसकेका थियांै, १२ बजिसकेको थियो, कसैले ढोका ढक्ढकायो । मेरो श्रीमती ईलाले भित्रबाट को हो यति राति आउने, भनेर कराइन् । बाहिरबाट एकोहोरो ढोका ढक्ढकाई रहेपछि उनी उठेर ढोका खोलिन् । ढोका खोल्ने वित्तिकै मुखमा कालोपट्टी बाँधेका केही व्यक्ति देखेपछि उनि अत्तालिन थालिन् । त्यसपछि उनीहरुले विप्लव कार्यकर्ता भन्दै अध्यक्ष ज्यू हामीसँग जानुपर्ने भो भनेपछि मैले त्यति विवाद गर्न चाहेन । हाप पाइन्ट लगाएको देखेपछि एकजनाले पाइन्ट लगाउनुस्, छिटो हिड्नुस् भने । म हिंड्न तयार भएँ, ‘मसँगै श्रीमती ईला पनि जान खोजिन् । मैले रोकेन । मध्यरातको चिसोमा हाम्रो अघिपछि उनीहरुसँगै हामी उकालो लाग्यौं । मलाई लिन आएको थाहा पाएपछि भाइ हस्त पनि पछाडि लाग्यो, तर भाइलाई उनीहरुले रोके । हतियारसहित रहेका २५–३० जनाको अगाडि मेरो केही जोर चलेन । आधा रातको हिंडाईपछि बिहानी पख दैलेख र कालीकोटको गुँईचाखर्क लेकमा केही समय बसिरहेको बेला भाइ हस्त पुगेपछि श्रीमती ईलालाई उनको जिम्मा लगाई राजनीतिक मुद्दाका कारण ल्याइएको र केही दिनमा छोड्ने आश्वासन दिए । अब म एक्लै भएपछि केही डर मनमा लागिरह्यो । अनि मैले पटक–पटक प्रश्न सोध्न थाले, मेरो के गल्ती थियो, मलाई किन ल्याइयो ।’ विप्लव कार्यकर्ताको एउटै जवाफ थियो, ‘राजनीतिक मुद्दा’ । मैले दोहो¥याएर सोधिरहे, मेरो गल्ती छ भने गोली हानेर मार्नुस् नत्र मलाई छोड्नुस् । त्यसपछि उनीहरुले राज्यले आफ्नो पार्टीका धेरै कार्यकर्ताहरु पक्राउ गरी मुद्दा चलाएकाले उनीहरुलाई निःशर्त रिहाका लागि जनप्रतिनिधिलाई कब्जामा राख्ने नीति रहेको र यो कार्यको शुरुवात भएको बताएका थिए । अपहरणको अवधिभर अपशब्द र दुव्र्यवहार कतै गरेनन् । तर लगातार हिडाउँदा धेरै कष्ट भो । साझँ पर्दै थियो, जब मलाई कालीकोटको छातीको जंगलमा राखेका थिए, त्यतिवेला खोजीकार्यमा प्रहरी पुगेको उनीहरुलाई सूचना आइरहेको थियो, उनीहरु हतास मनस्थितिमा थिए । ६ बजेको थियो, प्रहरीतिरबाट हवाई फायर हुन थाल्यो, विप्लव कार्यकर्ताको भागदौड मच्चियो । त्यतिवेलासम्म ५ जना मात्र थिए । प्रहरीको हवाई फायरपछि मलाई जंगलमै छाडेर उनीहरु तितरबितर भए । यत्तिकैमा एकजना प्रहरी मेरा नजिक पुगेर च्याप्प मलाई समातेर तपाई को हो भन्न थाले । अनि मैले आफ्नो परिचय भनेपछि अरु खोजी कार्यमा त्यहा पुगेका प्रहरी टोलीले मलाई आफ्नो सुरक्षामा लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

E-paper (2076-09-09)

८ पुष २०७६, मंगलवार १०:४९