सिमकोट यसैवर्षभित्र राष्ट्रिय सडक सञ्जालमा जोडिने

कर्णालीपत्र संवाददाता ६ पुष २०७६, आईतवार ११:०६

सुर्खेत , ६ पुस :
हुम्लाको सदरमुकाम सिमकोट यसै आर्थिक वर्षभित्र राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ । नेपाली सेनाले कर्णाली कोरिडोर अन्तर्गत कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्को एक सय २३ किलोमिटर सडक निर्माणको काम सम्पन्न हुने भएपछि सदरमुकाम सिमीकोट राष्ट्रिय सडक सञ्जालमा जोडिने निश्चित भएको हो । सल्लीसल्ला देखि सिमीकोटसम्मको ५० किलोमिटर सडकको निर्माण भने निजी क्षेत्रले गरिरहेको छ । नेपाली सेनाका सेनानी मिलन कार्कीले सेनाले जिम्मा लिएको सडकखण्डमा अहिलेसम्म १ सय ११ किलोमिटर सडकको ट्रयाक निर्माण भइसकेको र बाँकी १२ किलोमिटर ट्रयाक खोल्ने काम भइरहेको जानकारी दिए ।
खुलालुदेखि हुम्लाको सिमिकोट सम्म निर्माण भइरहेको सडककोे कुल लागत २ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । जसमध्ये गत आर्थिक वर्ष सम्ममा १ अर्ब १३ करोड रुपैयाँ खर्च भइसकेको र यस आर्थिक वर्षमा ४० करोड रुपैयाँ खर्च गर्ने लक्ष्य सेनाले राखेको छ ।
दुई दशकसम्म अलपत्र परेको कर्णाली कोरिडोर निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएपछि यो सडकखण्डले तिब्रता पाएको हो । २०५६ सालमा शिलान्यास गरिएको यो कोरिडोरको निर्माण २०६६ सालसम्म सडक विभाग आफैले गर्ने तयारी गरिरहेको थियो । तर कालिकोट र हुम्लाको अधिकांश भागमा ठुल््ठुला चट्टान र पहराका कारण ९ चैत २०७१ मा नेपाली सेनाले निर्माणको जिम्मा पाएको थियो । तर अझैपनि निमार्णाधिन सडकको निर्माण धेरै खण्ड सडक विभागले निजी क्षेत्रलाई जिम्मा दिएको छ । जस अन्तर्गत सल्लीसल्लादेखि सिमीकोट सम्मको ५० किलोमिटर क्षेत्रको भागमा सडक विभागले ३ वटा ठेक्का व्यवस्थापन गरी निजी क्षेत्रलाई जिम्मा दिएको छ । यस क्षेत्रको सिमिकोट खर्पुनाथ खण्डमा स्थानीयको विवादले निर्माणकार्य रोकिएको छ । त्यस्तै निजी क्षेत्रसँग आवश्यक दक्ष जनशक्तिको अभाव हुँदा पनि काम प्रभावित भएको छ । जसबाट सडकको निर्माण कार्यमा भने ढिलाइ हुँदै गएको छ । तर कतिपय ठाउँका बस्ति मासिने तथा कतिपय ठाउँमा अझैपनि सडक सञ्जाल नपुग्ने लगायतका चिन्ता स्थानीयको छ । सिमीकोट गाउँपालिका वडा नं। ५ का अध्यक्ष कृष्णबहादुर बोहराले हिल्सा सिमीकोट सडकखण्ड अन्तर्गत सडक विभागले कसैसँग समन्वय नगरी डिपिआर तयार गरेको र स्थानीयको खेतियोग्य जमिन बस्ती समेत मासिने भएकाले आफूहरु समस्यामा परेको बताए ।
निजी क्षेत्रबाट निर्माण भइरहेको कतिपय ठाउँमा चट्याङ फोर्न सेनाको सहयोग लिनुपर्ने भएकाले पनि केही ढिलाई भएको हुम्लाका सांसद छक्कबहादुर लामाले बताए ।
कर्णाली कोरिडोरको कुल लम्बाई ६ सय ८२ किलोमिटर छ । यो सडक बाँकेको जमुनाहदेखी सुर्खेत, कालीकोट, हुम्लाको सिमीकोट हुँदै हिल्सासम्म जोडिने छ । हिमाली क्षेत्र र जटिल भूभागमा काम गर्नुपर्ने भएकाले सडक निर्माणमा थुप्रै समस्या झेल्नु परेको नेपाली सेना तथा निजी क्षेत्रका निर्माण कम्पनीहरुले बताएका छन । त्यसैले पनि सिमीकोटदेखि हिल्सासम्म ६ वटा ठेक्कामा विभाजन गरी सडक विभागले निर्माणकार्य अगाडी बढाउन लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

E-paper (2076-09-07)

६ पुष २०७६, आईतवार ११:०६