कर्णालीमा चामल राजनीति: एक पक्ष बाँड्ने अर्को रोक्ने

कर्णालीपत्र संवाददाता ६ पुष २०७६, आईतवार ११:०१

सिमकोट : अनुदानको चामल वितरणमा जिल्लाको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल र उपाध्यक्ष रुपमा शाहीबीच विवाद शुरु भएको छ ।

नेपाल खाद्य संस्थानको बिक्री केन्द्रमा भएको चामल बिक्री गर्ने सन्दर्भमा उपाध्यक्ष र उनको दल नेपाल कम्युनिस्ट पाटी (नेकपा) ले दलीय सहमतीअनुसार सबैलाई न्यायोचित रुपमा वितरण गर्न गरेको आग्रह नमानेपछि अध्यक्ष रावल र उपाध्यक्ष शाहीबीच विवाद भएको हो ।
केन्द्रका लागि पहिलो चरणमा ढुवानी भएको १ सय ८८ क्विण्टल चामल गोदाममा पुगेपछि गाउँपालिका अध्यक्ष रावलले कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीको चिटका आधारमा धमाधम कांग्रेस पार्टीका कार्यकर्तालाई चामल वितरण गर्न थालेपछि बिहीबार उपाध्यक्ष शाही सर्मथित दल नेकपाका स्थानीय कार्यकर्ताले चामल राखिएको गोदाममा आफ्नो छुट्टै ताला लगाएका थिए । पछि नेकपाले लगाएको ताला अध्यक्ष रावल समर्थित कार्यकर्ताले तोडेर चामल वितरण गरेपछि विवादले चर्को रुप लिएको हो ।

गाउँपालिका अध्यक्ष रावल, खार्पुनाथ–५ का वडा अध्यक्ष भीमराज शाहीलगायतका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताकै नेतृत्वमा गोदाममा भएको सबै चामल कांग्रेसका निश्चित कार्यकर्तालाई मात्र वितरण गरेको आरोप उपाध्यक्ष शाह पक्षले लगाएको छ ।

‘सरकारी अनुदानको चामल खाद्य संस्थानका कर्मचारी, प्रहरी–प्रशासन र स्थानीय तहको रोहवरमा बिक्री गरिनुपर्ने हो ।’ उपाध्यक्ष शाहीले भनिन् ‘तर अध्यक्ष रावल आफैँले गोदाममा लगाएको ताला तोडेर चामल बेचे ।’ ‘थोरै चामल भएकाले सबैलाई मिलाएर दिनुपर्छ भन्ने आफ्नो कुराको कुनै सुनुवाई नगरी उनले एक पार्टी (कांग्रेस) का कार्यकर्तालाई एकलौटी मात्र चामल दिए ।’

अध्यक्ष रावलकै अगुवाईमा बिहीबार र शुक्रबार वितरण गरिएको चामलमध्ये ६६ क्विण्टल ४० किलोग्राम कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीले दिएको चिटबाट मात्रै वितरण गरेको नेकपा खार्पुनाथका अध्यक्ष प्रकाशबहादुर शाहीले बताए । छानीछानी आफ्ना पार्टी र नाता निकटलाई सरकारी अनुदानको चामल दिने काम भयो ।’ उनले भने, ‘सरकारले रोहवर भनेको कानूनी व्यवस्थालाई हातमा लिएर प्रहरी प्रशासनलाई समेत डर देखाउँदै चामल वितरण गर्ने स्थानीय तहले रकम वितरणमा कस्तो सामूहिकता अपनाउँला ?’

तर यसप्रति खार्पुनाथ गाउँपालिकाका अध्यक्ष रावलले इन्कार गरे । खाद्य संस्थानले यांचुकुनामा डिपो होइन वितरण केन्द्र स्विकृत गरेको उल्लेख गरेका रावलले कर्मचारी नहुँदा चामल एकैपटक वितरण गर्नुपर्ने बाध्यताले स्टक राख्न नसकिएको प्रतिक्रिया दिए । गत पुस १ गते नेपाली कांग्रेस जिल्ला कार्य समितिले सिमकोटमा आयोजना गरेको विरोध कार्यक्रममा गएका कार्यकर्ताले केन्द्रीय सदस्यसमेत रहेका प्रदेशसभा सदस्य जीवनबहादुर शाहीबाट ल्याएको चिटको आधारमासमेत चामल दिएको अध्यक्ष रावलले बताए । ‘पार्टीको शक्ति प्रदर्शनमा उपस्थित भएका कार्यकर्तालाई केन्द्रीय सदस्य जीवनबहादुर शाहीले कुपन दिनुभएको थियो,’ उनले भने, ‘खाद्य संस्थान हुम्लाका प्रमुख र जिल्ला खाद्य व्यवस्थापन समितिका अध्यक्षको समेत जिम्मेवार सम्हालेका सहायक प्रमुख जिल्ला अधिकारीले गाउँपालिकाको सम्बन्धित बिक्री केन्द्रबाटै चिटको चामल दिनु भनेपछि चामल दिइएको हो ।’

गोदाममा संस्थानले लगाएको ताला नतोडेको बताएका अध्यक्ष रावलले चामल वितरण गर्न रोक्ने मनसायले नेकपाका कार्यकर्ताले लगाएको ताला भने तोडेको स्विकारे ।

सरकार प्रमुखले नै त्यसो गर्न नहुने –प्रशासन

स्थानीय सरकार प्रमुखले कानून हातमा लिएर चामल वितरण गर्ने काम राम्रो नभएको स्थानीय प्रशासनले जनाएको छ । चामल वितरणमा एकलौटी भएको कुरा आफूकहाँ समेत आएको बताएका जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले कुनै दल विषेशका व्यक्तिलाई केन्द्रित गरेर सरकारी अनुदानको चामल वितरण गर्नु दुःखद् कुरा हो । ‘बिक्री केन्द्रमा जुन सुकै पक्षबाट लगाएको ताला भए पनि प्रहरी, प्रशासन र स्थानीय तहका प्रतिनिधिको रोहबरमा मुचुल्का उठाएर मात्र काट्नुपर्ने हो ।’ उनले भने, ‘तर, गाउँपालिका अध्यक्ष आफैँले कार्यकर्ता र वडा अध्यक्ष लगाएर ताला फोड्ने, मनलाग्दी चामल वितरण गर्ने कामले राम्रो सन्देश जाँदैन ।’ खार्पुनाथको विषयमा अब बस्ने खाद्य व्यवस्था समितिमा छलफल गरेर बाँकी अवस्था बुझ्ने अधिकारी हमालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिमकोट यसैवर्षभित्र राष्ट्रिय सडक सञ्जालमा जोडिने

६ पुष २०७६, आईतवार ११:०१
सुर्खेत , ६ पुस : हुम्लाको सदरमुकाम सिमकोट यसै आर्थिक वर्षभित्र राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ । नेपाली सेनाले कर्णाली कोरिडोर अन्तर्गत कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्को एक सय २३ किलोमिटर सडक निर्माणको काम सम्पन्न हुने भएपछि सदरमुकाम सिमीकोट राष्ट्रिय सडक सञ्जालमा जोडिने निश्चित भएको हो । सल्लीसल्ला देखि सिमीकोटसम्मको […]