चिसोबाट सावधानी अपनाउँ

कर्णालीपत्र संवाददाता ४ पुष २०७६, शुक्रबार ०८:१७

पुस महिना लागेसँगै मौसममा पनि निकै परिवर्तन भएको छ । मौसममा आएको परिवर्तनले सबैतिर अत्यधिक जाडो बढ्दै गएको छ । पुस महिना लागेसँगै घट्दै गएको तापक्रम र बढ्दै गएको चिसोले जनजीवन निकै कष्टकर बनाउँदै लगेको छ । बुधबार वीरेन्द्रनगरको तापक्रम यो वर्षको अहिलेसम्मकै सबैभन्दा कम ६ दशमलव ५ डिग्री सेन्टीग्रेड थियो । भने हिमाली जिल्ला हुम्ला सिमकोटमा माइनस १५, डोल्पामा माइनस ९, मुगुको रारामा माइनस १० भन्दा कम पुगेको छ । यसले त्यहाँको जनजीवन कति कष्टकर होला भन्ने सहजै अनुमान लगाउन सकिन्छ । पछिल्ला केही दिनमा बढेको अत्यधिक जाडोले हिमाली क्षेत्रका बासिन्दा घरबाट बाहिर निस्कनसमेत सकिरहेका छैनन् । जाडोले कर्णालीको सुर्खेतलगायत तल्लो क्षेत्रमा शीतलहर, पहाडमा हुस्सु र हिमाली भेगमा बरफ जमेको छ । जसका कारणले पनि चिसो धेरै बढ्दै गएको हो । यो समयमा पृथ्वीको तापक्रम कम हुने भएका कारण जनजीवन कष्टकर हुनेगर्छ । अहिले चिसो बढेसँगै तराइमा शीतलहर चल्न शुरु भइसकेको छ । चिसोबाट बालबालिका, वृद्धवृद्धा, बिरामी र आर्थिक अवस्था कमजोर भएका नागरिक बढी प्रभावित हुन्छन् ।

यो समयमा शरीर, हातखुट्टा फुट्ने, रुघाखोकी लाग्ने तथा अन्य विभिन्न प्रकारका रोग र संक्रमण लाग्ने भएका कारण सचेत हुनुपर्छ । चिसोको बेलामा न्यानो कपडा तथा तातो झोलिलो खानेकुरा खानुपर्छ । बाहिर निस्कँदा पनि तातो र बाक्लो लुगा लगाएर मात्रै निस्कनुपर्छ । यस्तो बेलामा नुहाउँदा पनि तातोपानीको प्रयोग गर्ने गर्नुपर्छ । अन्यथा कठ्याङ्ग्रिएर थप स्वास्थ्य खतरा हुने कुरालाई समयमै सावधानी अपनाउनुपर्छ । घरमा भएका बालबालिका र वृद्धवृद्धालाई यस्तो बेलामा थप स्याहार सम्हारको आवश्यकता पर्छ । विद्यालय जाने उमेर समूहका बालबालिकाहरूलाई न्यानो कपडा र मोजासहितका जुत्ता, न्यानो स्वेटर, ज्याकेट, कोट लगाइदिनुपर्छ । घरमा न्यानो बनाउने, सुत्दा पनि न्याना सिरक ओढेर सुत्ने गर्नुपर्छ । अनि, तातोतातो झोल पदार्थ पिउनुपर्छ । खाना तातोतातो खाने गर्दा राम्रो हुने सुझाव चिकित्सकको छ । यस्तो बेलामा दम, निमोनिया, स्वासप्रस्वाससम्बन्धीका रोगीहरूलाई झन् बढी हेरचाह आवश्यक हुन्छ ।

हिउँदको समयमा बढ्ने अत्याधिक जाडोबाट बच्न अपनाउनुपर्ने सावधानीका बारेमा ग्रामीणस्तरका नागरिकलाई जानकारी नहुन सक्छ । घरको कमजोर आर्थिक अवस्था, काममा जानुपर्ने बाध्यताका कारण जस्तोसुकै जाडोमा पनि काममा खटिने, घर बाहिर निस्कनु पर्ने बाध्यता हुनसक्छ । यस्तोबेला उनीहरूलाई जाडोबाट कसरी बच्ने भन्ने उपायसम्बन्धी सचेतना जगाउन आवश्यक हुन्छ । विकसित देशहरूमा विभिन्न तहका सरकारहरूले नै आर्थिक अवस्था कमजोर भएका, बालबालिका, वृद्धवृद्धा, असाहय, अपाङ्गता भएका व्यक्तिहरूलाई जाडोबाट बचाउन ‘न्यानो’ अभियान अन्तरगत न्यानो कपडा वितरण जस्ता कार्यक्रम सञ्चालन गर्ने गरिन्छ । नयाँ व्यवस्था अनुसार अहिले हाम्रो देशमा समेत तीन तहका सरकार छन् । तीन तहका सरकारको अन्तिम लक्ष्य पनि दुःखमा परेका नागरिकलाई सहयोग गर्ने र देशलाई हरेक क्षेत्रमा समृद्ध बनाउने नैं हो । पछिल्लो समयमा हरेक दिन बढ्दै गएको अत्यधिक जाडोका कारण भलै अहिलेसम्म जाडोका कारण कर्णाली प्रदेशका दशवटै जिल्लामा कुनै पनि अप्रिय खबर सुन्नु परेको छैन । यस स्थितिलाई यथावत राख्न प्रदेश र स्थानीय तहका सरकारहरूले जाडोबाट बच्न अपनाउनुपर्ने सावधानीका बारेमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आर्थिक रुपमा विपन्न वर्गका नागरिकलाई जाडोबाट बचाउने आवश्यक पहल गरौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

E-paper (2076-09-05)

४ पुष २०७६, शुक्रबार ०८:१७

सम्बन्धित शीर्षक