होटलमा लगानी बढ्दैं

कर्णालीपत्र संवाददाता ४ पुष २०७६, शुक्रबार ०७:५९

नवराज महतारा /पुनम बीसी

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरलाई कर्णाली प्रदेशको राजधानी घोषणा गरिएपछि पर्यटकलाई लक्षित गर्दै सुविधासम्पन्न होटल खुल्ने क्रम बढेको छ । करोडौंका लागतमा पर्यटक र अर्गानिक खानालाई प्राथमिकता दिएर सुविधासम्पन्न होटल खुल्ने क्रम बढेको हो ।

कर्णाली प्रदेशअन्तरगत पर्ने मुलुकको सबैभन्दा ठूलो ताल मुगुको रारा, गहिरो ताल डोल्पाको से–फोक्सुण्डो, दोस्रो लुम्विनीको रूपमा परिचित सुर्खेतको काँक्रेविहार, खस भाषाको उत्पत्तिस्थल जुम्लाको सिंजा, पञ्चकोशीजस्ता महत्वपूर्ण पर्यटकीयस्थल र पवित्रस्थल कैलास मानसरोवरको गेट–वे समेत यही प्रदेश भएकाले बढ्दै गएका आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर सुर्खेत पछिल्ला केही वर्षयता होटल व्यवसायको आकर्षण क्षेत्र बन्दै गएको हो ।

देशका विभिन्न जिल्लाहरुमा लामो समयदेखि हस्पिटालिटी व्यवसाय सञ्चालन गर्दै आएको सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले आफ्नो १२औं शाखाका रुपमा २०७२ वैशाख ३१ गतेदेखि आफ्नो होटल सिद्धार्थ सुर्खेतबाट सेवा प्रारम्भ ग¥यो । तत्कालीन समयमा १६ करोडको लगानी रहेको शनी रिसोर्टमा ५ करोड लगानी थप गरेर २१ करोडको लागतमा सिद्धार्थले आफ्नो सेवा सूचारु ग¥यो । २७ करोडको लगानीमा निर्माण भएको शुभ होटलले २०७३ चैत २३ गते बुधबार परेको रामनवमीको अवसर पारेर औपचारिक रूपमा आफ्नो सेवा सुरू ग¥यो । होटलले मुगुको रारा र उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने कैलाश मानसरोवर जाने पर्यटकलाई आफ्ना लक्षित ग्राहक मान्दै २२ कठ्ठा क्षेत्रफलमा ६० वटा डिलक्स कोठासहित, रेष्टुरेन्ट बार, सेमिनार हल, पार्किङ, विवाह मण्डप, पार्लर, लिफ्टलगायतका सुविधा भूकम्प प्रतिरोधी र अपांगमैत्री संरचनाबाट प्रवाह ग¥यो ।

२०७४ माघ महिनामा ६ करोड बढीको लागतमा सुर्खेतको नगरकोट भनेर चिनिने गढीमा होटल स्टे भ्यालीभ्यू सञ्चालनमा आयो । कर्णाली प्रदेश आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई लक्षित गरेर प्रदेश राजधानी वीरेन्द्रनगरदेखि ९ किमी उत्तरमा सुविधासम्पन्न उक्त होटल सञ्चालनमा आयो । त्यस्तै चार करोड ८५ लाखको लागतमा २०७४ मा बुलबुले उद्यानको आडैमा बुलबुले भ्यू होटल सञ्चालनमा आयो । रारा जाने पर्यटक र अर्गानिक खानालाई होटल सञ्चालनको मुख्य अस्त्र बनाएर शुरू गरिएको उक्त होटलले भिआइपीलगायत मध्यम खाले पर्यटकहरूलाई प्राथमिकतामा पारेको छ । सुविधासम्पन्न होटलहरू स्थापना नहुँदा पर्यटकहरू रातारात बाहिरिने गरेकोले पर्यटकहरूलाई नै मुख्य लक्षित बनाएर होटल सञ्चालनमा ल्याएको सञ्चालक युवा व्यवसायी जनकसिंह ठकुरीले बताए ।

सुर्खेतमा उपयुक्त पर्यटन र व्यावसायिक वातावरण देखेर होटल क्षेत्रका व्यवसायीहरूले पछिल्लो समय धमाधम होटल खोल्न थालेका हुन् । नयाँ संविधानअनुसार देश संघीयतामा गएसँगै कर्णाली छुट्टै प्रदेश बनेसँगै प्रदेशका हरेक सरकारी तथा गैरसरकारी संरचनाहरू सुर्खेत केन्द्रित भएकाले पनि सुर्खेतमा होटलको लगानीमा वृद्धि भएको हो । सामाजिक, आर्थिक तथा विकासका दृष्टिकोणले देशकै पछिल्लो पंक्तिमा रहेको कर्णाली दातृ निकाय र गैरसरकारी संघ संस्थाको आकर्षक क्षेत्रका रुपमा रहनु र त्यस्ता निकायले सञ्चालन गर्ने प्रदेशस्तरीय कार्यक्रम सञ्चालनको रोजाईमा सुविधासम्पन्न तारे होटल पर्नुले पनि सुर्खेतमा होटेलप्रतिको लगानीमा वृद्धि भएको राष्ट्रिय उपभोक्ता मञ्च, सुर्खेतका अध्यक्ष आकाशतारा वयकले बताए । उनका अनुसार पछिल्लो समय सुर्खेतका अधिकांश होटलहरूमा हरेक दिन कुनै न कुनै त्यस्ता कार्यक्रमको आयोजना हुने गरेको छ । यसअघि नेपालगञ्जमै आयोजना हुने क्षेत्रीयस्तरका अधिकांश कार्यक्रमहरू समेत सुर्खेतमै हुन थालेका छन् ।

प्रदेशको राजधानी भएपछि दशवटै जिल्लाको सुर्खेत आवतजावत बढ्नु, स्थलमार्ग हुँदै कर्णालीका अन्य जिल्ला जाने यात्रुहरू बढ्नु, सुर्खेत–काठमाडौं सिधा हवाई सेवा सञ्चालन हुनुले पनि होटेलमा लागनी गर्न व्यवसायीहरूलाई उत्साहित बनाएको स्टे भ्याली भ्यू होटलका सञ्चालक तर्क शाहीको तर्क छ । उनी भन्छन्, ‘होटल व्यवसाय हाम्रो पुख्र्यौली पेशा पनि हो । प्रदेश राजधानी भएयता हामीले होटेल व्यवसायमा लगानी थपेका हौं ।’

सुर्खेतमै १४ सय ४३ होटेल

पछिल्लो सुर्खेतमा साना–ठूला गरी एक हजार चार सय ४३ वटा होटल तथा रेष्टुरेन्टहरू सञ्चालनमा छन् । श्रेणी क्रममा रूपमा ती मध्येस्तरीय होटल–रेष्टुरेन्टहरूको संख्या एकदमै न्यून छ । होटल व्यवसायी महासंघ सुर्खेतमा आवद्धमध्ये नौं वटा होटल–रेष्टुरेन्टलाई स्तरीय रूपमा वर्गीकरण गरिएको छ । जसमध्ये होटल भ्याली भ्यु, नमस्ते नेपाल, जियाना रेष्टुरेन्ट, शुभ होटल, बुलबुले भ्यु होटल, होटल ए.याम प्लाजा, चकटी लाउन्ज र सिद्वार्थ शनी रिसोर्ट ‘क’ श्रेणीमा छन् । यसैगरी ५६ वटा होटल तथा रेष्टुरेन्ट ‘ख’ श्रेणीका छन् । जसमध्ये सम्राट गेष्ट हाउस, पुरानो माछापुच्छ्रे होटल, दर्शन होटल रेष्टुरेन्ट एण्ड लज लगायतका छन् । बाँकी एक हजार तीन सय ७९ वटा होटल तथा रेष्टुरेन्ट ‘ग’ वर्गमा पर्ने होटल व्यवसायी महासंघ सुर्खेतले
जनाएको छ ।

आझै स्तरीय होटलको खाँचो

होटलमा लगानी बढे पनि स्तरीय होटलको अँझै खाँचो रहेको देखिन्छ । खाद्य तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक भेषबहादुर थापाका अनुसार होटल व्यवसायीहरूले खाद्य स्वच्छतामा ध्यान दिन सके स्तरीय होटलहरूको संख्यामा वृद्वि गर्न सकिन्छ । उनले भने, ‘लगानीकर्ताहरूलाई खाद्य स्वच्छतासम्बन्धी निर्देशिका बमोजिम काम गरे यसको भविष्य अझै उज्वल छ ।’ उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी खाद्य स्वच्छता कायम गर्न सके होटल तथा रेष्टुरेन्टहरूको स्तरीकरणमा वृद्वि गर्न सकिने उल्लेख गरेका थापाका अनुसार खाद्य स्वच्छताको मूल्यांकनका आधारमा सुर्खेतमा गुणस्तरीय होटल तथा रेष्टुरेन्टहरूको संख्या अझै न्यून छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

न्यायको आशमा दश वर्ष

४ पुष २०७६, शुक्रबार ०७:५९
२३ फागुन २०६६ मा बाँसपानी कालिकास्थानमा उनीहरु जङ्गलमै बास बसेका थिए । बर्दिया राष्ट्रिय निकुञ्जका चारजना वनरक्षक र निकुञ्जको सुरक्षार्थ खटिएका ज्वाला दल गणका सहसेनानी सुवोध कुँवरको नेतृत्वमा पुगेको १७ जनाको टोलीले गाउँले सुत्ने तयारी गरिरहेका बेला हवाई फायरिङ गरेपछि पुरुष भागेका थिए भने महिला ओढारको ढुङ्गामा लुकेका थिए । महिला लुकेको स्थानमा पुगेका सेना र वनरक्षकको टोलीले उनीहरूलाई घेरा हालेर नियन्त्रणमा लिई हत्या गरेको पीडितको आरोप छ ।

सम्बन्धित शीर्षक