कर्णालीका कृषि अनुसन्धानमै छैनन्; वैज्ञानिक आधाभन्दा बढी जनशक्ति अभाव

कर्णालीपत्र संवाददाता १ पुष २०७६, मंगलवार १२:२०

चन्द्रा कँडेल
सुर्खेत । कृषि क्षेत्रका विभिन्न विषयमा अध्ययन अनुसन्धान गर्न कर्णालीका ६ स्थानमा खोलिएका कृषि अनुसन्धान केन्द्रमै वैज्ञानिक अभाव भएको छ । ती केन्द्रमा जम्मा २६ जना दरबन्दीमध्ये हाल ६ जनाले मात्र काम चलाई रहेका छन् । त्यस्तै केन्द्रमा आधाभन्दा बढी अन्य जनशक्तिको अभाव देखिएको छ । कृषि, पशु, बागबानी र माटो परीक्षणलगायत आवश्यक पर्ने वैज्ञानिक र प्राविधिक जनशक्ति नहुँदा अनुसन्धान कार्य प्रभावित भएको छ ।

कर्णालीका ६ वटा अनुसन्धान केन्द्रमा जम्मा एक सय ४८ जना कर्मचारी दरबन्दी मध्ये हाल जम्मा ६६ जना मात्र कार्यरत रहेको सम्बन्धित केन्द्रहरुले जनाएका छन् । जुम्लाको गुठीचौरमा २०२७ सालमा स्थापना भएको भेडा तथा बाख्रा अनुसन्धान केन्द्रमा स्थापना भएकोे पाँच दशक बितिसक्दा पनि दरबन्दी अनुसारका वैज्ञानिक नआउँदा सबै अनुसन्धानका कामहरु प्रभावित भएका छन् । कृषि उत्पादनलाई वृद्धि गर्दै जीविकोपार्जनमा सुधार ल्याउन व्यवसायिक भेडाबाख्रा पालनका लागि उन्नत जातका भेडाबाख्रा उत्पादन गर्ने लक्ष्यका साथ स्थापना भएको सो केन्द्रमा जम्मा २२ जना दरबन्दी रहेकोमा हाल १० जनामात्र कार्यरत छन् ।

भौगोलिक विकटतासँगै अन्य सुविधा नभएकाले अहिलेसम्म केन्द्रमा आएका कुनै कर्मचारी पाँच महिनाभन्दा बढी नबसेको प्रशासकीय अधिकृत कमलप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार केन्द्रले वैज्ञानिक तथा प्राविधिक अधिकृतको अभावमा आवश्यकता अनु्सार क्रस गराएर उन्नत जातको भेडाबाख्रा उत्पादन गर्न सकेको छैन । कर्णालीको हिमाली जिल्लामा पशुपालनको सम्भावना देखेर जुम्लामा सरकारले सो अनुसन्धान केन्द्र स्थापना गरेको थियो । केन्द्रमा सधै जसो आवश्यक वैज्ञानिकको दरबन्दी रिक्त हुँदा सरोकारवाला निकायले चासो नदिएको भण्डारीको भनाई थियो । केन्द्रमा चार जना वैज्ञानिकको दरबन्दी रहे पनि हाल एक जनामात्र कार्यरत रहेको प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिए ।

जुम्लामै स्थापना गरिएको बागवानी अनुसन्धान केन्दले पनि स्थापनाकालदेखिनै कर्मचारी अभाव झेल्दै आएको छ । फलफूल तथा तरकारीबालीको अनुसन्धानका लागि स्थापित सो केन्द्रमा हाल १८ दरबन्दीमध्ये जम्मा ११ जनामात्र कार्यरत रहेको सो कार्यालयले जनाएको छ । जसमा ३ जना वैज्ञानिकमध्ये वर्षोदेखि एक जनामात्र कार्यरत छन् । कर्णालीमा स्याउ खेतीलाई प्रोत्साहन गर्ने उन्नत जातको बीऊबिजन उत्पादन गर्ने लक्ष्यका साथ स्थापना गरिएको सो केन्द्रमा आवश्यक दरबन्दी नहुँदा अनुसन्धानमा प्रभावित भएको वैज्ञानिक राजकुमार गिरीले जानकारी दिए ।

अदुवा र बेसारमा लाग्ने रोग, किरा र माटोको अनुसन्धान गर्न सल्यानमा स्थापित अदुवाबाली अनुसन्धान केन्द्रमा लामो समयदेखि चार जना वैज्ञानिक दरबन्दी रिक्त छ । हाल सो केन्द्रमा एक जना वैज्ञानिकले मात्र काम चलाउदैं आएका छन् । केन्द्रका प्रमुख वरिष्ठ वैज्ञानिक डाक्टर सुमित अहमदले मुख्य चार जना अनुसन्धान विज्ञ नहुँदा अनुसन्धान कार्यनै प्रभावित भएको बताए । लामो समयदेखि रिक्त रहेको दरबन्दी पूर्तिका लागि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लगायत सम्बन्धित निकायमा जानकारी गराए पनि सुनुवाई नभएको उनको गुनासो थियो ।

त्यस्तै कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लामा तीन जना वरिष्ठ वैज्ञानिकको दरबन्दी खाली भएको एक दशकभन्दा बढी भइसकेको छ । हाल एक जना वैज्ञानिकले मात्र काम चलाउँदै आएका छन् । जनशक्ति अभावले अवस्था बिजोग रहेकोे प्रतिष्ठानका प्राविधिक सहायक मुकेन्द्र उपाध्यायले जानकारी दिए । यो केन्द्रमा १९ जना दरबन्दी रहेको छ ।

दैलेखको बागवानी अनुसन्धान केन्द्र किमगाँउ ३५ जनामध्ये हाल २२ जनामात्र कार्यरत छन् । केन्द्रमा रहेको दरबन्दीमध्ये वरिष्ठ वैज्ञानिक, वैज्ञानिक र प्राविधिक गरी हाल दश वटा महत्वपूर्ण पद रिक्त छन् । लामो समयदेखि दरबन्दी अभाव हुँदा अनुसन्धान कार्यमा बाधा परेको र लक्ष्य अनुसार काम गर्न नसकिएको केन्द्रका प्रमुख डाक्टर विनोद लुर्इँटेलले जानकारी दिए ।

२०३४ सालमा सुर्खेतको दशरथपुरमा स्थापित कृषि अनुसन्धान केन्द्रमा पनि कर्मचारी अभावको समस्या उस्तै छ । केन्द्रमा जम्मा ३५ जना दरबन्दीमध्ये १८ जना कार्यरत छन् । दरबन्दी पूर्ति हुन नसेका अधिकांश पद वैज्ञानिक र कृषि प्राविधिक रहेको केन्द्रका प्रमुख बन्धुराज बरालले जानकारी दिए । अन्नबाली, तरकारी र फलफूलको विषयमा अध्ययन अनुसन्धान गरी उन्नत जातका कृषि उत्पादनको सिफारिस गर्ने सो केन्द्रमा आवश्यक दरबन्दी नहुँदा काम प्रभावकारी हुन नसकेको केन्द्रका प्रमुख बरालले बताए ।

बीऊ बिक्री भएन

कृषि अनुसन्धान केन्द्र दशरथपुर सर्खेतले उत्पादन गरेको उत्पादित बीऊ बिक्री नभएको सो केन्द्रले जनाएको छ । केन्द्रले २०७५÷०७६ मा उत्पादन गरेको ६ सय आठ मेट्रिक टन धानको बीऊमध्ये एक सय पाँच मेट्रिक टन बिक्री नभएको केन्द्रका प्रमुख बन्धुराज बरालले जानकारी दिए । त्यस्तै यस आर्थिक वर्षमा उत्पादन भएको नौं सय नौं मेट्रिक टन गहुँको बिऊमध्ये आठ मेट्रिक टन बीऊ बिक्री नभएको उनको
भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बनगाड कुपिण्डे नगरपालिकाको छैठौं नगरसभा

१ पुष २०७६, मंगलवार १२:२०
नगरसभाले विधान समिति संयोजक पुरुषोत्तम आचार्यले पेस गरेको स्थानीय राजपत्रमा प्रकाशित हुने गरी स्थानीय राजपत्र प्रकाशन कार्यविधि २०६७ र बनगाड कुपिण्डे नगरपालिका न्यायिक समिति कार्यविधिसम्बन्धी २०६७ ऐन पारित गरेको छ । त्यस्तै नगरसभामा चालू आवका लागि ५२ करोड ८१ लाख ३८ हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको छ ।