जडिबुटी खोज्न गएका १३ जना बेपत्ता

कर्णालीपत्र संवाददाता ३० मंसिर २०७६, सोमबार १३:१३

सुर्खेत । जुम्लामा जडीबुटी खोज्न गएका स्थानीय १३ जना बेपत्ता भएका छन् । तिला गाउँपालिका–९ स्थित शेरा फूलबारी पाटनमा जडिबुटी संकलन गर्न गएका १३ जना बेपत्ता भएको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए । बिहीबार जडिबुटी संकलनका लागि गएकाहरु आइतबार साँझसम्म पनि सम्पर्कमा नआएको वडाध्यक्ष बोहोराले बताए । उनका अनुसार बेपत्ता हुनेमा तिला गाउँपालिका–९ ढिपु गाउँका धनबहादुर बोहोरा, छविराज बोहोरा, जंग रावत, सुमबहादुर बोहोरा, नरवीर बोहोरा, तुलु बोहोरा, ननिलाल रावत, सूर्य रावत, कल्पना बोहोरा, लाउरी बोहोरा, रेश्मा बोहोरा, मनमाया बोहोरा र नरबहादुर बोहरा रहेका छन् ।

वडाध्यक्ष बोहोराका अनुसार उद्दारका लागि पहल गरिदिन स्थानीय प्रशासनलाई आग्रह गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दवेन्द्रप्रसाद श्रेष्ठका अनुसार बेपत्ता भएकाहरुको उद्दारका लागि गृहमन्त्रालयमा जानकारी गराइएको छ । उनले उद्दारका लागि गृहमन्त्रालयलाई हेलिकोप्टरको व्यवस्था गीरदिन आग्रह गरिएको बताए ।

चिसोले कठ्याँङ्ग्रिएर एकको मृत्यु

यो घटनासँगै पाटनदेखि सेतक चिनी ल्याएर आएका एक खच्चर गोठालाको आइतबार मृत्यु भएको छ । तिला गाउँपालिका ६ नेटा भन्ने ठाउँमा चिसोले कठ्याँङ्ग्रिएर तिला गाउँपालिका ९ का बिनबहादुर बोहोराको मृत्यु भएको हो । पाटनबाट घर फर्कने क्रममा उनको बीचबाटोमै मृत्यु भएको वडाध्यक्ष बोहोराले बताए । उनका अनुसार मृतक बोहोरासँगैका चार जना खच्चर गोठाला सकुशल फर्केका छन् । मृतकको शव लिन स्थानीय त्यसतर्फ गएका छन् । तर भारी हिमपातका कारण शव खोज्न कठिन भएको वडाध्यक्ष बोहोराले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आयोग मुचुल्का उठाउनमै सीमित; मुख्यमन्त्री शाही

३० मंसिर २०७६, सोमबार १३:१३
‘परम्परागत रुपमै ठूला वर्गीय, सामाजिक अन्तरद्वन्द्व भएको कर्णाली प्रदेशमा मानवअधिकार आयोगले यसलाई कम गराउन सचेतनात्मक सहजीकरण गर्नुपर्छ ।’