कापी, कलम जोहो गर्ने सपना नाकामै रोकियो

कर्णालीपत्र संवाददाता ३० मंसिर २०७६, सोमबार १३:०९

सुर्खेत । सिंजा गाउँपालिका—३ नराकोटका ९ वर्षीय दलसिंह सार्की गाउँमै भएको भैरव माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत विद्यार्थी हुन् । गएको मंसिर २२ गते वार्षिक परीक्षा सकाएका उनले विद्यालय बन्द हुने पुस, माघ र फागुन महिनामा पेट पनि पाल्ने र आफूलाई लुगाफाटो पनि ल्याउने भन्दै एकै विद्यालयको माथिल्लो कक्षामा अध्ययनरत दाइहरूको सल्लाहमा गएको बिहीबार बिहानै काला पहाड (भारत) का लागि जुम्लाबाट बस चढे । गाउँकै अन्य १८ जनासँगै रमाइलो मानेर गएका उनी शुक्रबार बेलुका नेपालगञ्ज पुगे ।

नेपालगञ्ज पुग्ने बित्तिकै साथीको फोनबाट जुम्ला घरमा भएकी आमासँग कुरा गरेका दलसिंहले कक्षा १ मा पास भएको खबर पाए । खबरले उत्साहित भएका उनले कालापहाडबाट आउँदा कक्षा २ मा पढ्न वर्षभरी आवश्यक पर्ने कापी र कमल ल्याउने योजना थपे । पहिलो पटक नेपालगञ्ज पुगेको रमाइलोसँगै कक्षा १ मा पास भएको उत्साहले प्रफुल्लित उनले साथीहरूसँग शनिबार मध्यान्नसम्म नेपालगञ्जको बजार घुमे । निकै खुशीले २ वटा अटोरिक्सामा दिउँसो १ बजे धम्बोजी चोकबाट जमुनाहा लागेका बालकहरूको खुशी एक घण्टा पनि टिकेन । कारण उनीहरूलाई नेपाल र भारतको सीमाना जमुनाहामा प्रहरीले रोक्यो ।

तत्कालै जमुनाहाबाट फर्काएर उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा ल्याइएको थियो । सिविन नेपाल, शक्ति समूह र नेपाल प्रहरीको महिला तथा बालबालिका सेलले उनीहरूलाई सम्झाएर अभिभावककै रोहबरमा आइतबार घर फिर्ता पठाएको सिविन नेपाल बाँकेका प्रमुख सिद्धराज पनेरूले जानकारी दिए ।

प्रहरीले घर फर्काउने निर्णय गरेपछि हिउँदको तीन महिना काला पहाड गएर लुगाफाटो कमाउने आफ्नो योजना रद्द भएको बालबालिकाहरूले बताएका छन् ।

‘हिउँदमा घर बसौ भने खानेकुरा पनि हुँदैन ।’ दाई पर्ने शक्ति सार्कीसँग गएका दलसिंहले भने, ‘कालापहाडमा भएका जेठाबाले आउनु कापी, किताब लिएर जानु भन्नु भएको थियो ।’ प्रहरीले फिर्ता पठाएपछि आफूलाई आगामी फागुनदेखि शुरु हुने नयाँ शैक्षिक शत्रको पढाईमा विद्यालयको ड्रेस र कापी कलम कसरी जोहो गर्ने भन्ने समस्याले सताएको कक्षा ८ मा अध्ययनरत धनबहादुर सार्कीले बताए । ‘हामीहरू हरेक वर्ष विद्यालयमा वार्षिक परीक्षा सकिने बित्तिकै हिउँदको महिना काम गर्न काला पहाड जान्छौं । फागुनमा स्कुल लाग्ने समयमा कापी, कलम र कपडा ल्याएर फेरि आउँछौं ।’ कक्षा ५ का राकेश सार्कीले भने, ‘काला पहाड जानु हाम्रो रहर होइन बाध्यता हो सर !’ उनले भने ‘म त तीन वर्षदेखि लगातार जाँदै आउँदै गरेको छु ।’

प्रहरी र बालबालिका क्षेत्रमा काम गर्ने सामाजिक संघसंस्थाको सहयोगमा भारत जानबाट १९ बालकलाई रोकेपछि उनीहरूलाई लिन सात जना अभिभावकसमेत नेपालगञ्ज आएका थिए । नेपाल प्रहरीको महिला तथा बालबालिका सेलले उनीहरूका अभिभावकसँग घर फर्काउने कागजात गरेर शनिबार जिम्मा लगाएको छ । कमाउन कालापहाड जाने बालबालिकामा सिंजा गाउँपालिका–३ जुम्लाका ९ वर्षका दलसिंह सार्की, १२ वर्षका लक्ष्मण सार्की र शंकर सार्की, १३ वर्षका राकेश सार्की, १४ वर्षका टीका सार्की र कमल सार्की, १५ वर्षका महेश सार्की, १६ वर्षका लोकेन्द्र सार्की, जगत सार्की, करण सार्की, रवि सार्की, अर्जुन सार्की, रंग सार्की, अहेमान बुढा, हिमाल सार्की, एकराज सार्की, १७ वर्षका शक्ति सार्की, धनबहादुर सार्की र हरि सार्की रहेका छन् ।

पेट पाल्न पठायौं– अभिभावक

समूह बनाएर कालापहाड गएका बालबालिकाहरूलाई हिउँदको तीन महिना पेट पाल्न पठाएको उनीहरूका अभिभावकहरूले बताएका छन् ।

‘उमेरले सानो भए पनि घरमा के खाउँ भन्ने समस्या छ सर, छोरी र मैले पनि अरुकै काम गरेर छाक टार्छौं ।’ ९ वर्षीय दलसिंहकी आमा सिद्ध सार्कीले कर्णालीपत्रसँग भनिन्, ‘उसका साथी गया, सँगै जाने रहर गरेपछि १ हजार ५ सय गाडी भाडा दिएर पठाएँ ।’

घरको आर्थिक अवस्था कमजोर भएकै कारण आफ्नो छोरा शक्ति सार्कीले १७ वर्षमा ६ कक्षासम्म मात्रै पढेको जानकारी दिएकी उनकी आमा राजकन्य सार्कीले कालापहाडमा स्वीटर, कम्मल र सल बेच्न गएका आफ्ना बुवासँग जान भनेर पठाएको बताइन् ।

हिउँदमा बसेर खाने दिनमा पेट पनि पालिने र आफूलाई किताब, कापी पनि ल्याउने भनेर गाउँकै साथीसँग ३ हजार रुपैयाँ गाडी भाडा दिएर पठाएको उनलेबताइन् । टिक सार्कीकी आमा कौशीला सार्कीले सल्लाहले नै छोरालाई पठाए पनि प्रहरीले फिर्ता गरि दिएकोमा असन्तुष्टि व्यक्त गरिन् ।

फिर्ता पठाउने भए हाम्रा बच्चालाई कापी, किताब र लुगाफाटो पनि किनेर दिनुपर्छ ।’ उनले भनिन्, ‘हामी त अर्को बाटो भए पनि बच्चाहरूलाई कालापहाड नपठाई छोड्दैनौं ।’ सबै बालबालिकाका अभिभावकहरूले आफन्तबाटै सापटी मागेर भए पनि १ हजार ५ सयदेखि ३ हजार रुपैयाँ भाडा दिएर सल्लाहमै पठाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जडिबुटी खोज्न गएका १३ जना बेपत्ता

३० मंसिर २०७६, सोमबार १३:०९
तिला गाउँपालिका–९ स्थित शेरा फूलबारी पाटनमा जडिबुटी संकलन गर्न गएका १३ जना बेपत्ता भएको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए ।