सरकारी सर्वेक्षण भन्छ; कर्णालीका ६८ प्रतिशत प्रयोगकर्ता पिउन अयोग्य मदिरा पिउँछन्

कर्णालीपत्र संवाददाता २९ मंसिर २०७६, आईतवार ०६:३९

चन्द्रा कँडेल

सुर्खेत । कर्णालीका ६८ प्रतिशत प्रयोगकर्ताले पिउन अयोग्य मदिरा (रक्सी) प्रयोग पिउने गरेको एक सरकारी सर्वेक्षणले देखाएको छ । विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको ‘नेपालमा नसर्ने रोग सम्बन्धी जोखिम तत्वको सर्वेक्षण २०१९’ ले यस्तो देखाएको हो ।

नयाँ संविधानअनुसार गाउँगाउँमा सिंहदरबारको स्थापना भएका बेला कर्णाली प्रदेशमा यस्तो गम्भीर प्रकारको अवस्था रहेको सरकारी सर्वेक्षणले नैं निचोड निकालेको हो । शुक्रबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको सरकारी सर्वेक्षण भन्छ, ‘हाल मध्यपान सेवन (बितेको ३० दिनमा) गर्ने मध्ये, बितेको ७ दिनभित्रमा छिमेकी देश/अन्य देशबाट किनेको वा पिउनलाई अयोग्य वा कर नतिरेको मादक पदार्थ पिउनेको प्रतिशत कर्णालीमा ६७ दशमलव ७ छ ।’

‘कर्णालीका अधिकांश हिमाली गाउँहरूमा घरमै मदिरा (रक्सी) बनाउने र त्यही प्रगोग गर्ने भएकाले सर्वेक्षणले यस्तो तत्थ्यांक देखाएको हो ।’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद् काठमाडौंका अनुसन्धान शाखा प्रमुख डा. मेघनाथ धिमालले भने, ‘छिमेकी देशका नाकाबाट समेत खुल्ला रक्सी भित्रिने गरेकाले यस्तो देखिएको हो ।’ अन्तः शुल्कको स्टिकर नटाँसिएको घरेलु रक्सी राष्ट्रिय गणनामा पनि नआउने उल्लेख गरेका धिमालले थपे, ‘यस्तो मदिराको प्रयोगले सबभन्दा ठूलो समस्या यसमा मापदण्डभन्दा बढी विषादी मिसाइएको हुन्छ । जसले मानव स्वास्थ्यमा निकै गम्भीर प्रकारको असर पार्छ ।’

कर्णालीमा अवैध रक्सी प्रयोग गर्नेको संख्या निकै डरलाग्दो भएको उल्लेख गरेका सर्वेक्षणमा संलग्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान अधिकृत बिहंगम विष्टका अनुसार प्रदेशका अधिकांशले घरेलु रक्सी सेवन गर्ने गरेकाले अवस्था यस्तो देखाएको हो । कर्णाली संसारमै अवैध रक्सी सेवन गर्नेको प्रदेशको सूचिमा पर्छ’ अनुसन्धान अधिकृत विष्टले भने, ‘जुन मानव स्वास्थ्यका हिसाबले समेत निकै घातक छ ।’ ‘रक्सी सेवन गर्नु आफैमा घातक होइन ।’ विष्टले भने, ‘विश्वमा घरेलु रुपमा तयार पारेको रक्सी प्रयोग गर्नेको संख्या २५ प्रतिशत छ । यसले मानव स्वास्थ्यमा भयाबह अवस्था सिर्जना हुन सक्नेतर्फ बहस केन्द्रित भएको बेला कर्णालीको पछिल्लो तत्थ्यांकले हामीलाई जिब्रो टोक्ने बनाएको छ ।’ हरेक गाउँमा स्थानीय सरकार र प्रदेशस्तरमा प्रदेश सरकार भएको अवस्थामा यस्तो अवस्थालाई तत्काल सुधार्नतर्फ सबै निकायले लाग्नु पर्नेमा उनले जोड दिए ।

सर्वेक्षणले कर्णालीमा २९ दशमलव ७ प्रतिशतले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको देखाएको छ । सन् २०१९ को फेबु्रअरीदेखि मे महिनासम्म गरेको सर्वेक्षणले कर्णालीमा धुमपान गर्नेको संख्या २० दशमलव ६० प्रतिशत र भने १६ दशमलव ३० प्रतिशतले दैनिक रुपमा धुमपान गर्ने गरेको देखाएको छ ।

९७ प्रतिशतले मापदण्ड अनुसार फलफूल/तरकारी खाँदैनन्

सर्वेक्षणले विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड अनुसार कर्णालीका निकै थोरैले मात्रै फलफूल खाने गरेको देखाएको छ । ‘औसतमा १ दिनमा ५ सर्भिङभन्दा थोरै फलफूल÷तरकारी खानेको प्रतिशत ९६ दशमलव ९ प्रतिशत छ ।’ अध्ययन प्रतिवेदन भन्छ, ‘जसका कारण कर्णालीमा हरेक दिन बिरामीको संख्या बढ्ने गरेको छ ।’

हरेक दिन प्रत्येक व्यक्तिले ४ सय ग्राम फलफूल र तरकारी खानु पर्ने विश्व स्वास्थ्य संगठनको मान्यता छ । अनुसन्धान अधिकृत विष्टले भने, ‘तर कर्णालीमा मुस्किलले १ सय ९ ग्राम मात्र फलफूल र तरकारी खाने गरेको पाइयो ।’

५९ प्रतिशत मानसिक रोगी

कर्णालीमा कुल जनसंख्याको ५९ दशमलव ५० प्रतिशमा व्यक्तिमा मानसिक रोग भएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनले देखाएको छ । भर्खरै गरेको अध्ययन प्रतिवेदनले घरमा हुने तनावका कारण ६३ दशमलव ५० प्रतिशतमा मानसिक समस्या देखिएको छ भने दिउँसोका काम तथा व्यवसाय सम्बन्धी तनावका कारण ५९ दशमलव ५० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या देखिएको उल्लेख गरेको छ । यसैगरी विगतका तनावपूर्ण घटनाका कारण उत्पन्न हुने तनावले १३ दशमलव ५० प्रतिशतमा मानसिक समस्या देखा परेको परिषद्का अनुसन्धान अधिकृत विष्टले जानकारी दिए ।

खराब जीवनशैलीले रोगी बढे

व्यक्तिको खराब जीवनशैलीले रोगीहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको निष्कर्ष उक्त सर्वेक्षणले निकालेको छ । अत्यधिक धूमपान÷मध्यपान गर्नु, अल्छी गर्नु अर्थात् शारीरिक व्यायाम नगर्नु, मिसावट भएका बढी खानेकुरा खाने गर्नाले कर्णालीमा पछिल्लो समय रोगीको संख्यामा वृद्धि हुँदै गएको अनुसन्धान परिषद्का डा. मेघनाथ धिमालले बताए । उनले भने, ‘अहिले कर्णालीको खानपान र जीवनशैलीमा सुधार नगरेकै कारण उच्च रक्तचाप, मधुमेह, दम, पक्षघात जस्ता रोगका बिरामीहरूको सख्या बढेको देखिन्छ ।’ आफ्नो जीवनशैलीमा हेलचक्राई गर्नुनै यसको प्रमुख कारण रहेको ठहर अध्ययनले निकालेको उनले जानकारी दिए ।

अन्य प्रदेशका तुलनामा कर्णालीमा अत्यधिक रक्सी सेवनले कम्तीमा २ सय प्रकारका रोग लाग्ने गरेको देखियो ।’ डा. धिमालले भने, ‘धूमपान, खैनी, गुट्का, पानजस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नेको संख्या अधिक भएकै कारण कर्णालीमा श्वासप्रश्वास, फोक्सको क्यान्सर, मुखको क्यान्सर, दम, मधुमेहलगायतका जटिल स्वास्थ्य समस्या भएका रोगीको संख्या बढी छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रचण्डसहित शीर्ष नेता सुर्खेत आउँदैँ

२९ मंसिर २०७६, आईतवार ०६:३९
बैठक र भेलालाई सम्वोधन गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वामदेव गौतम , ईश्वर पोखरेल र विष्णु पौडेललगायतका नेताहरु आउने भएका छन् ।