स्वास्थ्य संस्थामा सुत्केरी भए ४८ सय

कर्णालीपत्र संवाददाता २८ मंसिर २०७६, शनिबार १३:१९

चन्द्रा क“डेल
सुर्खेत । नियमित गर्व जाँच गराउने स्वास्थ्य संस्थामै सुत्केरी हुने कर्णालीका सुत्केरीले अब ४ हजार ८ सय रुपैयाँ पाउने भएका छन् ।

कर्णाली प्रदेश सरकारले स्वास्थ्य संस्थामा प्रसूति हुने महिलालाई पोषण बापत थप दुई हजार रकम दिनेभएपछि सुत्केरी महिलाले पाउने रकम ४ हजार ८ सय रुपैयाँ भएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयले यही (मंसिर) महिनादेखि लागू गरेको ‘सुत्केरी पोषण कोसेली’ कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई पोषणबापत रु दुई हजार रकम प्रदान गर्ने व्यवस्था गरेको हो ।

यो व्यवस्थासंगै कर्णाली प्रदेशका स्वास्थ्य संस्थामा प्रसूति हुन आउने महिलाले रु चार हजार ८ सय रुपैयाँ पाउने भएका छन् । यसअघि स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाले यातायातबापत दुई हजार र चार पटक गर्भ जाँच गरेबापत ८ सय रुपैयाँ सघिय सरकार मार्फत पाउँदै आएको थिए ।

कर्णालीका महिलाहरू अझै पनि घरमै सुत्केरी हुने गरेको भन्दै स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउन प्रोत्साहन स्वरुप प्रदेश सरकारले सुविधा थपेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधी वाग्लेले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षको साउन एक गते देखिनै सुत्केरी भएका महिलाहरूलाई यो रकम प्रदान गरिने भएको छ ।

‘कर्णालीमा रहेका विपन्न गरीब महिलालाई पोषणमा केही राहत होस् भन्नका लागि कार्यक्रम ल्याएका हौँ ।’ सामाजिक विकासमन्त्री दल रावलले भने, ‘स्वास्थ्य संस्थामा प्रसूति हुन महिलाहरूलाई प्रोत्साहन स्वरुप यो कार्यक्रम ल्याइएको हो ।’ पोषण भत्ताले गर्दा स्वास्थ्य संस्थामा प्रसूति हुन आउन महिलालाई प्रोत्साहन गर्नेछ र मातृ मृत्यु दरमा कमी गर्न सकिन्छ भन्ने कार्यक्रमको उद्देश्य रहेको उनको भनाई छ । सामाजिक विकास मत्रालयउका स्वास्थ्य महाशाखाका प्रमुख वृषबहादुर शाहीले यस कार्यक्रमअन्तर्गत स्थानीय तहका स्वास्थ्य संयोजकमार्फत रकम पठाउने र स्वास्थ्य संस्थालाई प्रदान गरिने छ । उनले भने, ‘यस कार्यक्रम गर्न चालु आर्थिक वर्षमा मन्त्रालयले चार करोड बजेट छुट्याइएको छ ।’
सुत्केरी महिलालाई प्रदेश सरकारले उपलब्ध गराएको पोषणवापतको थप दुई हजार रुपैयाँ सुर्खेत स्थित प्रदेश अस्पतालले भने सबैलाई नदिने जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख वाग्लेले जानकारी दिए । उनका अनुसार प्रदेश अस्तपतालमा स्त्केरी भएका गरिब र विपन्न महिलालाई मात्र यो रकम प्रदान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

E-paper (2076-08-29)

२८ मंसिर २०७६, शनिबार १३:१९