महिनावारी महिला भन्छन् ; पशुभन्दा तलको व्यवहार

कर्णालीपत्र संवाददाता २८ मंसिर २०७६, शनिबार १३:०२

जाजरकोट । जुनिचाँदे गाउँपालिका–८ की काली खड्काले महिनावारी हुँदा ६ दिनसम्म घरको चुलो देख्न पाइनन् । घरमा छाउगोठ नभएपछि उनले ५ रात गाईभैंसी बाँध्ने गोठमै बिताउनुप¥यो । गोठमा बस्दा गाई, भैंसीको मलको गन्ध र धुलौले फोहोर सँगै सुत्नुपर्दा उनलाई निकै गाह्रो हुन्छ । अहिले उनलाई महिनावारीको समय सम्झदा पनि निकै डर लाग्छ ।

बारेकोट गाउँपालिका–४ जिरीकी रतनकला रावलको पीडा पनि कम छैन । जिल्लाको सबै भन्दा चिसो ठाउँका रुपमा चिनिने जिरीमा महिनावारीको समयमा चिसोले काप्दै गोठमा बस्नु पर्दा उनी कुनै दिन पनि निदाउदिनन् । एकसरो कपाडाले हिउँदे जोडो नछेल्दाको बाह्या चिसो र खुला गोठमा एक्लै बस्दा हुने मनको जाडोले रातभर जाग्राम बसेका सयौ दिनको अनुभव उनीले सँगालेकी छन् ।

काली र तरनकला त महिनावारीको समयमा गोठमा बस्दा पीडा पाएका प्रतिनिधि पात्र मात्रै हुन् । यस्ता अवस्थामा घरमा बस्दा देवता रिसाउँछन् भन्ने कथित सामाजिक परम्पराका कारण महिनावारी भएको दिनदेखि कम्तिमा ६ दिनसम्म घरदेखि बाहिर गोठमा पशुवस्तुसँग बस्नु पर्दाको पीडा प्रायः कर्णालीका महिलाहरूको पाइरहेका छन् । दैनिक गाउँका २० भन्दा बढी महिलाहरूको महिनावारीकै कारण घर बाहिर बास हुँने गरेको छ । देवता रिसाउने भन्दै घरको मुख्य ठाउँमा जान नदिएका कारण आफहरू महिनावारी हुँदा गाई, भैसी बाँध्ने गोठमा सुत्न बाध्य भएको उनीहरूको भनाइ छ ।

महिनाबारी भएर गोठमा सुत्दा निकै ठूलो याताना दिएकोभन्दा बढी पीडा हुने गरेको अनुभव जुनिचाँदे गाउँपालिका–८ की काली खड्काले गरेकी छन् । उनी भन्छन, ‘घरको सबै सुत्ने ठाउँमा हामीलाई बस्न दिएदैन् । देवता रिसाउने र अनिष्ट हुने अन्धविश्वासका कारण हामी गोठमा सुत्न बाध्य छौ ।’

महिनावारी हुँदा देवी, देवतीका मन्दिर, खानेपानीको धारा, फलफूलको बिरुवासम्म छुन नमिल्ने हुँदा समस्य हुँदै आएको छ । परम्पराकै रुपमा जरोगाडेर बसेको छुवाछुत प्रथाका कारण यहाँका सयौँ महिलाहरु दुख पाउँदै आएका छन् । धामी–झाँक्री र देउताका मठमन्दिर रहेका घर, परिवारका महिलाहरु महिनावारी हुँदा थप समस्या हुने गरेको छ ।

तातो मौसममा महिनावारी हुँदा खास समस्या नभएपनि चिसो मौसममा सबैभन्दा ठूलो कष्ट भोग्नु परेको बारेकोट गाउँपालिका–४ जिरीकी रतनकला रावले बताइन् । उनले भनिन् ‘गाउँको सामाजिक परम्पराका कारण हामीहरू वर्षौदेखि महिनावारी (छुई) भएको समयमा घर बाहिर बस्नु परेको छ ।’ कुकुर र बिरालो घरभित्र पस्दा आफू बाहिर बस्नु पर्दा निकै मन रुने उल्लेख गरेकी रावलले त्यतिखेर त आफू किन महिला भएर जन्मिनु परेको होला भन्दै ग्लानी महशुस समेत हुने गरेको बताइन् ।

महिनावारी भएका महिलाले जङ्गलबाट काटेर ल्याएको घाँस गाईलाई खुवाउन हुने तर महनिावारी भएको बेला गाईको दूध, दही र मही खानबाट बञ्चित गर्ने प्रचलनले आफूहरू पशु भन्दा पनि तलको झै लाग्ने गरेको स्वयम् महिलाहरूले नै बताउने गरेका छन् ।

प्रयोग गर्ने कपडाकै समस्या

महिनावारी हुँदा प्रयोग गर्ने कपडा सजिलै गाउँमा नपाउँदा दुर्गमका महिलाहरूलाई समस्या हुँदै आएको छ । गाउँका महिलाहरू महिनावारी भएका बेला पुराना कपडा च्यातेर प्रयोग गर्दा उनीहरूको स्वास्थ्यमा समेत समस्या हुने गरेको अनुभव शिक्षिका रामकुमारी बोहोराको छ । बोहोरा भन्छिन्, ‘दुर्गमका गाउँमा सेनेटरी प्याड नपाइने भएकाले पुराना कपडा प्रयोग गर्नुपर्ने बाध्यता
महिलालाई छ ।’

छात्राहरू विद्यालय आउनै समस्या

महिनाबारीको समयमा प्रयोग गर्ने प्याड नहुँदा विद्यालयमा अध्यनरत छात्राहरूलाई विद्यालय आउनै समस्या भएको छ । प्याड नभएकाले आफू महिनावारी भएको दिनदेखि ६ दिनसम्म हरेक महिना विद्यालय अनुपस्थित हुने गरेको सरस्वती माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत रमिता सिंहले बताइन् । ‘पहिलो त प्याड किन्ने पैसा हुँदैन । दोस्रो नजिकमा प्याड पनि पाइदैंन् । प्याड नलगाएर विद्यालय जाँदा कपडामा खुन देखिने र साथीहरूले जिस्क्याउने गरेपछि म कहिल्यै यस्तो अवस्थामा विद्यालय जानै मन लाग्दैन ।’

जुम्लाका २१ बस्ती छुइगोठमुक्त

जिल्लाका २१ वटा वस्ती छुइगोठमुक्त घोषणा भएका छन् । जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी निकायले संयुक्त रुपमा सञ्चालन गरेको छुइगोठ मुक्त अभियानअन्तर्गत उक्त वस्तीहरू छुइगोठमुक्त घोषणा भएका हुन् ।

जिल्लाका स्थानीय तह र सर्वाेदय नेपाल, किर्डाक नेपाल जुम्ला, आत्मसम्मानका लागि सहकार्य (क्याड) नेपाल, एक्सन बक्स जुम्लालगायतका गैरसरकारी संस्थाको साझेदारीमा विभिन्न २१ गाउँबस्ती छुइगोठमुक्त घोषणा भएको सर्वोदय नेपालका कार्यकारी निर्देशक कमलराज खत्रीले बताए । उनका अनुसार जिल्लाका एक हजार ७ सय ४० घरधुरी छुइगोठमुक्त घोषणा भएका छन् । जिल्लामा सञ्चालन भएको एकिकृत छुइगोठमुक्त अभियानले जिल्लाका आठ हजार ७ सय ८९ ले छुइ नमान्ने गरेको दावी खत्रीले गरे ।

हेमन्त केसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीमा हिमपात; आगो बालेर वार्षिक परीक्षा, यातायात ठप्प

२८ मंसिर २०७६, शनिबार १३:०२
बिहीबारदेखि शुरु भएको हिमपातले हिमाली क्षेत्रको जनजीवन निकै प्रभावित बनाएको छ । पश्चिमी न्यूनचापीय वायुको प्रभावका कारण दोस्रो पटक परेको हिमपातले सिमकोटको वाल मन्दिर माध्यमिक विद्यालयमा आगो बालेर परीक्षा सञ्चालन गरिएको छ ।