घुमफिरका लागि फालावाङ जानु भएको छ ?

कर्णालीपत्र संवाददाता २८ मंसिर २०७६, शनिबार १२:५६


कर्णाली प्रदेशमा घुमघामका लागि हिमाल, ताल मात्र होइन सुन्दर ऐतिहासिक गाउँहरु पनि छन् । तर हामी मध्ये धेरै जनाको गाउँघरमा घुमफिर गर्ने बानी छैन र घुमफिर गर्नु फजुल खर्च हो भन्ने सोचाइ धेरैमा छ । घुमफिर र अवलोकनबाट प्राप्त ज्ञान परिवर्तनमुखी हुने गर्दछ । अर्कोतर्फ घुमफिरले संस्कार र संस्कृतिको पनि विकास हुन्छ । आजभोलि ग्रामिण पर्यटकहरुका लागि घुमफिर गर्ने धेरै स्थलहरु छन् । तर पनि सबै स्थानको प्रचार प्रसार हुन सकेको छैन । धेरै ग्रामिण पर्यटकीय स्थलहरुमा पुग्न यातायातको सुविधा छैन । अर्कोतर्फ ग्रामिण पर्यटकीयस्थलहरुको समुचित विकास र व्यवस्थापन हुन पनि सकेको छैन ।

सडक यातायात कै कारण कर्णाली प्रदेश सल्यान जिल्लाको फालावाङ क्षेत्रमा ग्रामिण पर्यटनको विकास हुन सकेन थिएन । तर अहिले कच्ची भए पनि सडक सञ्जालले फालावाङलाई छोएपछि दैनिक फालावाङ र थर्कोट जाने ग्रामिण पर्यटकहरुको सख्या बढ्न थालेको छ । खाम भाषामा फालावाङको अर्थ लट्ठी राख्ने चौर भनिन्छ अर्थात् फाला भनेको लट्ठी अथवा चुट्ने साधन र वाङ भनेको चौर हो । खाम भाषामा चुचुरोलाई पुथा, गोङ, बुकि भनिन्छ । थर्कोट पनि खाम मगर भाषाबाट बनेको शब्द मानिन्छ । किनकी थर भनेको कुनै जातीले राज्य गरेको ठाउँ भन्ने अर्थ लाग्न जान्छ । फलावाङमा कुनै बखत खाम मगरको बस्ती थियो । फलावाङ मात्र होइन त्यस भेगमा खैरावाङ र धनवाङ गाउँ पनि रहेको छ । त्यस ठाउँमा कुनै थरले राज्य गरेको हुँदा त्यो चुचुरोलाई थर्कोट भनिएको हो । अर्कोतर्फ फालावाङे राजाको पालामा पनि थर्कोटको चुचुरोमा हतियारको कोत राखिएको थियो । थर भनेको राज्य र राज्यको कोत भएको स्थान हुँदा थरकोट हुदैं बोल्ने क्रममा थर्कोट भएको हुन सक्दछ ।

 

कुनै वेला थर्कोट फालावाङ क्षेत्र बसोबासका लागि, उपयुक्तस्थल मानिने थियो । गर्मीको समयका दाङदेखि कोटलाग्ने ठाउँको रुपमा पनि फलावाङ प्रमुख स्थल थियो । कोटलाग्ने समयमा फालावाङे राजाको दरबार चैतेडाँडा वरपर मानिसहरुको बस्तिले भरिएको हुन्थ्यो । दाङदेखि सल्यान, रुकुम, जाजरकोटका भूगोलमा जाने मानिसहरु थर्कोट हुँदै फलावाङ भएर लुहाम पुग्दथे । तुलसीपुरबाट हिडेपछि डाडापातु हुँदै उकालो लाग्दा दाङ उपत्यकाको दृश्यावलोकन गर्दै बल्लेको चिया होटलमा पुगेको धेरै मानिसहरुलाई थाहै हुँदैनथियो । बल्ले पुगेपछि थर्कोटको तिनजुरे चुचुरो देखिन्छ । चुचुरोमा तिदुकोबोटले सबैलाई स्वागत गरेको भान हुन्छ । त्यही तिदुको हाँगामा थर्कोट पुग्नेहरुले ध्वजा पतंगा बाध्ने प्रचलन पनि छ । तिनजुरे चुचुरो नजिकै हावाको प्वाल रहेको छ । यो प्वालबाट चिसो हावा आउने गर्दछ । सल्यान जिल्लासँग सीमा जोडिएको थर्कोट चुचुरोभन्दा दक्षिण पानीढलो बल्लेको भूगोल दाङमा पर्दछ । बल्ले तुलसीपुर उपमहानगरपालिका वाड नं.३ मा पर्दछ । बल्ले तुलसीपुरबाट १४ कि.मी.को दुरीमा पर्दछ ।

थर्कोट चुचुरो काटेपछि फालावाङ पुगिन्छ । पैदल यात्राको समयमा आमा होटलको खानाको स्मरण त्यो बाटामा यात्रा गरेको मानिसहरुसँग छ । जिल्लाका कर्मचारीहरु र त्यसबेलाका पञ्च नेताहरुले प्राय आमा होटलको खाना नखाएको को हुन्थो होला र ? आमा होटलकी सञ्चालिका सुन्तली भण्डारीको २०५१ सालमा ७७ वर्षको उमेरमा मृत्यु भयो । अहिले पनि आमा होटल उहाँकै नाती नरेन्द्रबहादुर भण्डारीले सञ्चालन गर्दै आउनुभएको छ । पछिल्लो समय मोटर मार्गको निर्माणसँगै फालावाङमा चहल पहल हुन थालेको छ । होमस्टे त होइन तर पनि फलावाङ पुग्नेहरुका लागि आमा होटलले अहिले पनि सेवा र सत्कार गरिराखेको छ । अडर अनुसारको खाना, लोकल कुखुराको मासु र हासको छोइला आमा होटलको ब्राण्ड बनेको छ । आजभोलि सिजनमा काफल, ऐसेलुको स्वादमा फालावाङ जाने मानिसहरु रमाउँछन् । आमा होटल बाहेक अरु दुई होटल पनि फलावाङमा सन्चालन छन् । दैनिक फलावाङमा पुग्ने मानिसहरुलाई खाना बस्नको कुनै असुविधा छैन ।

फालावाङ दरबार क्षेत्र अहिले त्रिवेणी गाउपालिकाको ४ नम्बर वाडमा पर्दछ । त्रिवेणी गाउँपालिकामा साविकका काभ्रा, काँरागिठी, फलावाङ र त्रिवेणी गाविस समाहित भएका छन् । फलावाङ दम्सीलो डाँडाकाँडा बीच–बीचमा खेतबारी भिरालो पहाडमा बस्ती रहेको छ । फालावाङ वरपर चैतेडाँडा, राउतगाउँ, गैरीगाउँ, बुकिचौर र बाउनटोल पर्दछ । दरबार क्षेत्रमा पुरानो आमा होटल र अन्य केही होटल समेत सञ्चालनमा छन् । फलावाङमा भदौरे बब्बे आँप प्रख्यात छ । कागती, अदुवा खेतीका लागि पनि फलावाङ अग्रस्थानमा रहेको छ । फालावाङसँग जोडिएको ग्रामिण बजार लुहाम र कपुरकोट हो । कपुरकोट तरकारी बजार केन्द्र सल्यानको प्रवेशद्वार पनि हो । यहाँ विभिन्न किसिमका जडिबुटी, अदुवा, सुन्तला, कागतीका साथै तरकारीको हाटबजार लाग्ने गर्दछ ।

अहिले दाङ र सल्यान जिल्ला अर्थात् प्रदेश नं. ५ र कर्णाली प्रदेशको सीमा स्तम्भको रुपमा रहेको थर्कोट चुचुरो ऐतिहासिक कोट हो । थर्कोट सामुन्द्रिक सतहदेखि १ हजार ४५० मिटरको उचाइमा रहेको छ । थर्कोटगढीमा अंग्रेजहरुको आक्रमणबाट बच्न फालावाङे राजाहरुले थर्कोटमा गोलघर निर्माण गरी तोप, ढाल, तरबार र लडाईमा प्रयोग गर्ने बाजाका सामग्रीहरु राख्ने गर्दथे । कोत भएको स्थानमा शिद्ध रतननाथको समेत पूजा गर्ने परमपरा थियो । थर्कोट चुचुरोबाट दाङ उपत्यका मात्र नभएर बाँके जिल्लाको सीमाना क्षेत्रको चुरे पहाड तिलकनालेख र फिरिङेखोला सम्मको भाग देखिने हुँदा शत्रुहरुसँग बच्नका लागि हतियार कोतमा राख्ने गरेका थिए । थर्कोटगढीको कोतमा वैशाख महिनामा पञ्चवली दिने प्रचलन थियो । अहिले थर्कोटगढीका पुराना हातहतियार कोतघरमा केही छैनन् । कोट, मौला र मठ मन्दिर राज्यबाट संरक्षण हुन छाडेपछि कतिपय बहुमूल्य वस्तुहरु चोरी भएका छन् ।

फालावाङको पुतलीदरबार लक्ष्मीनारायण शाहका जेठा छोरा शम्शेरबहादुर शाहले आजभन्दा १११ वर्ष पहिले बनाएका थिए । दरबारमा ५५ वटा कोठा थिए भने १ सय ८ वटा झ्याल ढोका थिए । दरबार निर्माणमा ईट्टा मात्रै प्रयोग गरिएको थियो । दरबार छाउनका लागि जस्तापाता बेलायतबाट ल्याइएको थियो । दरबारमा गद्दी बैठक, कचहरी बैठक, पूजा कोठा, मोठ कोठासमेत निर्माण गरिएका थिए । दरबार परिसरमा कालिका र शिवालय मन्दिर पनि निर्माण गरिएको थियो । फालावाङे राजाहरु हात्तीमा यात्रा गर्दथे । हात्तीका लागि तुलसीपुर पातुखोला, सिरकुला हुँदै लुहामखोलाको रिगाटे भएर फालावाङ पुग्ने हात्ती र घोडा हिड्ने बाटो थियो । यी सबैकुरा नयाँ पुस्तालाई इतिहास बनेको छ । फालावाङका राजा राज्य सञ्चालनको क्रममा ६÷६ महिना दाङ र फालावाङ गर्दथे । आजभन्दा ८५ वर्ष पहिले तुलसीपुरमा ५ विघा ६ कट्ठा १२ धुर जमिनमा ३५ कोठाको दुईतले दरबार पनि बनाएका थिए । पछि राज्य रजौटा ऐन उन्मूलन भएपछि २०२१ सालमा तुलसीपुरको दरबार १ लाख ६५ हजारमा राजा गेहेन्द्रबहादुर शाहले नेपाल सरकारलाई बिक्री गरेका हुन् । जुन ठाउँमा अहिले प्रदेश अस्पताल छ ।

ग्रामिण पर्यटनका लागि ऐतिहासिक एवम् प्राकृतिक सम्पदा महत्वपूर्ण मानिन्छ । आजभोलि फलावाङ पुग्नेहरु ती ऐतिहासिक दरबारको बारेमा खोजी गर्दछन् । तर उनीहरुले दरबारको भग्नावशेष बाहेक अन्य केही देख्न पाउँदैनन् । तर पनि फालावाङ पुग्ने ग्रामिण पर्यटकहरुले दरबारस्थलको भग्नावशेषको फोटो खिच्ने गर्दछन् । फालावाङका ती ऐतिहासिक दरबार तहस नहस नगरेको भए अहिले कति ग्रामिण पर्यटकहरु फालावाङ पुग्दथे होलान् ? त्यसबाट कति आय आर्जनको स्रोत हुने थियो होला ? प्राकृतिक सम्पदा बिनाश भयो भने प्रदेशको उन्नति हुन सक्दैन । प्रदेशको उन्नति र प्रगतिले नै मुलुकको उन्नति हुने हो । हामी नेपालीहरुको जीवनस्तरको उन्नति हुने हो । यो कुरा सबैले बुझ्न जरुरी छ । त्यसैले प्राकृतिक ऐतिहासिक सम्पदा बचाउनु पर्दछ । फलावाङको पुतलीदरबार अहिले संरक्षण हुन नसक्दा गौचरण र खेल मैदानमा परिणत भएको छ । केही वर्ष अघिसम्म दरबार अवलोकन गर्न ग्रामिण पर्यटकहरु पुग्ने गर्दथे । दरबारको झ्यालढोका र टुँडालमा कुँदिएका आकृति देख्दा सबै दंग पर्दथे ।

द्वन्द्वको समयमा दरबारको संरक्षण हुन नसकेपछि दरबार क्षतिग्रस्त हुन पुग्यो । संरक्षण हुन नसक्दा दरबारमा कँुदिएका काठका झ्यालढोका, दलिन, टुडाँल सबै चोरी भएका छन् । अहिले त पर्खाल मात्र बाँकी रहेको छ भने दरबारको ईंटासमेत स्थानीय बसिन्दाले लगेका छन् । संरक्षणका बारेमा चासो नदिँदा पुतलीदरबारको आसपासका जग्गा समेत अतिक्रमण हुँदै गएको छ । दरबार भग्नावशेषमा परिणत हुन थालेपछि गाउँको पहिचानसमेत गुमेको छ । अहिले दरबारको पश्चिम पट्टिको भाग संघसंस्थाहरुका लागि कार्यक्रम गर्ने थलो मात्र भएको छ । दरबारलाई पुर्ननिर्माण गर्ने र थर्कोटमा भ्यूटावर निर्माण गरी ग्रामिण पर्यटकहरुलाई आकर्षण गर्न सकिने सम्भावना छ । सल्यान जिल्लाको लुहाम र तुलसीपुरदेखि सडक यातायातको सुविधा दिने र भ्यूटावर मात्र सञ्चालन गरिदिन सके फलावाङमा ग्रामिण पर्यटकहरु बढ्ने र गाउँको पनि विकास हुने देखिन्छ ।

अहिले फलावाङ कच्ची भए पनि मोटरमार्ग पुगेको छ । दाङ तुलसीपुरदेखि १४ कि.मी यात्रा गरेपछि थर्कोटको बेस क्याम्प बल्लेमा पुगिन्छ । बल्लेबाट करिब आधा घण्टाको पैदल उकालो यात्रामा थर्कोटको चुचुरोमा पुग्न सकिन्छ । त्यसैगरी अर्को मार्ग राप्ती राजमार्गमा पर्ने कपुरकोटबाट पनि धनुबाङ, गारापानी, लिस्नेखोला, र बुकिचौर भएर फालावाङ पुग्न सकिन्छ । यो मार्ग करिब २० कि.मी.को दुरीमा पर्दछ । सामान्यतया साना गाडीले दुई घण्टाको समयमा कपुरकोटबाट फालावाङ पुतलीदरबारस्थल पु¥याउँछ । फालावाङ जाने अर्को मार्ग हो लुहाम–फलावाङ यो सडक फालावाङहँुदै मखनटाकुरीसम्म पुगेको छ । मखनटाकुरीबाट पाच मिनेट मात्र यात्रा गरेपछि थर्कोट चुचुरोमा पुग्न सकिन्छ । लुहामबाट मखनटाकुरी सम्मको दुरी करिव १३ कि.मी रहेको छ । लुहामबाट फालावाङ दरवार क्षेत्र पुग्न ७ कि.मी यात्रा गरेपछि पुगिन्छ ।

फलावाङलाई ग्रामिण पर्यटकीयस्थलको रुपमा विकास गर्नुपर्दछ । त्यसका लागि फालावाङका ऐतिहासिक दरबारको पुननिर्माण गर्नुपर्दछ । त्यहाँ भएका मन्दिर, कोट र संस्कृति बचाउन जरुरी छ । प्राकृतिक सम्पदा बिनाश भयो भने गाउँको उन्नति हुन सक्दैन । गाउँको उन्नति र प्रगतिले नै हाम्रो जीवनस्तरको उन्नति हुने हो । यो कुरा सबैले बुझन जरुरी छ । तर ग्रामिण पर्यटनको विकास गर्न सडक, होटलमात्र होइन पर्यटकहरुलाई सुरक्षाको ग्यारेन्टी पनि हुनुपर्दछ । जोसुकै किन नहोस् उसलाई सुरक्षाको अनुभुत भएन भने ग्रामिण पर्यटकहरु गाउँमा जादैनन् । दाङ र सल्यान जिल्लाको साझा सम्पत्तीको रुपमा रहेको थर्कोट र फालावाङलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न जरुरी छ ।

ग्रामिण पर्यटकहरुको आगमन गराउन फालावाङमा होमस्टे सञ्चालनमा ल्याउनुपर्दछ । गाउँघरको सरसफाई, निर्माण भएका सडकको मर्मत सम्भार र अन्य ग्रामिण वस्तीहरुमा सडक सञ्जालको विकास गर्न जरुरी छ । गाउँमा नयाँ मानिसहरु पुग्दा खाने बस्ने सुविधा र सुरक्षाको ग्यारेन्टी भयो भने क्रमिक रुपले ग्रामिण पर्यटकहरुको संख्या बढ्न जान्छ । पर्यटन प्रवद्र्धन गर्नका लागि आवश्यक पूर्वाधार भएन भने गाउँमा पर्यटकहरु जान मन गर्दैनन् । अहिले कृषि, व्यापारबाट शुरु भएको समृद्धिको यात्रा पछिल्लो समय पर्यटनमा आइपुगेको छ । परम्परागत पेशा र प्रणालीले अब आर्थिक उन्नति हुन सक्दैन । फालावाङ वरपरका गाउँमा कागती, आपँ, लिचीजस्ता फलफूलको खेती हुनुपर्दछ । गाउँमा पुग्दा ग्रामिण पर्यटकहरुले घर फर्कदा केही चिज किन्न सकुन् । अनि बल्लहुन्छ ग्रामिण पर्यटनको विकास ।

फालावाङका बासिन्दाको क्रमशः आर्थिक उन्नतिका पर्यटनको माध्यमले हुने गर्दछ । अहिले गाउँघरमा पनि घुमफिर गर्ने ग्रामिण पर्यटकहरु मध्ये धेरै अवलोकनकर्ता मात्र भएका छन् । पर्यटक र अवलोकनकर्ता बीच धेरै फरक छ । पर्यटकीय सम्पदाको भ्रमण गर्दा पैसा खर्च गर्ने मानिस मात्र पर्यटक मान्न सकिन्छ । किन भने उसले पैसा खर्च गर्दछ । अवलोकन भ्रमण मात्र गर्ने तर पैसा खर्च नगर्नेलाई पर्यटक मान्न सकिन्न । उ केवल अवलोकनकर्तामात्र हुन्छ । ग्रामिण पर्यटनको विकास गर्न स्थानीय तह र प्रदेश सरकारले यी विषयमा चासो राख्नु पर्दछ । अनि मात्र ग्रामिण पर्यटनको विकास हुन सक्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महिनावारी महिला भन्छन् ; पशुभन्दा तलको व्यवहार

२८ मंसिर २०७६, शनिबार १२:५६
महिनावारी भएका महिलाले जङ्गलबाट काटेर ल्याएको घाँस गाईलाई खुवाउन हुने तर महनिावारी भएको बेला गाईको दूध, दही र मही खानबाट बञ्चित गर्ने प्रचलनले आफूहरू पशु भन्दा पनि तलको झै लाग्ने गरेको स्वयम् महिलाहरूले नै बताउने गरेका छन् ।

सम्बन्धित शीर्षक