खार्पुनाथ निर्वाचन: दुई वर्षपछि ५८ को बदला ६९

कर्णालीपत्र संवाददाता १६ मंसिर २०७६, सोमबार ०६:१२

कर्णालीपत्र
हुम्ला, १५ मंसिर । २०७४ साल वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ५८ मतान्तरले पराजित भएकी ननेकपाकी रुपामा शाहीले बहुप्रतिक्षित खार्पुनाथ गाउँपालिका उपाध्यक्ष पदमा ६९ मतले निर्वाचन आफ्नो पक्षमा तान्न सफल भएकी छन् ।

लामो समयदेखि नेपाली कांग्रेसको एकाधिकारलाई तोड्दै रुपाले पहिलो पटक निर्वाचन जितेकी हुन् । आइतबार भएको मत गणना अनुसार शाहीको निकटमत प्रतिद्वन्द्वीमा नेपाली कांग्रेसकी तारा शाहीले एक हजार तीन सय ८५ मत ल्याएको निर्वाचन कार्यालय खार्पुनाथका मुख्य निर्वाचन अधिकृत चन्द्रकान्त पौडेलले जानकारी दिए । उनकाअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपबहादुर शाहीले १० मत प्राप्त गरेका छन् । खार्पुनाथमा १० मत मात्रै रद्द भएको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । ३ हजार ३ सय ८६ कुल मतदाता भएको खार्पुनाथमा शनिबार सम्पन्न मतदान प्रक्रियामा २ हजार ८ सय ६९ मतदाताले सहभागिता जनाएका थिए ।

को हुन् रुपा ?

खार्पुनाथ गाउँपालिका हुम्लाको उपाध्यक्ष पदमा निर्वाचित रुपा खार्पुनाथ–१ प्यूस गाउँकी स्थानीय बासिन्दा हुन् । बझाङ जिल्ला जयपृथ्वी नगरपालिका–४ मा २०३८ सालमा जन्मेकी रुपा २०५३ साल फागुन २६ गते विवाह गरेर हुम्ला पुगेकी थिइन् । नौ कक्षामा पढ्दै गर्दा विवाह गरेकी उनलाई बुहारी भएर विद्यालयको पढाई पूरा गर्न १० वर्ष लाग्यो । २०६३ सालमा एसएलसी पास गरेकी उनले २०६४ को जिल्ला अधिवेशनमा तत्कालीन नेकपा एमालेको भगेनी संगठन अखिल नेपाल महिला संघको जिल्ला अध्यक्षबाट आफ्नोे राजनीतिक यात्राको शुरुवात गरिन् ।

पटकपटक पार्टीको नेतृत्वमा दाबी गरेकी रुपाले २०७४ साल वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेको तर्फबाट उपाध्यक्ष पदकी उम्मेरदवार थिइन् । उनी नेपाली कंग्रेसकी उम्मेरदवार सिन्धु हमाल शाहीसँग ५८ मतले पराजय भइन् । गएको असार ३ गते खार्पुनाथको यांचु कुनामा भएको जिप दुर्घटनामा परेर उपाध्यक्ष सिन्धुको मृत्यु भएपछि रुपा उपनिर्वाचनबाट उपाध्यक्ष पदमा विजयी भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कसरी गुम्यो कांग्रेसको बिरासत ?

१६ मंसिर २०७६, सोमबार ०६:१२
कर्णाली प्रदेशकै राजनीतिक प्रतिष्ठाका रुपमा हेरिएको खार्पुनाथको उपनिर्वाचनमा लामो बिरासत गुमेपछि प्रतिपक्षि नेपाली कांग्रेस पार्टी र त्यसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीलाई ठूलो धक्का लागेको छ ।