सुर्खेत विमानस्थल विस्तार : उत्तरतर्फ नै उपयुक्त

कर्णालीपत्र संवाददाता १५ मंसिर २०७६, आईतवार ०७:४१

सुर्खेत । सुर्खेत विमानस्थल विस्तार गर्न उत्तरतर्फ नै उपयुक्त हुने सम्बन्धित प्राविधिकहरुले निष्कर्ष निकालेका छन् । ठूला जहाज अवतरणमा समस्या भएपछि विमानस्थलको धावन मार्ग विस्तार गर्ने तयारी भइरहँदा दक्षिणतर्फभन्दा उत्तरतर्फ विस्तार गर्न उपयुक्त हुने प्राविधिकहरुको निष्कर्ष छ ।

नागरिक उड्डयन कार्यालय सुर्खेत विमानस्थलका प्रमुख उमेशकुमार पन्थीले सुर्खेत विमानस्थल विस्तारका लागि पहल भइरहेको जानकारी दिए । उनले भने, ‘अहिलेको धावनमार्गमा ठूला जहाज उडान तथा अवतरणमा समस्या छ, विस्तारका लागि दक्षिणभन्दा उत्तरतर्फ नै उपयुक्त देखिन्छ ।’ प्रमुख पन्थीले अब धावनमार्ग विस्तार गर्दा कम्तीमा पनि तीन सय मिटर थप्नुपर्ने बताए । विसं. २०२२ सालमा बनेको सुर्खेत विमानस्थल शुरुमा १ हजार ४० मिटर थियो भने ५ वर्षअघि मात्रै २ सय मिटर विस्तार गरिएको थियो ।

सुर्खेत विमानस्थल विस्तारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विस्तारको पूर्व सम्भाव्यता अध्ययन गर्न २०७६ भदौमा अध्ययन टोली गठन गरेको जानकारी दिदैँ प्रमुख पन्थीले टोलीले निकालेको निष्कर्ष भने अझै आइनपुगेको बताए । उनले विमानस्थल विस्तार गरेपछि कस्ता विमान उडान र अवतरण हुन सक्छन् भन्ने अध्ययन गरेर मात्र निर्णय लिँदा उपयुक्त हुने बताए । सुर्खेत विमानस्थलमा रात्रीकालीन उडान र अवतरणका लागि जिपिएस प्रणाली, आईएफआर उडानजस्ता प्रविधिको आवश्यक पर्ने भएकाले उपकरण जडान भए यहाँबाट पनि रात्रीकालीन सेवा दिन सकिने उनको भनाई थियो ।

विमानस्थल वरपर चराहरु जोखिम रहेको जानकारी दिँदै प्रमुख पन्थीले विमानस्थल वरपर रहेका बधशालाहरु, सडकमा रहेका ट्राफिक साइनलाई व्यवस्थापन गर्न सरोकारवालाको ध्यानाकर्षण गराए ।

चालु आवमै स्क्यानिङ मेसिन भित्रिन्छ

प्रमुख पन्थीले चालु आर्थिक वर्षमा नै विमानस्थलमा स्क्यानिङ मेसिन भित्रिने बताएका छन् । हाल स्क्यानिङ मेसिन नहुँदा विमानस्थलमा यात्रुहरुको सामानहरु एक–एक गरेर चेक गर्दा घण्टौँ लाग्ने गरेको भन्दै पन्थीले जेठ मसान्तसम्म आईपुग्ने विश्वास व्यक्त गरे । हामीले मेसिनका लागि पहल गरिरेहका छौँ । उनले भने, ‘केन्द्रबाट बजेट कम छ भन्ने खबर आएको छ । तर पनि हामीले सानै मेसिन भए पनि उपलब्ध गराउन माग गरेका छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खार्पुनाथको मतगणना शुरु

१५ मंसिर २०७६, आईतवार ०७:४१
खार्पुनाथ गाउँपालिकाको केन्द्र यांचुमा बिहान ८ बजेदेखि बैठकमा बसेका दलहरूले प्रत्येक मतदान केन्द्रको बेग्लै मत गणना गर्ने माग राखेपछि मतगणनामा सहमती जुट्न सकेको थिएन ।