दुर्पाबासीलाई पहिलो लोकतन्त्र : ३० वर्षपछि मतदान

कर्णालीपत्र संवाददाता १५ मंसिर २०७६, आईतवार ००:४७

नवराज महतारा

हुम्ला । बहुदल आएदेखि अधिकांश समय मताधिकार प्रयोग गर्न नपाएका खार्पुनाथ–५ का ७३ वर्षीय अमरसिंह रोकायालाई शनिबारको उपनिर्वाचनमा सहज रूपमा आफैले मतदान गर्न पाउँछु भन्ने रत्तिभर विश्वाश थिएन । विगतका निर्वाचनको सुखद् अनुभव नगरेका उनलाई उपनिर्वाचनमा मत हाल्नेभन्दा मतनदानका क्रममा आफन्त कसैलाई केही भइहाल्छकी भन्ने चिन्ताले बढी पिरोल्यो । बिहानको उज्यालो पर्खेका रोकाया ५ बज्ने बित्तिकै आफ्ना संगती ७० वर्षीय लालवीरे रोकायालाई भेटे ।

शनिबार उपनिर्वाचनमा मतदान गर्न लाइनमा बसेको सिता माध्यमिक विद्यालय मदतान केन्द्रका मतदात

उपनिर्वाचनमा थप सुरक्षा चुनौतीको आंकलन गरेका उनीहरूले गाउँका मतदातालाई बिहान सात बजे अगावै मतदान केन्द्र पुगेर लाइनमा बस्न आग्रह गरे । गाउँकै ज्येष्ठ नागरिकको अनुरोधलाई सहर्ष स्वीकारेका दुर्पाका मतदाता पौने सात बजेनै एकघण्टाको दूरीमा रहेको मानधारा माध्यमिक विद्यालय मतदान केन्द्रको लाइनमा बसे । विगतका निर्वाचनमा मतदान गर्न नपाएको डरले निकै त्रसित उनीहरूले जब मतपत्रमा चाहे अनुसारका उम्मेरदवारको निर्वाचन चिन्हमा संकेत गरेर मत पेटिकामा खसाले तब मात्र उनीहरूले नेताको भाषण र रेडियोबाट सुनेको लोकतन्त्रको अनुभुति भयो ।

मतदान नगरूञ्जेलसम्म केही नखाएका अमरसिंहलाई शनिबार जति खुशी कहिल्यै लागेन । मतदान सक्ने बित्तिकै उनले कर्णालीपत्रसँग भने, ‘जसका लागि (मताधिकारका) युवा अवस्थादेखि लामो लडाई ग¥यौं । ढिलै भए पनि त्यही अधिकार आज प्राप्त गरेका छौं ।’ उपनिर्वाचनमा आफूले मत दिएको उम्मेरदवारको जितहारमा खासै चासो नदेखाएका ७० वर्षीय लालवीरे रोकायाले पहिलो पटक मताधिकार पाउनुलाई सबैभन्दा ठूलो जित ठानेका छन् । उनी भन्छन्, ‘२०४६ सालको परिवर्तनले सबै क्षेत्रमा लोकतन्त्र आए पनि हामी (दुर्पाबासी) ले यसको वास्तविक प्रयोग ३० वर्षपछि बल्ल गर्न पाएका छौं ।’

कहिले बुथ कब्जा गरेर त कहिले मतदान केन्द्रमा हवाई फायर गरेर आफूलाई तर्साएकाले यसअघिका निर्वाचनमा आफूहरूले कहिल्यै मताधिकारको प्रयोग गर्न नपाएको दाबी गरेका दुर्पाकै देविसिंह रोकायाले आफ्नालागि शनिबार ठूलो परिवर्तनको अनुभूति गर्ने दिन भएको जानकारी दिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीको मताधिकार समेत रहेको मानधारा माध्यमिक विद्यालयको मतदान केन्द्रमा २०६४ सालको संविधानसभाको पहिलो निर्वाचन र ७० सालको निर्वाचनमा बुथ कब्जा गरेका कारण आफूले मताधिकार प्रयोग गर्न नपाएको दाबी गरेका उनले २०७० सालको स्थानीय तहको निर्वाचनमा हवाई विवाद हुँदा सुरक्षाकर्मीले मतदान केन्द्रमै हवाई फायर गरेपछि डरले मतदान नगरेर भागेको बताए । उनले भने, ‘यो पटकको निर्वाचन निकै शान्त मात्रै नभएर स्वतन्त्र रूपमा मत संकेत गर्ने दिवशका रूपमा रह्यो ।’

खार्पुनाथमा ८५ प्रतिशत मतदान

शनिबार सम्पन्न गाउँपालिका उपाध्यक्ष पदको निर्वाचनमा खार्पुनाथमा ८५ प्रतिशत मत खसेको छ ।

उपनिर्वाचन भएको खार्पुनाथका पाँचवटै मतदान केन्द्रहरूमा निकै शान्तिपूर्ण र मर्यादित रूपमा मतदान भएको मुख्य निर्वाचन अधिकृत चन्द्रकान्त पौडेलले बताए । रिक्त गाउँपालिका उपाध्यक्ष पदका लागि शनिबार सम्पन्न निर्वाचनमा ३ हजार ३ सय ८७ मतदाता मध्ये २ हजार ८ सय ६९ अर्थात् ८४ दशमलव ७ प्रतिशत मतदाताहरूले उत्साहका साथ मतदान प्रक्रियामा भाग लिएको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।

उनका अनुसार खार्पुनाथ–१ को मालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा ७ सय ९९, वडा नम्बर २ को शंकर आधारभूत विद्यालयमा ३ सय ७३ मत खसेको छ । त्यसै गरी वडा नम्बर ३ को हुम्ला माध्यमिक विद्यालय केन्द्रमा ४ सय ५८, वडा नम्बर ४ को सीता माध्यमिक विद्यालय केन्द्रमा ५ सय ५२ र मान्धारा माध्यमिक विद्यालय केन्द्रमा ६ सय ८७ खसेको छ । जसमध्ये एक हजार ३ सय ६४ महिला मतदातको मत खसेको छ भने एक हजार ५ सय ५ पुरूष मतदाताले मतदान गरेका छन् ।

बिहान सात बजेर पाँच मिनेटमा शुरू भई साँझ पाँच बजेर पाँच मिनेटमा सम्पन्न भएको मतदान प्रक्रियामा सबैभन्दा ज्येष्ठ नागरिकका रूपमा ९३ वर्षकी वृद्धा पुल्ती शाहीले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मत गणना अनिश्चित

शनिबार सम्पन्न निर्वाचनको मत गणना कहिलेदेखि गर्ने भन्ने बारेमा भने कुनै निश्चित भएको छैन । यो समाचार तयार पारुञ्जेलसम्म गाउँपालिकामा भएका पाँच वटा मतदान केन्द्रका मत पेटिका गाउँपालिका केन्द्र यांचुमा ल्याइ नपु¥याएकाले मत गणना कहिले गर्ने भन्ने बारेमा केही निश्चित नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय यांचुले जनाएको छ । गाउँपालिकाका राजनीतिक दलहरूको निर्णय अनुसार मत गणना सुचारु गर्ने बताएका मुख्य निर्वाचन अधिकृत पौडेलले सर्वदलीय बैठक कहिले राख्ने भन्ने बारेमा दलहरूसँग परामर्श गरिरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कुमाख–५ मा ज्वाला

१५ मंसिर २०७६, आईतवार ००:४७
वडा अध्यक्षका लागि शनिबार भएको उपनिर्वाचनमा ७ सय ९२ मत ल्याएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का धर्मे बुढाथोकी (ज्वाला) विजयी भएका छन् ।