चौरासेमा औद्योगिकग्राम उपयुक्त

कर्णालीपत्र संवाददाता ११ मंसिर २०७६, बुधबार १०:००

वसन्त भण्डारी
सुर्खेत । सुर्खेतको चौरासेमा औद्योगिकग्राम स्थापना गर्न सकिने अध्ययन टोलीले निष्कर्ष निकालेको छ ।

नेपाल सरकारको पूर्ण स्वामित्व रहेकोऔद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्ययन टोलीले लेकवेशी नगरपालिकाको खाँणदेवी सामुदायिक वन क्षेत्रलाई औद्योगिकग्रामका लागि उपयुक्त हुने निष्कर्ष निकालेको हो ।

सहायक निर्देशक इन्जिनियर रामशंकर जयसवालको नेतृत्वमा आएको टोलीले मंसिर ८ गतेदेखि उक्त क्षेत्रको पूर्व सम्भाव्यता अध्ययन गरेको थियो । पूर्व सम्भाव्यता अध्ययन गरेर फर्केको टोलीले मंगलबार वीरेन्द्रनगरमा यस क्षेत्रका उद्योगी व्यवसायीसँग छलफल कार्यक्रम आयोजना गरेको छ । सुर्खेत उद्योग वाणिज्य संघको अगुवाईमा भएको छलफलमा टोली प्रमुख इन्जिनियर जयसवालले भौगोलिक हिसाबले केही अप्ठ्यारो भए पनि प्रदेशस्तरीय औद्योगिकग्राम स्थापनाको लागि सो स्थानमा सम्भव भएको बताए । अहिले त्यहाँको मुख्य समस्या वन, जंगल र भौगोलिक बनावट भएको बताउँदै उनले भने, ‘त्यसलाई व्यवस्थापन गर्न सकियो भने समयमा नै काम अघि बढ्न सक्छ ।’ जयसवालले अध्ययन टोलीले पन्ध्र दिनभित्र प्रतिवेदन बुझाउने र केन्द्रको निर्णय अनुसार प्रारम्भिक सर्वेको काम अघि बढ्ने जानकारी दिए ।

छलफलमा उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष धनबहादुर रावतले औद्योगिक ग्राम स्थापनाका लागि सुर्खेत उद्योग वाणिज्य संघ जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताए । औद्योगिक क्षेत्रको पूर्व सम्भाव्यता अध्ययन भएको छ, यो हाम्रो लागि खुशीको कुरा हो । उनले भने, ‘यसमा चाहिने पूर्वाधारका लागि हामी बुलन्द आवाज उठाउने छौँ ।’ अहिलेको अवस्थामा विद्युत्, पानी, सडकको चुनौती भएको भन्दै रावतले ती समस्या समाधानका लागि सबै कर्णालीबासी एकजुट भएर लाग्नुपर्ने बताए ।

यस्तै सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कंडेलले सम्भाव्यता अध्ययन मात्रै नभएर तत्काल स्थापनाको काम अघि बढाउनुपर्ने बताए । कर्णालीको विकासको एकमात्र विकल्प उद्योग स्थापना गर्नु हो । उनले भने, ‘त्यसका लागि पूर्वाधार मुख्य चुनौती हो । त्यसलाई समाधानको लागि उद्योग वाणिज्य संघको पूर्ण साथ सहयोग रहन्छ ।’ यस्तै वीरेन्द्रनगर औद्योगिक क्षेत्रका अध्यक्ष जीवनारायण बन्जाडेले भौतिक पूर्वाधारको कमीले वीरेन्द्रनगरको औद्योगिक क्षेत्रसमेत पूर्ण रुपमा सञ्चालन हुन नसकेको अवस्थामा चौरासेमा सम्भावना हुनु सकारात्मक भएको बताए । संघीयता पछि नेपाल सरकारले प्रत्येक प्रदेशमा कम्तिमा एक हजार बिगाहा क्षेत्रमा औद्यागिकग्राम स्थापना गर्ने नीति ल्याएको थियो । त्यो सँगै कर्णालीमा पनि त्यसको अध्ययन अघि बढाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुनार थर बदलेर शाह !

११ मंसिर २०७६, बुधबार १०:००
समाजमा ‘दलित’ भनेर अवहेलना र जातीय विभेद गरिने भएकाले नागरिकतामै थर बदलेको संगीताले बताइन् । भेरी नगरपालिका–३, स्याँलाका रविलाल सुनार पनि हालै शाह भएका छन् ।