प्रतिष्ठा बन्दै खार्पुनाथ

कर्णालीपत्र संवाददाता १० मंसिर २०७६, मंगलवार ०७:४५

कर्णालीपत्र
सुर्खेत । आगामी मंसिर १४ गते हुने खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदको उप–निर्वाचनलाई कर्णाली प्रदेशका प्रमुख राजनीतिक दलकै प्रतिष्ठासँग जोडेर हेरिएको छ ।

प्रमुख दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कंग्रेसको कर्णाली प्रदेशको नेतृत्व समेत हुम्ला जिल्लाबाटै भएकोले पनि यो उप–निर्वाचनलाई दलहरूको प्रदेशकै प्रतिष्ठा जोडिएको हो ।

प्रजातन्त्रपछि निरन्तर आफ्नो पकेट क्षेत्र बनाउँदै आएको कांग्रेसले पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशसभाका प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीको मताधिकार रहेको गाउँपालिका समेत भएकाले उप–निर्वाचनलाई पार्टीले प्रतिष्ठाको विषय बनाएको छ । उता तत्कालिन नेकपा (एमाले) र माओवादी केन्द्रबीच भएको एकतापछि बनेको नेकपाको कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटी, र कर्णाली प्रदेश सरकारका बहालवाला सामाजिक विकासमन्त्री दल रावलको गृह जिल्लाको निर्वाचन भएकाले यो उप–निर्वाचन नेकपाको प्रदेश पार्टीको प्रतिष्ठा र नेकपा नेतृत्वको प्रदेश सरकारको लोकप्रियतासँग जोडेर हेरिएको छ ।

निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याएर गाउँपालिकामा भएको कंग्रेसको लामो समयको एकलौटीको अन्त्य गर्न प्रदेशको नेतृत्व सफल भएको, तिनै तहका सरकार लोकप्रीय बन्दै गएको र सातवटै प्रदेशमध्ये बलियो प्रतिपक्षका रुपमा रहेको कर्णालीको प्रतिपक्षलाई नैतिक रुपमा कमजोर बनाउन नेकपा हुम्ला आफ्नो तर्फबाट उम्मेरदवार बनेृकी रुपमा शाहीलाई निर्वाचित गरेर उप–निर्वाचनको परिणाम आफू पक्षीय बनाउने रणनीतिमा छ । गएको कात्र्तिक २७ गतेदेखि पार्टी जिल्ला इन्चार्जसमेत रहेका केन्द्रीय सदस्य विजय भण्डारी ‘प्रतिरोध’ को नेतृत्वमा जिल्ला स्तरका नेता तथा कार्यकर्ता खार्पुनाथका गाउँहरूमा केन्द्रित छन् । मतदातालाई नेतासँग प्रतिवद्धता गराउने र सत्ताको प्राथमिकतामा खार्पुनाथलाई राखेको बचा गर्ने ध्येयले नेकपाले केन्द्रीय सदस्यसमेत रहेका प्रदेश अध्यक्ष बोगटी प्रत्यक्ष र सामाजिक विकास मन्त्रीसमेत रहेका जिल्ला पार्टी सचिव रावल अप्रत्यक्ष रुपमा निर्वाचन क्षेत्रमा केन्द्रित गरेको छ । प्रदेश सरकार र संघीय सरकारबाट गाउँपालिकामा विनियोजन भएका योजना जस लिन र आगामी दिनमा समेत बजेटमा प्राथमिकता प्रदान गर्ने प्रतिवद्धताका लागि नेकपाले निर्वाचन क्षेत्रमा प्रदेश अध्यक्ष, मन्त्री र जिल्लाका प्रमुख नेताहरूलाई निर्वाचनको मौन अवधि अगावै खार्पुनाथका सबै बस्तीमा पु¥याउने रणनीतिमा नेकपा लागेको छ । २०७४ को निर्वाचनमा तत्कालिन एमाले र माओवादीले बैग्लाबेग्लै निर्वाचन लड्दा समेत झिनो मतान्तरले पराजय भोगेको बताएका नेकपा खार्पुनाथ इन्चार्ज रणसिंह परियार यो पटक दुइ पार्टीको शक्ति एकीकृत भएकाले पनि उप–निर्वाचनको मतपरिणाम आफ्नो पक्षमा आउनेमा ढुक्क छन् ।

विगतको आफ्नो विरासत कायम राख्दै आफ्नो नेतृत्वको स्थानीय सरकार सफल भएको, वर्तमान प्रदेश सरकार र संघीय सरकार विरुद्धमा जनमत बढ्न थालेको र प्रतिपक्ष दलका नेता शाहीको नेतृत्व सफल भएको सन्देश दिन कंग्रेसले उप–निर्वाचनलाई अहिलेसम्मकै ठूलो प्रतिष्ठाको अग्नी परिक्षाका रुपमा बुझेको छ । पार्टीको जिल्ला शक्तिलाई खार्पुनाथको निर्वाचन केन्द्रित गरेको कंग्रेसले कात्तिक २८ गते केन्द्रित सदस्य तथा कर्णाली प्रदेससभाका प्रतिपक्ष दलका नेता शाहीलाई हरेक गाउँका घर भेटघाटमा केन्द्रित गरेको छ । ‘२०७४ वैशाख ३१ को स्थानीय तहको निर्वाचन र मंसिर १० को प्रदेशसभाको निर्वाचनमा ठूलो मतान्तरले परिणाम आफ्नो पक्षमा पारेको कंग्रेस उपाध्यक्षका उम्मेरदवार तारा शाहीलाई निर्वाचित गराएर मंसिर १४ को उप–निर्वाचनको परिणामलाई कुनै पनि मूल्यमा आफू अनुकल ल्याउन चाहन्छ ।’ नेपाली कंग्रेसका नेता तथा खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावलले भने, ‘खार्पुनाथ गाउँपालिका हरेक वस्तीका सुख, दुःखमा कांग्रेसले नै नेतृत्वदायी भूमिका निर्वाह गरेकाले निर्वाचनको परिणाम आफू अनुकुल हुनेमा कुनै शंका छैन ।’

यस्तो छ चुनावी नणनीति

कर्णाली प्रदेशकै चासोका रुपमा हेरिएको खार्पुनाथ गाउँपालिकाको उपनिर्वाचनमा प्रमुख दलहरूले आ–आफ्नै चुनावी रणनीतिमा निर्वाचनको प्रचारप्रसार गरिरहेका छन् । कांग्रेसको लामो बिरासतमा पूर्णविराम लगाएर आफ्नो सफल चुनावी यात्राका रुपमा मंसिर १४ लाई हेरेको छ । नेकपाले जिल्लाका प्रमुख नेताहरूलाई एक–एक वस्तीको जिम्मा दिने तयारीमा छ । शुरुमा मास–प्रचार (कार्यकर्ता प्रदर्शन) को रणनीतिमा लागेको नेकपा आइतबारदेखि दुइवटा समूहमा विभाजन गर्दै घरदैलो र मतदाता भेटघाटमा आफ्नो प्रचार अभियानलाई परिवर्तन गरेको छ । पार्टीका प्रदेश अध्यक्ष बोगटीको नेतृत्वमा जिल्ला भरका नेता र कार्यकर्तालाई समाहित गरेर शक्ति प्रदर्शनको टोलीका रुपमा व्यवस्था गरेको छ भने उपाध्यक्षका उम्मेरदवार रुपा शाहीको नेतृत्वमा गाउँपालिकाभित्रका नेता तथा कार्यकर्तालाई मतदाता भेटघाट गर्ने टोलीका रुपमा अघि बढाएको छ ।

आफ्नो पुरानो प्रचारशैलीबाट केही पछि हटेको नेपाली कांग्रेस यो पटकको उप–निर्वाचनमा निकै सजग देखिन्छ । केन्द्रीय सदस्य शाहीकै गाउँमा भएको मतदान केन्द्रमा विपक्षीलाई मतदान गर्न नदिएको आरोप खेपेको कांग्रेस सुरक्षा प्रबन्ध र चारैतिरबाट भएको निगरानीका कारण पनि यो पटक त्यसो नगर्ने मनसायमा छ । शुरुदेखि नै सकेसम्म एउटा पनि घरधुरी नछुटाई घरदैलो कार्यक्रम गर्ने रणनीति अख्तियार गरेको कांग्रेसले स्थानीय नाता÷सम्बन्धलाई जोडेर भोट आकर्षित गर्ने अभियानमा केन्द्रित छ । निर्वाचन आचारसंहितालाई कडाई गरिए मौन अवधिपश्चात् गाउँपालिका बाहिरको शक्ति प्रचारमा बस्न नसक्ने आँकलन गरेको कांग्रेसले सकेसम्म नेकपाको जिल्लाको शक्तिलाई गाउँपालिकाबाट हटाउन चाहन्छ । आफ्नो पार्टीको आन्तरिक शक्तिले पालिकाको उप–निर्वाचनलाई काबुमा राख्न सक्ने अनुमानमा रहेको कंग्रेस आन्तरिक रुपमा जिल्लाको शक्तिलाई निर्वाचन क्षेत्रमा समेत केन्द्रित गर्ने योजना बनाइरहेको छ ।

सबैको नजरमा लाली

उप–निर्वाचनको निर्णायक क्षेत्रका रुपमा हेरिएको खार्पुनाथ– १ लाली सबैको प्राथमिकतामा परेको छ । मतदाता संख्याका हिसाबले पनि अन्य मतदान केन्द्रभन्दा बढी ८ सय ८९ मतदाता भएको मालिका माध्यमिक विद्यालय लालीको कांग्रेसले २०७४ निर्वाचनमा बिद्रोह गरेकाले पनि यो पटक सबै दलहरूको केन्द्रमा परेको हो । नेकपाका एक नेताकाअनुसार पार्टीबाट सँधै हेपिइएको भन्दै लालीको कंग्रेसलाई ०७४ कै सैलीमा अघि बढाउने सोचमा नेकपा छ । तर यसप्रति निकै सजग बनेको कंग्रेस कुनै पनि मूल्य चुकाउन तयार छ तर लालीका आफ्ना मतलाई नियन्त्रणमा राख्न जिल्ला पार्टी सभापती जयपती रोकायालाई नै केन्द्रित गरेको छ । आफ्नो पार्टीको राम्रो पकड भएको लालीमा शुरुमा फकाउने र त्यसले पनि नभए पर्टीको कारबाहीको लठ्ठी देखाएर भए पनि आफ्ना मत खेर जान नदिने रणनीतिमा कांग्रेस देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

E-Paper

१० मंसिर २०७६, मंगलवार ०७:४५