सकारात्मक रुपान्तरणको प्रचुर सम्भावना बोकेका कर्णाली प्रदेश

कर्णालीपत्र संवाददाता ८ मंसिर २०७६, आईतवार १०:२९
                                              डा. रामचन्द्र लामिछाने

विकास निरन्तर चलिरहने प्रक्रिया हो । प्राकृतिक स्रोतहरुको सन्तुलनता कायम राखेर जीवनलाई सहज र उत्साहवद्र्धक बनाउनु नै विकासको उद्देश्य हो । अर्थशास्त्री अमात्र्य सेनका अनुसार विकास भनेको नागरिकहरुको दक्षताको अभिवृद्धि हो । नागरिक दक्षताले स्वतन्त्रताको प्रत्याभुति गराउँदछ र स्वतन्त्रताले नागरिकहरुलाई मनपराएका वस्तुहरु प्राप्ति गर्ने अवसरमाथिको पहुँचलाई बढाउँदछ । अनेकौ मौलिक विविधताका वावजुद हाम्रो समाज एक अर्कामा अन्तरनिर्भर छ र यो समाज समृद्ध, शान्त र गतिशिल हुनका लागि प्रत्येक व्यक्तिका आधारभूत आवश्यकता, सामाजिक सरक्षा र आत्म सम्मानको सुनिश्चिता भएकै हुनुपर्दछ । विगतको पञ्चायत र बहुदलले यी तीनै कुराहरुको व्यवस्थापन गर्न नसक्दा गाउँदेखि शहरसम्म असन्तुष्टि र विद्रोह सिर्जना भएको कारण नै यो नयाँ र परिवर्तित अवस्था सिर्जना भएको हो ।

मानिसको चेतना नै सिर्जनाको मुहान हो र व्यक्तिको दक्षतासँगै नयाँ–नयाँ आविष्कार र सिर्जन हुन थाल्दछ । आज हिजो जस्तो होइन र भोलि आज जस्तो रहँदैन त्यसकारण विकासले जनताको जीवनमा सकारात्मक परिवर्तनको महशुस गराउने गरी समयको गति र नियमलाई बुझेर योजना, नीति तथा कार्यक्रमहरु बनाउनु पर्दछ । समयको नियम के हो भने प्रत्येक भोलि आज बनेर जीवनमा आउँदछ र हिजो बन्दछ । त्यसकारण हिजो, आज र भोलिमा हामीले कहाँ के कसरी प्रभाव पार्न सक्दछौ भन्ने कुरा पत्ता लगाउन जरुरी हुन्छ । एकछिन समयको नियम र त्यसको प्रभावको बारेमा कुरा गरौं । विगत भनेको बितेको समय हो । यो यस्तो अवस्था हो न त फिर्ता ल्याउन सकिन्छ न मर्मत गर्न नै सकिन्छ । यसबाट दुईवटा सिकाई हुन्छन् । एक सफलताका सिकाई अर्को असफलताको सिकाई । सफलतका कारण र प्रभावहरुको व्याख्या र विश्लेषणले मानिसलाई उत्साहित र सिर्जनशील बनाउँदछ, एक आपसमा जोड्दछ र थप उत्साह र सिर्जनशीलताका लागि प्रेरित गर्दछ । असफलताका कारण र परिणामको ब्याख्याले दोषारोपण, निराशा र निरुत्साहित बनाउँदछ । व्यक्तिलाई गैरजिम्मेवार, मतिभ्रष्ट, आलोचित, शंकालु र द्वन्द्वोन्मुख बनाउँदछ । व्यक्तिलाई अपराधी र दोषी प्रमाणित गर्नु छ भने असफलताका कारण र परिणामहरुको खोजि र व्याख्या गर्नुपर्दछ ।

वर्तमान भनेको हिजोका निर्णयहरुको परिणाम हो जुन परिवर्तन हुँदैन । हिजो गरिएका निर्णयहरुले नै आजलाई निर्धारण गर्दछ । भविष्य भनेको नै सकारात्मक रुपान्तरणको भण्डार हो । यदि यो भण्डारलाई नयाँ तरिकाले परिभाषित गरेर नयाँ–नयाँ योजना निर्माण गरेर ती योजनामा आधारित भएर कार्यक्रम सञ्चालन गरियो भने भविष्य वर्तमानमा आउँदा रुपान्तरणको अनुभव र महशुस गर्न सकिन्छ । प्रसिद्ध वैज्ञानिक अल्बर्ट आन्सटाईनका अनुसार परिकल्पना ज्ञानभन्दा शक्तिशाली हुन्छ । त्यसकारण चाहे जस्तो वर्तमान प्राप्तिका लागि भविष्यको परिकल्पना गरेर सो अनुसारको आचरण व्यवहार, नीति तथा कार्यक्रम बनाउनु पर्दछ । तर यदि भविष्यलाई विगतका असफलताका कारण र परिणामसँग जोडेर अगाडि बढ्यौ भने भविश्य पनि बिगत जस्तै बनेर जीवनमा आउँदछ । त्यसकारण नेपालीका अगाडि दुईवटा अवसरहरु विद्यमान छन । पहिलो, विगत लामो समयदेखि चल्दै आएको विगतका गल्ती तथा कमजोरीहरुको सुधार । दोस्रो, नयाँ र रुपान्तरणकारी भविष्यको निर्माण । यी दुईमध्ये सही विकल्पको छनौटले मात्रै नेपाल र नेपालीको भाग्य र भविष्यको फैसला गर्दछ । विकासको सन्दर्भमा हालसम्म नेपालका योजना निर्माण पद्धति, सरकारी नीति तथा कार्यक्रमहरु विगतका गल्ती तथा कमजोरीहरु सुधार्ने खालका छन् । त्यसकारण वर्षेनी खरबौ रुपैयाँ विकासको नाममा खर्च हुँदा पनि देशले विकासमा गति लिन सकेको छैन ।

वर्तमान प्रधानमन्त्रीको विकासको चाहना र हुटहुटी अत्यन्तै अनुकरणीय र प्रेरणादायी छ तर सरकारका नीति तथा कार्यक्रमहरु र योजना आयोगको गतिविधि विगतलाई सच्याउने खालको मात्रै भएको कारण जनताले फरक महशुस गर्न सकेका छैनन् भने देशले नयाँ गति लिन सकेको छैन । संघीय सरकार, प्रदेश सरकार र अधिकांश स्थानीय सरकारहरु विगतलाई सुधार्न तल्लिन छन् । जसको अधिकतम प्रतिफल भनेको नै यथास्थितिको निरन्तरता र विकासका प्रतिफलबाट गरिवको विस्थापन हो । योजना तर्जुमा यो र यस्तै पद्धतिले यो सरकारको कार्यकालको अन्तसम्म पनि जनताले विकासको महशुस गर्न पाउने छैनन् र समग्रमा सरकार असफल प्रमाणित हुनेछ ।

योजना आयोग र सबै तहका सरकारको विकासको हालको मोडल पूँजीवादी विकासको असफल नमूना हो । अहिले भईरहेको विकासको प्रकृयाले समाजवादको आधारशीला ध्वस्त गर्दै गरिव र धनीको बीचको खाडलको अभिवृद्धि गरिरहेकोछ । समग्र रुपमा यस मोडलमा पुर्नविचार गरेर देशलाई विकासे दुर्घटनाबाट अवतरण गर्नुपर्दछ । नयाँ संविधानले दिएको स्वायत्तताको सदुपयोग गर्दै प्रदेश सरकार र स्थानीय सरकारले २१औं शताब्दीको ज्ञानमा आधारित विकासको नमूनालाई आधार मानेर विकास योजनालाई तर्जुमा गरेर कार्यान्वयन गरेमा द्रुत र दिगो विकास सम्भव हुन्छ । एक्काईसौ शताब्दीको विकासको स्रोत भनेको नै जनताको सोच र व्यक्तिगत दक्षता हो । विकासका आधारभूत तत्व भनेको जनता, समाज र वातावरण हो । हाम्रा वरिपरी भएका प्राकृतिक तथा सांस्कृति स्रोतहरुको अनुकरणीय सदुपयोग नै विकास हो । त्यसकारण उपलब्ध स्रोत र साधनहरुको अधिकतम सदुपयोगको लागि जनताको तयारी र चाहना प्रथम शर्त हो । स्रोत तथा साधनको अधिकतम सदुपयोगको लागि जनताको दक्षता तथा क्षमतामा व्यापक वृद्धि गरिनुपर्दछ । सीप र दक्षताको अभावमा आफनै अगाडि भएका स्रोत तथा साधनको मूल्य बुझ्न नसकेर मानिसहरु शहर तथा बजारतिर विस्थापित भएका छन् र बहुमूल्य स्रोत तथा साधनहरु खेर गइरहेका छन् । उपलब्ध स्रोतको सिर्जनशील सदुपयोग गर्न सक्ने सामथ्र्य र क्षमताले व्यक्तिको स्वतन्त्रता र आत्मसम्मानलाई प्रवद्र्धन गर्दछ भने यसले वैदेशिक आयलाई प्रतिस्थापन गरी आत्मनिर्भर अर्थतन्त्रको जग निर्माण गर्दछ ।

कर्णाली प्रदेश प्रचुर सम्भावना भएको देशको आकर्षक र मनोरम प्रदेश हो । यस प्रदेशको विकासको आधार भनेको नै जनशक्ति, जडीबुटी, पर्यटन, कृषि र लघु उद्यम हुन् । प्राकृतिक रुपमा मनोरम र सुन्दर यस प्रदेशमा थप प्रदुषण फैलाउने कुनै पनि उद्योगहरुको स्थापना कडाईका साथ प्रतिबन्ध लगाउनु पर्दछ । यहाँको समृद्धिको आधार नै जैविक सन्तुलन सहितको विकास हुनुपर्दछ । जैविक सन्तुलन नै प्रादेशिक पहिचानको रुपमा स्थापित गरिनु पर्दछ । २१औं शताब्दीको पर्यटन दृश्यावलोकन र सौन्दर्यताले मात्रै प्रयाप्त हुँदैन । पर्यटन विकासका लागि आधारभूत तत्व भनेको ज्ञान तथा प्रज्ञान सहितको स्थानको प्राज्ञिक पहिचान हो । जव संसार भरी यस प्रदेशवाट दीक्षित विद्यार्थीहरु फैलिन्छन् अनिमात्रै कर्णाली प्रदेश दुनियाँको एक अपरिहार्य गन्तव्यस्थल बन्दछ र यहाँको पर्यटन दिगो र गुणस्तरीय हुन्छ । भौगोलिक, सांस्कृतिक, आध्यात्मिक तथा प्राकृतिक सम्पदाको अनुपम संगमस्थलको रुपमा रहेको यो प्रदेश, मानवशास्त्र, प्राकृतिक श्रोत व्यवस्थापन, भौगर्विक शास्त्र, कलाशास्त्र, सूचना तथा प्रविधिक, जडीबुटी, पर्यटन तथा पत्रकारिता जस्ता विषयका शिक्षाको एशीयन हब बनाउन सक्नु पर्दछ । यदि शैक्षिक गन्तव्यस्थलको रुपमा विकास भयो भने मात्रै यस प्रदेशमा गुणस्तरीय र क्षमतावान पर्यटक आगमन हुन सक्दछ । विगत एक वर्षलाई स्वतन्त्रतापूर्वक मूल्यांकन गर्ने हो भने प्रदेशले लिक परिवर्तन गर्नपर्ने देखिन्छ ।

दक्ष जनशक्तिले मात्रै सबै उत्पादनलाई पर्यटकीय वस्तुहरुमा रुपान्तरण गरेर आकर्षक रुपमा प्रस्तुत गर्न सक्दछन् र गुणस्तरीय पर्यटन व्यवसाय प्रवद्र्धन हुन सक्दछ । स्मरण रहोस् पर्यटन भनेको भौतिक पूर्वाधारभन्दा बढी प्रस्तुति र विश्वास हो । जब यस प्रदेशमा आउने पर्यटकले पनि फ्लोरिडा, सिंगापुर तथा स्वीजरल्यैण्डको जस्तो सम्मान तथा वैद्धिक आथित्यता पाउँदछन् तबमात्र क्षमतावान र गुणस्तरीय पर्यटकको रोजाईमा कर्णाली प्रदेश आउनेछन् । सरकारी स्तरबाट अपनाउन पर्ने गुणस्तरका साथसाथै यहाँको समग्र समाजमा पर्यटन संस्कृतिको वैज्ञानीकरण यहाँको पर्यटन विकासको अदृश्य तत्व हो ।

जडीबुटी तथा कृषि उपजको उत्पादन तथा उद्यमशीलता यहाँको अर्को अवसर हो । समग्र प्रदेशलाई उच्च मूल्य प्रजातीका जैविक वस्तु उत्पादन क्षेत्रको रुपमा विकास गर्न यहाँका सबै जनतामा उच्च स्तरको वैज्ञानिक चेतना आवश्यक छ । प्रत्येक व्यक्तिको उत्पादन तथा व्यवसायिक योजनामा आधारित रहेर उत्पादनमा संलग्न हुनुपर्दछ । प्राविधिक, उद्यम तथा बजारीकरणमा सबै क्षेत्रमा किसानलाई विज्ञ बनाएर आवश्यक पर्ने भौतिक पूर्वाधारमा सरकारले लगानी गर्नुपर्दछ । स्मरण रहोस् ज्ञान बिनाको भौतिक पूर्वाधार भ्रष्टचारका स्रोतहरु हुन् । त्यसकारण विकासको नयाँ मोडललाई अनुसरण गर्ने हिम्मत गर्न सक्नुपर्दछ । यस सन्दर्भमा अल्वर्ट आन्सटाइनले भनैको भनाइ बारम्बार उही काम गरेर फरक परिणामाको आश गर्नु पागलपन हो भन्ने भनाइ निकै सान्र्दभिक हुन्छ ।

देश अहिले पूँजीवादको चपेटामा छ र अधिकांश स्थानीय, प्रादेशिक तथा सिंगो सरकार सञ्चालनका सारथी रुपमा रहेको कर्मचारी तन्त्र समाजवादी भन्दा पूँजीवादी व्यवस्थापवाट प्रशिक्षित समूह छ । यस्तो अवस्थामा देशलाई समाजवादी मार्गमा डोर्याउन राजनीतिक नेतृत्वले उच्च कल्पनशीलता सहितको समाजवादी दृष्टिकोण अपनाउन जरुरी छ । परिवर्तित अवस्थामा समाजवादको प्रारुपको नमूना तयार गर्न व्यापक छलफल र परामर्श गरेर प्रदेश विशिष्टको नमूना तयार गरी समाजवाद उन्मुख समाज निर्माण गर्ने जनशक्तिमा आधारित योजना तुर्जमा गरेर कार्यान्वयन गर्न परमपरागत विकास मोडललाई तिलाञ्जली दिँदै नयाँ विकास मोडल तयार गर्ने हिम्मत गर्नुपर्दछ । विकासको नयाँ मोडलमा समग्र कर्मचारीहरु, जननिर्वाचित जनप्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरु तथा उद्योगी तथा व्यापारीहरुलाई प्रशिक्षित गर्नुपर्दछ । जनताको दक्षतालाई केन्द्रविन्दुमा राखेर विकास निर्माणका गतिविधिलाई सञ्चालन गर्ने हिम्मत देखायो भने यो प्रदेशले विकासमा नयाँ नमूना प्रस्तुत गर्न सक्ने कुरामा दुईमत छैन । समय छदै सरकारलै विकासका नयाँ मोडल निर्माण गर्न सकोस्, अग्रगामी सोच र कार्यका लागि प्रदेश सरकारलाई शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२०७६-०८-०८

८ मंसिर २०७६, आईतवार १०:२९

सम्बन्धित शीर्षक