दुर्गमको शिक्षाः पढाई नसक्दै परीक्षा

कर्णालीपत्र संवाददाता ८ मंसिर २०७६, आईतवार ०९:५५

कर्णालीपत्र, जुम्ला । जुम्ला जिल्लाका १ सय ७० वटा विद्यालयका विद्यार्थी पूरा कोर्ष पढाई नसकेर वार्षिक परीक्षामा सामेल भएका छन् । गएको फागुन १ गतेबाट शैक्षिक सत्र २०७५ को पढाइ शुरु भए पनि विद्यालयको पढाइ नियमित नभएकाले केही विषयको कोर्ष आधामात्र पढाई भएकाले विद्यार्थीहरू हचुवाका भरमा वार्षिक परीक्षामा सामेल भएका हुन् ।

कनका सुन्दरी १ जुम्लाका पुजनकुमार उपाध्याय गाउँकै कनका सुन्दरी माध्यमिक विद्यालयको कक्षा १० मा पढ्छन् । आगामी चैतमा उनी माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सामेल हँुदैछन् । विद्यालयले मंसिर ५ गतेदेखि शुरु गरेको वार्षिक परीक्षामा सामेल भएका उनी भन्छन्, ‘यो वर्ष पनि कोर्ष पूरा नभएरै वार्षिक परीक्षा दिनुप¥यो । थाहा छैन परिणाम कस्तो आउँछ ।’ परीक्षामा के लेख्ने भन्ने अन्योल भएको बताएका उनले भने, ‘विज्ञान र लेखा विषय बाहेक अन्य विषयको कोर्षको पढाई पूरा नै भएको छैन । परीक्षामा आएका प्रश्नपत्रमा के लेखेर ५० अंक ल्याउने भन्नेमा हामी (विद्यार्थी)लाई निकै ठूलो समस्या परेको छ ।’

उनका अनुसार जिल्लाबाट तयार पारिएका प्रश्नपत्रले त कक्षा १० को परीक्षा पार लगाइएला तर देशभरबाट प्रतिष्पर्धा हुने एसइइको परीक्षामा नपढेका कोर्षबाट आउने प्रश्नको हल कसरी गर्ने भन्नेमा अधिकांश विद्यार्थीलाई धेरै चिन्तित बनाएको छ । कनका सुन्दरी विद्यालयमा अध्ययनरत ५ सय ७० जना विद्यार्थी नै आफ्नो कोर्षको पढाई पूरा नभएरै वार्षिक परीक्षा दिइरहेका छन् ।

‘फागुनको पहिलो सातामै पढाई सूचारु हुने भनिए पछि चैतबाट मात्रै पढाई शुरु हुने, बीचमा अस्वाभाविक रुपमा शिक्षक अनुपस्थित हुने गरेका कारण कोष पूरा नभएको हो ।’ कर्णाली माध्यमिक विद्यालय अनामनगरको कक्षा १० मा अध्ययनरत अनिता नेपालीले भनिन्, ‘आउँदो चैतमा एसइइ दिने म सँगैका १ सय ५० जना विद्यार्थीलाई अहिले हरेक दिन यही चिन्ताले पिरोलेको छ ।’

कक्ष १० मा मात्रै होइन तल्ला तहका कक्षाहरूमा समेत कोर्षको पूरा पढाई नसकिएरै वाषर््िाक परीक्षामा सामेल हुन परेको छ । तातोपानी गाउँपालिका–१ को गणेश आधारभूत विद्यालय राँकमा कक्षा ६ का जीवन कठायतका अनुसार अंग्रेजी र गणीत विषयको पढाई सकिन अझै ४÷५ वटा पाठ बाँकी नै छन् ।

विद्यालयका शिक्षक कहिले बैठक, कहिले घरको काम त कहिले आफ्नो परीक्षाका नामले नियमित विद्यालयमा अनुस्थित भएपछि पूरा पढाई नभएको नेपाल राष्ट्रिय विद्यालयका जन रावतले बताए । कक्षा ५ मा अध्यनरत रावतले कर्णालीपत्रसँग भने, ‘सरले पढाइ नभएका पाठबाट प्रश्न सोधिदैन भन्नुभएको थियो तर परीक्षामा नपढेका पाठबाट पनि प्रश्न सोधिएको थियो ।’ कक्षा कोठामै सरले नपढाएको पाठबाट आएको प्रश्न आफूसँगै कक्षाका सबै विद्यार्थीले छोडेको रावतले जानकारी दिए ।

यस बारेमा जिल्लाको शिक्षा सम्बन्धी नियमन गर्ने निकायले भने खासै प्रतिक्रिया दिएन । शिक्षा विकास तथा समन्वय ईकाई जुम्लाका प्रमुख मक्कर भण्डारी भन्छन्, ‘शिक्षकको अनुगमन, नियन्त्रण र तलब खुवाउने काम समेत स्थानीय तहमै गएकाले पछिल्लो समय विद्यालयका तत्कालीन गतिविधिका बारेमा हामीलाई जानकारी धेरै हुँदैन ।’ आफ्नो निकायभित्रका विद्यालयमा भएको शैक्षिकस्तरका बारेमा गाउँपालिका नै प्रमुख जिम्मेवार निकाय भएको उनको भनाई छ ।
जिल्लाको रेकर्ड अनुसार जुम्लामा ९२ आधारभूत, ३१ निम्नमाध्यमिक र ४७ माध्यमिक विद्यालय गरेर १ सय ७० वटा सामुदायिक विद्यालय छन् । सबै विद्यालयमा अध्ययन गर्ने छात्र÷छात्राको संख्या १९ हजार २ सय ८४ छ । जसमा निमावि तहमा ७ हजार ७ सय २९, माध्यमिक तहमा ४ हजार १ सय ४१ जना विद्यार्थीहरू अध्ययनरत छन् ।

सरकारले विद्यालयमा तय गरेको पाठ्यक्रमअनुसार हरेक शैक्षिकमा २ सय २० दिन विद्यालय खोल्ने र १ सय ९२ दिन अनिवार्य कक्षा कोठामा पढाइ गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ । तर जुम्लालगायतका कर्णालीका हिमाली जिल्लामा यो नियम कहिल्यैँ लागू नहुँदा केर्ष पूरा नभएरै विद्यार्थी वार्षिक परीक्षामा सामेल हुनु परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वास्थ्य राज्यमन्त्री रावत भन्छनः कालागाँउमा मेडिकल कलेज

८ मंसिर २०७६, आईतवार ०९:५५
भर्खरै स्वास्थ्य राज्यमन्त्रीमा पदभार ग्रहण गरेर गृह जिल्ला सुर्खेत आएका राज्यमन्त्री रावतले शनिबार यस्तो बताएका हुन् ।

सम्बन्धित शीर्षक