राजनीतिमा हतास नहुँदाको परिणाम : हार्दा हार्देको जीत 

कर्णालीपत्र संवाददाता ७ मंसिर २०७६, शनिबार ०९:१६

सुर्खेत । अरु समयभन्दा बुधबार उनी छिट्टै साढे सात बजे सुतिसकेका थिए । राति ९ बजेदेखि लगातार उनको मोबाइलको घण्टी बज्यो, तर उनले सुनेनन् । उनलाई राज्यमन्त्री भएको जानकारी र बधाई आएको रहेछ । मोबाइलमा आएको घण्टी नसुनेका उनलाई पौने दश बजेतिर ल्याण्डलाइन टेलिफोनले  बिउँझायो ।   शुरुमा डोटीका एकजना कार्यकर्ताले राज्यमन्त्री भएको खबर सुनायो । पहिला त मैले होइन भनेर पत्याएन । त्यसपछि लगातार मोबाईलमा घण्टी बज्न थालेपछि बल्ल विश्वास लाग्न थाल्यो । सुर्खेत क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद नवराज रावतले आफू राज्यमन्त्री भएको पहिलो सूचना बुधबार राति पाउँदाको अनुभव सुनाए । उनले भने, ‘मन्त्री मण्डल हेरफेर गर्ने कुरा चलिरहेको थियो सामान्य हिसाबले नेता कहाँ कुरा पु¥याए पनि मन्त्री भइहाल्छु भन्ने विश्वास थिएन । तर आशा चाहीँ राखेको थिए ।’

हारे पनि मन्त्री बन्ने इच्छा

रावतले सांसद नहुँदै मन्त्री बन्ने आफूमा इच्छा जागेको खुलासा गरे । २०६४ सालको संविधानसभाको निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर ३ बाट संविधानसभा सदस्य निर्वाचनमा जित्न सकिएन । त्यतिबेलाको संविधानमा सांसद नभए पनि मन्त्री बन्नसक्ने प्रावधान थियो । मैले आफूसँग नजिक रहेका केही नेताहरुलाई  मन्त्री हुने इच्छा व्यक्त गरँे । तर चाहानाले मात्र हुँदो रहेनछ । त्यतिबेला मन्त्री नभएपछि पहिलो पटक सांसद बनेसँगै मन्त्री बन्ने इच्छा जाग्यो । यस पटक चुनाव जितिसकेपछि सबैभन्दा पहिले २०७४ पुष ७ गते म काठमाडौँ गएँ । नेताहरुलाई मन्त्री हुन इच्छुक रहेको जानकारी गराए । धेरै मिडियाहरुले मेरो नाम मन्त्री बन्ने सूचीमा रहेको सार्वजनिक गरे । अन्तिममा डोल्पाका धनबहादुर बुढा र म मध्ये एकजना छान्नुपर्ने  थियो । धनबहादुर जीलाई राज्यमन्त्री बनाइयो । म चर्चा मै सीमित रहे ।

राजनीतिमा हतास नहुँदाको परिणाम

पटक पटक निर्वाचन हारेपछि रावतको राजनीति सकियो भन्ने पनि धेरै थिए । धेरैले त कति पटक टिकट चाहिएको भनेर हतोत्साहित पनि बनाए । हुन पनि पछिल्लो संसदको निर्वाचनसम्म उनी चौथो पटक निर्वाचन लडेका थिए । एक दुई पटक चुनाव हारेपछि केही मान्छेहरु बिरक्तिएर लाखापाखा लागे रावत भन्छन्, ‘राजनीतिमा आत्तिनु र मात्तिनु हुँदैन भन्ने मलाई थाहा थियो । म असफल भए पनि निरन्तर लागिरहे ।’

उपप्रधानपञ्चको उमेदवारदेखि राज्यमन्त्रीसम्म

शुक्रबार साँझ कर्णालीपत्रसँगको कुराकानीमा उनले आफ्नो रोचक अनुभव सुनाए । म त सधै धेरै पटक हारेको मान्छे, मनोवल उच्च भएर नै यहाँसम्म आईपुगेको हुँ । हुन पनि उनको चुनावी यात्रा लामो थियो । २०४३ सालमा तत्कालीन बावियाचौर गाउँ पञ्चायतमा उनी उपप्रधानपञ्चको उमेदवार बने, पञ्चायतको जगजगिमा जित्ने सम्भावना थिएन । २०४९ सालमा तत्कालीन बावियाचौर गाउँ विकास समितिको अध्यक्ष पदमा तत्कालीन नेकपा एमालेबाट उमेदवार बनेका रावतले दोस्रो मै चित्त बुझाउनु प¥यो । सुर्खेत पश्चिममा खासै संगठन नरहेको कम्युनिष्टलाई चुनाव जित्न गाह्रो थियो । ३१ वर्षको उमेरमा सुर्खेत क्षेत्र नम्बर ३ बाट उनी २०५१ सालको मध्यावधि निर्वाचनमा उमेदवार बने । सांसदको पहिलो पटक उमेदवार बनेका रावतको अनुभव नौलो थियो ।

चुनाव जितिदँैन संगठन बचाउन भन्दै तत्कालीन अवस्थामा उनलाई टिकट दिइएको थियो । त्यसो त उनको विकल्पमा खासै अरु पनि देखिदैंनथें । तर उनी पार्टीले आँकलन गरेको भन्दा कम जम्मा (१८ सय २७ मत) ले मात्र पराजित भए । ‘पश्चिममा खासै कार्यकर्ता थिएनन् । चुनाव लड्ने पैसा पनि थिएन । पार्टी केन्द्रले चुनाव लड्न जम्मा २ हजार पैसा पठाएको थियो त्यसैको भरमा चुनाव लडँे’ रावत सम्झिन्छन् । सांसद चुनाव लडेका रावतलाई २०५४ सालमा जिल्ला विकास समितिको उपसभापति पद हात लाग्यो । उनी सभापतिको दावेदार थिए । तर तत्कालिन एमाले विभाजनपछि पार्टी भित्रको आन्तरिक खिचातानीले उनी उपसभापतिमा चित्त बुझाउन बाध्य भए । उपसभापति पदमै भएकाले २०५६ को आम निर्वाचनमा पार्टीले उनलाई टिकट दिएन । खासै संगठन नभएको र जित्न नसकिने भन्दै महिला कोटा पु¥याउन नन्दा शर्मालाई टिकट दियो । रावत भन्छन्, ‘पार्टीले माथिबाट हेपेको थियो । तर नन्दा कमरेडले पनि राम्रो मत ल्याउनुभयो । पार्टी नफुटेको भए त्यतिबेला देखि नै पश्चिममा हामीले जित्ने रहेछौँ ।’

२०५९ देखि २०६४ सम्म तत्कालीन माओवादी विद्रोह र राजाको शाही शासनमा निर्वाचन भएन । २०६२÷०६३ को जनआन्दोलन पछि पहिलो संविधानसभा निर्वाचन (२०६४)मा  उनले फेरि सुर्खेत क्षेत्र नम्बर ३ बाट टिकट पाए । तत्कालीन माओवादीको देशभर जनलहर चल्दै गर्दा रावत आफू चुनाव जित्नेमा ढुक्क थिए । उनी भन्छन्, ‘कांग्रेसको खासै संगठन थिएन । माओवादीप्रति जनविश्वास देखिदँैन थियो । तर परिणाम उल्टो भयो । धेरै ठाउँमा बुथ कब्जा भएछ, धेरै ठाँउमा हाम्रा कार्यकर्तामाथि कुटपिट भयो, तत्कालीन माओवादीको जसरी पनि चुनाव जित्ने उद्देश्य थियो ।’ त्यसपटक पनि उनले दोस्रोमा चित्त बुझाउनुप¥यो । पहिलो संविधानसभा विघठन भएपछि दोस्रो संविधानसभाको निर्वाचन २०७० मा पनि उनी सोही क्षेत्रबाट उम्मेदवार बने ।

तत्कालिन जिल्ला पार्टी उपाध्यक्ष शिवप्रसाद उपाध्यायले क्षेत्र नम्बर २ बाट विद्रोही उम्मेदवारी दिएका थिए । रावत भन्छन्, ‘विद्रोही उम्मेदवारको असर जिल्लाभरि प¥यो । जितेर पनि हामीले चुनाव हा¥यौँ । दोस्रो संविधानसभाको निर्वाचनबाट सांसद बन्ने उनको धोको पूरा हुन सकेन । यस पटक पनि उनी दोस्रो मै सीमित भए । संविधान निर्माण कार्य पूरा भइसकेपछि संघ र प्रदेशको निर्वाचन आयो । धेरैले उनलाई ‘हरुवा नेता’को संज्ञा दिँदै टिकट नदिन लबिङ गरे । उनी भन्छन्, ‘हार्ने उम्मेदवारलाई किन टिकट दिने भनेर मेरो विरुद्ध ठूलै लबिङ भएछ । तल्लो तहबाट पहिलो नम्बरमा सिफारिस भएर आइसकेपछि मैले टिकट पाएँ ।’ चौथो पटक सांसदको चुनाव लड्दा जित्नेमा उनी ढुक्क थिए । वामगठबन्धन बनेको र पार्टीको संगठन पनि राम्रो भएकाले यसपटक त चुनाव ग्यारेण्टी जितिन्छ भन्ने थियो । नभन्दै रावतले नेपाली कांग्रेसका उमेदवार हृदयराम थानीलाई ८ हजारभन्दा धेरै मतान्तरमा पराजित गरे । २५ वर्षअघि शुरु भएको उनको सांसद बन्ने धोको बल्ल पूरा भयो । सांसद भएको पहिलो पटकमै उनी स्वास्थ्य राज्यमन्त्री भए ।

ऋषि शर्माबाट चौथो पटक पनि उत्तर आएन

तत्कालीन नेकपा एमालेको जिल्ला नेतृत्व लिन भोग्नुपरेको अनुभव बारे रावतले यसरी सुनाए, ‘तत्कालिन एमालेको पाँचौँ अधिवेशनको तयारी थियो । २०४८ देखि नै जिल्ला सदस्य, सचिवालय सदस्य हुँदै आएकोमा मैले सचिवको तयारी गरेको थिए । त्यति बेला भुषण मानन्धर उपसचिव हुनुहुन्थ्यो । तत्कालीन सचिव ऋषिप्रसाद शर्माले (हाल स्वर्गीय) आफूपछि भुषण जीलाई सचिव बन्न आग्रह गर्नुभयो । भुषण जीले घर सल्लाह गर्छु भन्नुभयो । एक महिना पुग्दा पनि उहाँ (भुषण जी)ले निधो नगरेपछि म एकदिन बिहानै ऋषि जीको कोठामा पुगेर आफू सचिवको उम्मेदवार भएको जानकारी गराए । उहाँ जुरुक्क उठ्नुभयो ।

म पछिपछि लाग्दै मंगलगढी चोकसम्म पुगे । केहि बोल्नु भएन । फर्केर उहाँको कोठा पुग्दासम्म चौथो पटक सोधे तर पनि केही जवाफ दिनु भएन । अनि लाई लाग्यो उहाँ (ऋषि जीको) आफै सचिव बन्ने इच्छा रहेछ । एक दिन बुलबुले एफएममा अन्तर्वार्ताको लागि बोलाइयो । मैले त्यतिबेला आफू सचिवको उम्मेदवारको घोषणा गरे । तल चिया पसलमा ऋषि जी सुनेर बस्नु भएको रहेछ । मलाई देख्नासाथ के बोलेको भनेर मुसुक्क हाँस्नुभयो । खासमा भुषणजीलाई अघि सारे पनि उहाँको आफ्नो इच्छा रहेछ । अधिवेशनमा सदस्य भइसकेपछि अन्तिममा सचिव बनाउने समय आयो । आफुनै नहुने भएपछि मलाई प्रस्ताव गर्नुभयो । निर्वाचन भयो जम्मा २५ सदस्य मध्ये १६ मत पाएर मैले सचिव जिते ।

देखिने गरी काम गर्छु

राज्यमन्त्री  नियुक्त भएपछि उनलाई बधाई थाप्न भ्याई नभ्याई छ । बिहीबार मन्त्रालयको कार्यभार सम्हालेका रावतको पहिलो हस्ताक्षर थियो, प्रदेश अस्पतालमा दुई जना विशेषज्ञ शल्य चिकित्सक पठाउने । उनले यसलाई सुखद् संयोग मान्छन् । ‘जहाँबाट प्रतिनिधित्व गरे, त्यही ठाँउको लागि पहिलो हस्ताक्षर गर्न पाउँदा मलाई अति नै खुशी लागेको छ ।’ उनी भन्छन,  ‘यो ठाउँमा आइपुग्नेबेलासम्म धेरै राजनीतिक यात्रा तय गरे पनि राजकीय यात्रा भने मेरो लागि पहिलो पटक हो । रहरले मात्र होइन बेला आएपछि मन्त्री भइदोरहेछ भन्ने मैले बुझेको छु । संसदमा खास गरी कर्णाली र समग्र देशकै हितका विषयमा मैले धेरै आवाज उठाएको छु । म मन्त्री भएको स्वास्थ्य मन्त्रालय जनतासँग सिधै जोडिएको क्षेत्र हो । अझै पनि स्वास्थ्य क्षेत्रमा धेरै  समस्याहरु छन् । सुर्खेतकै सन्दर्भमा पनि प्रदेश अस्पतालमा आवश्यक पूर्वाधार र जनशक्तिको अभाव छ । बिकट कर्णालीको अवस्था त झन् दयनीय छ । मप्रति भरोसा गरेका नेता कार्यकर्ता तथा जनतालाई मैले देखिने गरि काम गर्नुपर्नेछ । आफ्नो विवेकले भ्याएसम्म इमान्दार भएर लाग्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जोगवीर रोकायाको जीवन, व्यवहार र विचार

७ मंसिर २०७६, शनिबार ०९:१६
उहाँ नेकपा (माओवादी) को हुम्ला जिल्लाको पहिलो जिल्ला सेक्रेटरी हुनुहुन्थ्यो । पार्टी एकता नहुँदासम्म नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सल्लाहकार हुनुहन्थ्यो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शुभचिन्तक हुनुहुन्थ्यो ।