अस्पतालमा मुस्कानसहित सेवा

कर्णालीपत्र संवाददाता ५ मंसिर २०७६, बिहीबार ०७:११

चन्द्रा कँडेल । सुर्खेत
अस्पतालमा स्वास्थ्यकर्मीले बिरामीप्रति गर्ने व्यवहार कस्तो हुन्छ ? धेरैको उत्तर हुन्छ, कठोर । तर अब स्वास्थ्यकर्मीले कठोर हैन, मुस्कानसहितको सेवा दिने भएका छन् ।

अस्पतालमा बिरामी र आफन्तसँग केही सोधीहाले रिसाउने, झर्किने र बिरामीको भावना नबुभ्ने आलोचना भइरहेको बेला स्वास्थ्य सेवामा कार्यरत नर्सहरुले अब मुस्कानसहित सेवा दिने भएका हुन् ।

नेपाल नर्र्सिङ संघ सुर्खेतले आयोजना गरेको तीन दिने छलफल कार्यक्रममा नर्सहरुप्रति रहेको नकारात्मक धारणा हटाउनुपर्नेमा सहभागीले जोड दिएका छन् । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत नर्सिङ अधिकृत सकुन्तला सापकोटाले नर्र्सहरुले बिरामीलाई मुस्कानसहितको स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बताइन् । स्वास्थ समाज निर्माणका लागि नर्र्सहरुको अतुलनीय भूमिका रहेको भन्दै अधिकृत सापकोटाले स्वास्थ्य पेशामा आवद्ध नर्र्सहरुले आफूले दिने सेवालाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिइन् । राम्रो बोली र व्यवहारले पनि बिरामीको केही प्रतिशत रोग निको पार्न सकिने अधिकृत थापाको भनाई छ । नेपाल नर्सिङ काउन्सिलका सदस्य प्राध्यापक डाक्टर तारा शाहले एउटै नर्सले धेरै बिरामी हेर्न पर्ने र घर परिवारलाई समय दिनुपर्ने हँुदा रिस उठ्न सक्ने भन्दै त्यसलाई व्यवस्थापन गर्न सुझाव दिइन् ।

वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले सेतो कोट लगाउने नर्सप्रति आम मानिसकको धारणा सकारात्मक हुनुपर्ने धारणा राखिन् । उनले स्वास्थ्य क्षेत्र अत्यन्तै संवेदनशील भएकाले सेवा प्रवाह गर्दा व्यवहारमा सरलता ल्याउनुपर्नेमा जोड दिइन् । स्वास्थ्यकर्मीप्रति एउटा बिरामीले आफ्नो जीवन देखेको हुन्छ भन्दै उपप्रमुख ढकालले नर्सहरुलाई आफ्नो पेशा र सेवाप्रति अझ जनविश्वास बढाउने गरी काम गर्न सुझाव दिइन् । वीरेन्द्रनगर नगरपालिकाका प्रशासकीय अधिकृत टिकाराम ढकालले आफ्नो सीप र क्षमताको प्रदर्शन हाँसेर गर्न सुझाव दिए । ‘तपाईहरुले मानव सेवा गरिरहनु भएको छ, यति ठूलो सेवामा थोरै मुस्कान थपि दिनुुस्’ उनले भने ।

स्वास्थ्य सेवामा कार्यरत नर्सहरुलाई सकारात्मक भावना जागृत गरी सेवा प्रवाहमा अझ जिम्मेवार बनाउन कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा कर्णाली प्रदेशका ९० जना नर्सहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हुम्लामा उपनिर्वाचन : दलहरूबीच ६ बुँदे सहमति

५ मंसिर २०७६, बिहीबार ०७:११
आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि हुम्लाका राजनीतिक दलहरूले विभिन्न ६ वटा विषयमा सहमति गरेका छन् ।

सम्बन्धित शीर्षक