विद्यालयमा स्वचालित सेनेटरी प्याड मेसिन

कर्णालीपत्र संवाददाता ३ मंसिर २०७६, मंगलवार ०९:२४

कर्णालीपत्र
सिमकोट । सदरमुकाम सिमकोटका सात वटा माध्यमिक विद्यालयमा पहिलो पटक स्वचालित सेनेटरी प्याड मेसिन जडान गरिएको छ । महिनावारीका कारण विद्यालयमा छात्राहरूको उपस्थिति घट्दै गएपछि सिमकोट गाउँपालिकाले पहिलो पटक माध्यमिक विद्यालयमा उक्त मेसिन जडान गरेको हो ।

विद्युतीय कार्डको सहायताले सेनेटरी प्याड निस्कने र प्रयोग पश्चात् सोही मेसिनमा नष्ट गर्नका लागि राखिने व्यवस्था सहितको स्वचालित मेसिन पहिलो पटक विद्यालयमा राखिएको सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले जानकारी दिए । ‘गाउँपालिका मातहतका विद्यालयमा गरेको सर्वेक्षणले महिनावारीका कारण छात्राहरूको विद्यालय नआउने दिन निकै धेरै देखियो’ दर्जीले भने, ‘त्यही समस्यालाई मध्यनजर गर्दै छात्राहरूलाई नियमित हाजिर गराउन हामीले यो मेसिन सात वटै माध्यमिक विद्यालयमा राख्ने निर्णय गरेका हौं ।’

मेसिनको खरिद र ढुवानीसहित प्रति मेसिनको एक लाख २० लाख रूपैयाँको हाराहारीमा परेको बताएका दर्जीले सोमबार सिमकोटको मानसरोवर, बालमन्दिर र ठेहेको रलिङ्ग माध्यमिक विद्यालयमा मेसिन जडान गरिएको जानकारी दिए ।  ‘छात्रसरह छात्राको हाजिरीमा वृद्धि गर्न र शिक्षण सिकाइ उपलब्धिमासमेत वृद्धि गर्न विद्यालयमै स्वचालित सेनेटरी प्याड मेसिन राख्ने काम गरेका हौं ।’ गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले भने, ‘यसले अब महिनावारीको समयमा हुने स्वास्थ्य समस्याका कारण कोही नानीहरूले विद्यालय छोड्नुपर्ने छैन ।’

प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले महिनावारीको समयमा हुने समस्याले दुर्गमका छात्रहरूलाई निकै पीडित बनाएको हुँदा स्वचालित मेसिनले सिमकोट गाउँपालिकाका सात वटा माध्यमिक विद्यालयका नानीहरूले ठूलो राहत पाउने बताइन् । स्वचालित मेसिनमा एकपटकमा तीन सयवटा प्याड एटिएमको सिस्टमबाट विद्युतीय कार्डको सहायताले आफै उपलब्ध हुने व्यवस्था गरिएको छ । उक्त प्याड गाउँपालिकाको सहयोगमा विद्यालयबाट छात्रहरूले निःशुल्क प्राप्त गर्नेछन् ।

मेसिन जडान भएपछि छात्राहरु महिनावारी भएको समयमा विद्यालय नआउने समस्या अन्त्य हुने विश्वास बालमन्दिर माध्यमिक विद्यालय सिमकोट प्रधानाध्यापक कैलाश रोकायाले व्यक्त गरे ।

उनका अनुसार हुम्ला जस्तो दुर्गम हिमाली जिल्लामा व्याप्त रहेको छाउपडीप्रति समाजको नकरात्ममक दृष्टिका कारण विद्यालयका छात्राहरू महिनावारी हुँदा विद्यालयमा नआउने, लजाउने विद्यालयमा महिनावारी हुँदा पनि पढाइ छोडेरै भाग्नुपर्ने बाध्यता छ । गाउँपालिकाको सहयोगमा विद्यालयमा राखिएका स्वचालित मेसिनले त्यस समस्याबाट छात्राहरू अब मुक्त हुने भनाइ उनको छ । गाउँपालिकाले सोमबार एकैसाथ तीन विद्यालयमा जडान गरेको उक्त मेसिन आज (मंगलबार) बाँकी चारवटा विद्यालयमा जडान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महिलामाथि हुने हिंसा अन्त्य गर्न मेरो ऐक्यबद्धता

३ मंसिर २०७६, मंगलवार ०९:२४
सन् २०१५ मा संयुक्त राज्य अमेरिकाकी एक महिला एलेना लक्जेमले शुरू गर्नुभएको महिलामाथि हुने यौन दुव्र्यवहारबाट आवाज उठाउनका लागि शुरू गरिएको #MeToo ले संसारभरमै ठूलो हलचल ल्याइदिएको छ भने हाम्रो समाज महिलाको निम्ति कति धेरै असुरक्षित रहँदै आएको छ भन्ने कुरा उजागर गरिदिएको छ । यसले वर्षौदेखि दबिएका उत्पीडित महिला, […]