जेष्ठ नागरिकलाई उपचारमा कठिन

कर्णालीपत्र संवाददाता ३ मंसिर २०७६, मंगलवार ०९:०४

हेमन्त केसी
जाजरकोट । घरको आँगनमा लडेर घाइते भएकी बारेकोट गाउँपालिका–८ लैखम जाजरकोटकी ८१ वर्षीय पवित्रा खत्रीले उपचार नपाएको एक महिना भयो । आफै हिँडेर जान नसक्ने, डोकोमा बोकेर दुई घण्टा पैदल दूरीको स्वास्थ्य संस्थामा लैजाने कोही नभएपछि खत्रीलाई घरमै थलिएर बस्नुपर्ने बाध्यता छ ।

डोल्पाको मुड्केचुला गाउँपालिका–४ का ६७ वर्षीय श्याम सिंहको रुखबाट लडेर हात भाँचियो । घरेलु उपचारले केही सीप नलागेपछि आठ दिनपछि उनलाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज पु¥याइयो । लडेको लामो समय घरमै राखेकाले उपचारमा समस्या आएपछि उनी अहिले पनि अस्पतालमै उपचार गराइरहेका छन् ।

जाजरकोटकी खत्री र डोल्पाका सिंह समयमै उपचार नपाउने कर्णालीका ज्येष्ठ नागरिकका प्रतिनिधि पात्र मात्रै हुन् । घर र स्वास्थ्य संस्थाबीचको दूरी लामो भएपछि सहयोगीको अभावमा दुर्गमका ज्येष्ठ नागरिकहरु अहिले पनि घरमै रोग पालेर बस्नुपर्ने बाध्यतामा छन् । ज्येष्ठ नागरिकको उपचार र पालन पोषणमा सरकारले सहयोग गरेको भनिए पनि स्वास्थ्य संस्था घर नजिक नहुने र ज्येष्ठ नागरिक शारीरिक रूपमा अशक्त÷अपाङ्ग भएकाले आफै त्यहाँ जान नसक्दा उनीहरूका लागि हरेक क्षण पीडादायी बनिरहेको छ ।

‘म हिँड्न सक्दैन, डोकोमा बोकेर अस्पताल (स्वास्थ्यचौकी) लिने कोही माछे छैनन् । मेरा लागि घरमै ओखती गर्न को आइदिन्छन् र ?’ एक महिनादेखि लडेर घरमै थलिएकी जाजरकोटकी पवित्राले भनिन्, ‘यस्तो अवस्थामा बाँच्नुभन्दा त बरु मर्नु नै बेस हुँदो रहेछ ।’

चोटले लागेका घाउको पीडाभन्दा आफूलाई घर बाहिर र भित्र गराउने मान्छेको व्यवहारले सयौं गुणा बढी पीडा हुने बताएकी उनले पैसा दिनुभन्दा सरकारले ज्येष्ठ नागरिकलाई हप्ताको एक दिन औषधिसहित स्वास्थ्यकर्मी पठाउन सुझाव दिइन् । लड्दा सामान्य दुख्ने घाउको समयमा उपचार नभएपछि अहिले निकै बढी दुखेको महसुस पवित्रालाई छ ।

घर नजिक उपचार गर्ने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी नभएपछि सबैभन्दा ठूलो समस्या गाउँका बृद्धबृद्धालाई परेको अनुभव डोल्पाका ६७ वर्षीय सिंहले पनि गरेका छन् । ट्वाइलेट जानसमेत सहारा आवश्यक पर्ने बताएका उनलाई दुई जना जान लाग्ने खर्चको जोहो गर्न नसक्दा भएको ढिलाइले अहिले उपचारमा थप समस्या भोगिरहनुपरेको छ । प्रत्येक महिना ज्येष्ठ भत्ता र उपचार खर्च दिने सरकारले त्यही पैसा काटेर डाक्टर (स्वास्थ्यकर्र्मी) लाई आफ्नो घरमा पठाउँदा पनि राम्रो हुने तर्क उनको छ । सिंह भन्छन्, ‘हप्ताको एक दिन स्वास्थ्यकर्मी आउने भएको भए कम्तीमा हाम्रो बिरामले बल्झिने मौका त पाउने थिएन ।’

हिँड्न नसकिने, बोक्ने मान्छे नहुने दुर्गमका गाउँमा सडक नपुगेकाले कति बृद्धबृद्धा रोग पालेरै बसेको बताएका नलगाड नगरपालिका–८ मंसिरी जाजरकोटका ६१ वर्षीय रामबहादुर पुनलाई स्वास्थ्य संस्था पुग्नै ६ घण्टा बढी समय लाग्ने भएकाले उपचार गर्न जाने भन्दा मनमा ज्वरो आउँछ । ‘समयमै स्वास्थ्य संस्था नपुग्दा उपचार हँुदैन ।’ उनले भने, ‘१० देखि ४ बजेसम्म नपुगे डाक्टर बाबुहरू भेटिदैंनन्, फेरि भोलिपल्ट बसेर उपचार गरी घर आउँदा दुई दिन लाग्छ । त्यसैले म अस्पताल जानुभन्दा रोग पालेरै बस्छु ।’

हात भाँचिएपछि घरेलु उपचार गरियो तर सन्चो नहुँदा नातीको सहायताले गाडी चढेर अस्पताल आएको बताएका डोल्पाका सिंहले भने, ‘नजिक अस्पताल छैन, गाउँमा फलामको भाडा बनाउने भाइलाई काब्री (काठले च्यापेर दुई पट्टी काठ राखेर गरिने घरेलु उपचार) लगाएर उपचार गरें, तर सन्चो नभएपछि ऋण मागेर बल्ल उपचारका लागि आएको छु । हामी कसरी अस्पताल पुग्यौ त्यो थाहा पाउँदैनन्, उल्टै डाक्टरले हामीलाई नैं हेप्छन् ।’

अस्पताल जाने समय र पैसाको खर्च मात्रै नभइ, जान आउन हुने अप्ठ्यारोले पनि दुर्गम क्षेत्रका बृद्धबृद्धा आफै उपचारबाट पञ्छिने गर्छन् । बिरामीको उपचार गराउँदा अस्पताल जान र आउन हुने झञ्झट र लाग्ने खर्चका कारण छोरी÷बुहारीबाट थप गाली खाने डरले पनि यातायातको पहुँचमा नभएका गाउँमा ज्येष्ठ नागरिकहरू जानीजानी रोग पालेर बस्न बाध्य भएको दुःखेसो पोख्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विद्यालयलाई स्वार्थमा प्रयोग नगर

३ मंसिर २०७६, मंगलवार ०९:०४
विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेको लामो समय बितिसकेको छ । तर ब्यवहारिक रूपमा भने कार्यान्वयनमा आउन सकेको छैन । राजनीतिक स्वार्थपूर्तिको रूपमा विद्यालयलाई प्रयोग गर्दा शैक्षिक क्षेत्र नै तहसनहस बनेको छ । आफ्ना निहित उदेश्य पूरा गर्न शिक्षण संस्था बन्द गर्ने, तालाबन्दी गर्ने र शिक्षकहरूलाई मनोवैज्ञानिक रूपमा त्रास दिने जस्ता […]