हाँस्य कलाकारको करमैत्री यात्रा

कर्णालीपत्र संवाददाता ३ मंसिर २०७६, मंगलवार ०८:५७

वसन्त भण्डारी
सुर्खेत । करमैत्री यात्रा कार्यक्रम अन्तर्गत हाँस्य कलाकारहरुको टोलीले सुर्खेतमा चेतनामूलक कार्यक्रमको आयोजना गरेको छ ।

सोमबार जिल्ला समन्वय समितिको हलमा हाँस्यव्यंग्य कलाकारहरूले कर तिर्न र भ्रष्टाचार नगर्न खबरदारीसहित चेतनामूलक कार्यक्रम गरेका थिए । कार्यक्रममा मनोज गजुरेलले ‘भ्रष्ट तीन हुँदैन, भ्रष्ट चार हुन्छ किन ? भ्रष्ट तीन हुँदैन, भ्रष्ट पाँच हुँदैन किन ? भ्रष्ट्राचार मात्र हुन्छ किन ? भनेर प्रश्न गरिरहेका थिए । गजुरेल अगाडि भन्दैथिए, ‘किनकी भ्रष्टको जात हुँदैन, भ्रष्टको धर्म हुँदैन । भ्रष्टाचारलाई अस्वीकार र तिरस्कार मात्र हुन्छ ।’

यतिकैमा हलमा हाँसो र तालीसँगै बज्यो । दर्शक दीर्घामा बसेका अतिथि र सहभागीहरुलाई गजुरेलले करका विषयमा जानकारी र व्यंग्य दुवै प्रहार गरिरहेका थिए । कर्णाली प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्री सबै सहभागीहरुले गजुरेलको प्रस्तुतीमा बेबेला–बेलामा ताली बजाउँथे । कलाकार गजुरेलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि बालुवाटारको जग्गा प्रकरणसम्मका विषयहरुलाई हाँस्यव्यंग्यमार्फत् पस्किएका थिए । आन्तरिक राजस्व विभाग काठमाडौँले वीरेन्द्रनगरमा आयोजना गरेको करमैत्री यात्रा कार्यक्रममा जनवादी गायक जीवन शर्माले आफ्नो गीतमार्फत् सबैले कर तिर्नुपर्ने सन्देश दिइरहेका थिए । उनले भनिरहेका थिए, ‘कालो धन थुपारेर मस्ती गर्नुभन्दा हलो जोत्नु, गिट्टी कुट्नु, होला राम्रो धन्दा’ । उनको गीतसँगै सबैले स्वरमा स्वर मिलाइरहेकाथिए ।

यस्तै सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङेले ‘कर नतिर्ने, कल छल्ने, कर खाने कर लुकाउने, कर लुकाउन सघाउनेहरुको भविष्य घोर अन्धकार हुने बताए ।’

सिस्नुपानीको प्रस्तुति हेरिसकेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो भनाई राख्दै कर उठ्नै गाह्रो र उठेको कर पनि सही सदुपयोग नभएको बताए । साथै राज्यलाई कर तिर्ने बानी बसाल्न सबै नागरिकलाई आग्रहसमेत गरे ।

कार्यक्रममा सिस्नुपानी नेपालका उपाध्यक्ष धीरेन्द्र प्रेमऋषी, महासचिव टंक आचार्य, कवि अर्जुन पराजुलीलगायतले आ–आफ्नो प्रस्तुतिमार्फत् कर तिर्नुपर्ने सन्देश दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जेष्ठ नागरिकलाई उपचारमा कठिन

३ मंसिर २०७६, मंगलवार ०८:५७
‘म हिँड्न सक्दैन, डोकोमा बोकेर अस्पताल (स्वास्थ्यचौकी) लिने कोही माछे छैनन् । मेरा लागि घरमै ओखती गर्न को आइदिन्छन् र ?’ एक महिनादेखि लडेर घरमै थलिएकी जाजरकोटकी पवित्राले भनिन्, ‘यस्तो अवस्थामा बाँच्नुभन्दा त बरु मर्नु नै बेस हुँदो रहेछ ।’

सम्बन्धित शीर्षक