‘हेलो मुख्यमन्त्री’ हटलाइन ; गुनासो टिपिन्छ, सुनुवाइ हुँदैन

कर्णालीपत्र संवाददाता ३ मंसिर २०७६, मंगलवार ०८:४६

वसन्त भण्डारी
सुर्खेत । मुख्यमन्त्री ज्यू, ‘समाजवाद आउनको लागि कति समय लाग्ला ?’

झट्ट सुन्दा अपत्यारिलो लाग्ने यो जिज्ञासा मुख्यमन्त्री कार्यालयले नागरिकको समस्या, गुनासा सुन्न शुरु गरेको ‘हेल्लो मुख्यमन्त्री’ हटलाइन सेवामा रेकर्ड गराइएको हो । पैसा नलाग्ने हटलाइन नम्बर १०९६ फोनमा २०७५ साल भदौ ४ गते सोमबार अपरान्ह ३ बजेर २५ मिनेटमा सुर्खेतको चिङ्गाडका टेकबहादुर खड्काले मुख्यमन्त्री शाहीप्रति लक्षित गर्दै उक्त जिज्ञासा रेकर्ड गराएका थिए ।

मुख्यमन्त्री शाही र अन्य मन्त्रीले गर्ने भाषणमा प्रदेश सरकारको यात्रा समाजवाद उन्मुख भएको भन्ने शब्दप्रति लक्षित गरेर खड्काको जिज्ञासा थियो । तर यसबारेमा सम्बन्धित निकायबाट प्रश्नकर्ताको जिज्ञासा मेटाउने काम भएको छैन । राजनीतिक प्रश्न भएको भन्दै हटलाइन सेवाका कर्मचारीले रजिष्टरमा अभिलेख गर्ने बाहेक कुनै काम गरेका छैनन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही बिहीबार जनतासँग हेलो गरेर मुख्यमन्त्री हटलाइन सेवाको उदघाटन गर्दै ।

प्रदेश सरकारले गरेका काम र नागरिकका समस्याबारे बुझ्न मुख्यमन्त्री आफै चासो राखेर सञ्चालन गरेको ‘हेल्लो मुख्यमन्त्री’ हटलाइन सेवामा नागरिकले सरकारले दिने अनुदानदेखि समाजवादका विषयमा जिज्ञासा राखेका छन् । आर्थिक वर्ष २०७५/७६ मा ‘हेल्लो मुख्यमन्त्री’ बाट शुरु भएर २०७६/७७ मा ‘हाम्मा मुख्यमन्त्री, हाम्मा कुडा’ मा परिमार्जित भएको उक्त हटलाइनमा विभिन्न विषयमा दुई सय ४५ जिज्ञासा आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । हटलाइनमा जनप्रतिनिधिदेखि बेरोजगार युवासम्मले सम्पर्क गरेर आफ्ना कुरा टिपाएको सहायक कम्युटर अपरेटर ज्योति शाहीले जानकारी दिइन् ।

२०७५ असार ४ गते जाजरकोटको त्रिवेणी नलगाढ नगरपालिका–३ का वडा सदस्य नविन विकले ‘वडा सदस्यहरूका लागि कुनै सेवा सुविधाको व्यवस्था छ कि छैन ? यस्ता जिज्ञासाको जानकारी कुन माध्यमबाट पाउन सकिन्छ ?’ भन्ने जिज्ञासा रेकर्ड गराएका थिए । मन्त्रालयको टेलिफोन कल रेकर्ड अभिलेख अनुसार कालिकोट रासकोट नगरपालिका–८ का जगदीश न्यौपानेले ‘बेरोजगार युवाहरूको लागि रोजगारीको अवसर कहिलेसम्म मिल्छ होला’ भन्ने जिज्ञासा मुख्यमन्त्रीलाई राखेका छन् ।

समस्या रजिष्टरमै सीमित

गाउँ–ठाउँका समस्या र नागरिकका जिज्ञासा भन्दै हटलाइनबाट टिप्ने काम भए पनि मन्त्रालयको रजिष्टरमै सीमित रहेका छन् । आफूले राखेका जिज्ञासाका बारेमा तीन/चार पटक फोन गरेर सोध्दा पनि मुख्यमन्त्रीको कार्यालयबाट कुनै सुनुवाइ नभएको वीरेन्द्रनगर–१२ सुर्खेतका अर्जुन शर्माले बताए । ‘कृषि खेती गर्नको लागि अनुदान सहयोग र यसको प्रतिक्रियाका बारेमा हटलाइनमा मैले फोन गरे ।’ उनले भने, ‘फोनमा समाधान गर्ने आश्वासन बाहेक मलाई कुनै जवाफ आएन ।’ शर्माले २०७५ जेठ ३१ गते ‘हेलो मुख्यमन्त्री’ हटलाइनमा जिज्ञासा टिपाएका थिए ।

चालगिरी सामुदायिक वनमा अनियमितता भएकाले त्यसलाई रोक्न र आवश्यक छानविनको माग गर्दै गएको असोज २७ गते आफूले हटलाइनमा राखेको जिज्ञासाको पनि कुनै सुनुवाइ नभएको पञ्चपुरी–११ का नरेन्द्र सिहंले बताए । ‘तत्कालै फोनमै लिखित दिन भनियो तर कहाँ ? कसलाई ? र कहिले दिने बारेमा भने प्रष्ट नहुँदै फोन राखियो ।’ उनले भने, ‘हटलाइन चर्चामा आउन गरिएको प्रोपोगण्डा बाहेक अरु केही हो जस्तो मलाइ लागेन ।’ तर आफ्ना जिज्ञासा र समस्या टिपाउने नागरिकको गुनसोप्रति मुख्यमन्त्री कार्यालय मान्न तयार छैन । हटलाईनमार्फत् आएका गुनासाहरूको सम्बोधनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने काम भएको बताएका मन्त्रालयका सचिव बालाराम शर्माले हटलाईन सेवालाई निरन्तर अपडेट गराउन कर्मचारीको समय तोकेरै खटाएकाले बेवास्ता भएको भन्ने भनाइलाई मान्न नसकिने बताए । हटलाइनमा आउने फोनमा प्रतिक्रिया हरेक दिन बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म आलोपालो गरेर कर्मचारी खटाइने सचिव शर्माले जानकारी दिए ।

गएको वर्ष ‘हेल्लो मुख्यमन्त्री’ मार्फत् हटलाइन सञ्चालनमा ल्याएको मुख्यमन्त्री कार्यालयले चालु आर्थिक वर्षदेखि ‘हाम्मा कुडा, हाम्मा मुख्यमन्त्री’ नाम दिएर प्रदेशका नागरिकका गुनासा, सल्लाह सुझाव लिने काम गरेको छ ।

रेडियो जिंगलमै पौने ५ लाख

प्रदेश सरकारले शुरु गरेको ‘हेलो मुख्यमन्त्री’ कार्यक्रमको प्रचारका लागि रेडियो जिंगल प्रसारणमा मात्रै पौने पाँच लाख खर्च गरेको छ । मन्त्रालयले रुकुमको रेडियो मिडिया प्रालीलाई यस बापत ४ लाख ८४ हजार ७ सय ३६ रूपैयाँ ५० पैसा भुक्तानी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहलेखापाल दीपेन्द्रकुमार सिंहले जानकारी दिए । रेडियो सानीभेरी मुख्यमन्त्रीका प्रेस सल्लाहका धुर्ब बुढाथोकी संलग्न कम्पनी हो ।

कार्यक्रम शुरु भएदेखि अहिलेसम्म साढे सात लाख रकम खर्च भएकोमा गएको आर्थिक वर्ष २०७५र७६ मा ५ लाख ४५ हजार २ सय ९१ रूपैयाँ खर्च भएको सिंहले बताए । उनका अनुसार अतिरिक्त समयमा हटलाईन सेवामा खट्ने कर्मचारीको खाजा वापत ६० हजार ५ सय ५५ रूपैयाँ खर्च भएको छ । यसै गरी चालु आर्थिक वर्ष २०७६र७७ को शुरुका कात्तिक महिनासम्म २ लाख २३ हजार ३ सय ७० रूपैयाँ खर्च भएको छ । यसमध्ये कर्मचारीको खाज खर्च वापत १ लाख ६५ हजार ६ सय रूपैयाँ छ भने मुख्यमन्त्रीको गृह जिल्ला कालिकोटमा उद्घाटन भएको ‘हाम्मा कुडा, हाम्मा मुख्यमन्त्री’ कार्याक्रममा ५७ हजार ७ सय ७० रूपैयाँ खर्च भएको छ । प्रदेश सरकारले यो आर्थिक वर्ष सोही कार्यक्रमका लागि ५० लाख रकम विनियोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हाँस्य कलाकारको करमैत्री यात्रा

३ मंसिर २०७६, मंगलवार ०८:४६
वसन्त भण्डारी सुर्खेत । करमैत्री यात्रा कार्यक्रम अन्तर्गत हाँस्य कलाकारहरुको टोलीले सुर्खेतमा चेतनामूलक कार्यक्रमको आयोजना गरेको छ । सोमबार जिल्ला समन्वय समितिको हलमा हाँस्यव्यंग्य कलाकारहरूले कर तिर्न र भ्रष्टाचार नगर्न खबरदारीसहित चेतनामूलक कार्यक्रम गरेका थिए । कार्यक्रममा मनोज गजुरेलले ‘भ्रष्ट तीन हुँदैन, भ्रष्ट चार हुन्छ किन ? भ्रष्ट तीन हुँदैन, […]

सम्बन्धित शीर्षक