दुर्गमका विद्यालयको अवस्था : साढे ११ बजे पहिलो घण्टी

कर्णालीपत्र संवाददाता १ मंसिर २०७६, आईतवार ०५:४०

खड्क सुनार :
कात्तिक १ मंसिर :
हरेक दिन बिहानको १० बजे विद्यालयको मुल गेट खुल्छ । लगत्तै विद्यालय शुरु भएको घण्टी बज्ने । विद्यार्थीहरू लर्को लागेर लाईनमा बस्ने । अनि नेपालको राष्ट्रिय गान गाइसकेपछि लर्को लागेर कक्षा कोठामा जाने प्रायः नेपालका पहाडि र हिमाली विद्यालयको नियम हो । देश भरका सबै विद्यालयमा यही नियमलाई मानेर अघि बढेका हुन्छन् । तर दुर्गम हिमाली जिल्ला मुगुको सोरु गाउँपालिका–६ जिमाको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको अवस्था भने फरक छ । यहाँ निर्धारित गतिविधि केही हुँदैनन् । विद्यार्थी साढे दश बजेभन्दा ढिलो विद्यालय आउँछन् । विद्यालका शिक्षकसँग भेट गर्न साढे ११ बजे कुर्नुपर्छ । त्यतिञ्जेलसम्म विद्यालयमा आएका विद्यार्थी कोही नजिकको बारीमा त कोही विद्यालयमा आफू खुशी खेलिरहन्छन् ।

विभिन्न स्रोतबाट विद्यालयका बारेमा जानकारी पाएपछि कर्णालीपत्र गएको मंगलबार उक्त विद्यालय पुगेको थियो । ठीक दश बजे हामी पुग्दा विद्यालय पुरै सुनसान थियो । काँडैकाँडा र झारले भरिएको विद्यालयमा एघार बजेदेखि विद्यार्थी र शिक्षक विद्यालय आउन थाले । शुरुमा आएका ५ जना विद्यार्थी विद्यालय नजिकैको बारीमा गएर खेल्न थाले । त्यसपछि हुल बाँधेर आएका सानादेखि ठूला विद्यार्थी सबै बारी तिरै केन्द्रित भए । शिक्षक कोही थिएनन् । ११ बज्यो तर शिक्षक कोही आएनन् । ‘हाम्रो स्कुलमा त सधैं यस्तै हो सर ।’ हातमा चिमचिमे घडी हेर्दै विद्यालयको कक्षा ५ मा अध्ययनरत विद्यार्थी भक्ति लावडले भने, ‘अबको आधा घण्टामा मिस आउनुहुन्छ ।’ नभन्दै साढे ११ बजेतिर लखेटिएको मृग झैं हस्याँङ र फस्याँङ गर्दै विद्यालयको बालविकास कक्षाकी सहजकर्ता तथा शिक्षिका मायादेवी भट्ट विद्यालयमा पुगिन् । हामीलाई देखेर केही आश्चर्य मानेकी शिक्षिका भट्टले कसैसँग केही नबोलेर कक्षा कोठाका झ्याल ढोका खोलिन् । शिक्षिका भट्टले बिहानको ११ बजेर ४५ मिनेटमा विद्यालयको पहिलो घण्टी लगाएपछि बारीमा सिँगौरी खेलिरहेका विद्यार्थी हुल बाँधेर कक्षा कोठामा प्रवेश गरे । शिशुदेखि ५ कक्षासम्म पढाई हुने उक्त विद्यालयमा पुगेकी भट्टले सबैको हाजिर गर्न झण्डै घण्टा लाग्यो । त्यसपछि फेरि विद्यालयका विद्यार्थीको बारीको सिँगौरी शुरु भयो ।

दशंै विदामा घर गएका शिक्षक नआएपछि जिमाको राष्ट्रिय आधारभूत विद्यालयको यस्तो अवस्था भएको साढे एक महिना भयो । विद्यालयमा भएको हाजिरी रेकर्ड अनुसार ए सय ५० जना विद्यार्थीमध्ये सय जना नियमित विद्यालय आएको देखिन्छ । दरबन्दीका शिक्षक नभएकाले विद्यालयको यस्तो अवस्था भएको सहजकर्ता भट्टले स्वीकार गरिन् । ‘आज अलि घरको काम थियो त्यसैले मलाई विद्यालय आउन ढिला भयो ।’ कर्णालीपत्रसँग प्रष्टिकरण दिएकी भट्टले भनिन्, ‘दशैंयता त मैले पाँच कक्षासम्म हाजिर गरेर विद्यालय खोल्ने काम मात्रै भएको छ ।’

दरबन्दीका तीन र बालविकास सहजकर्तासहित चार जना शिक्षक विद्यालयमा कार्यरत भए पनि अहिलेसम्म सबैजना उपस्थित भएर कक्षामा नियमित पढाइ भएको बारेमा स्वयम् विद्यार्थीलाई नैं जानकारी छैन । जाडोका कारण मंसिर अन्तिममा वाषर््िाक परीक्षा हुने उक्त विद्यालयमा हरेक विषयमा चारदेखि पाँच वटा पाठ मात्रै पढाई भएको छ । ‘पोहोर पनि हामीले कोर्ष पुरै नपढी परीक्षा दियौ ।’ कक्षा ५ का अध्ययनरत एक विद्यार्थीले भने, ‘हाम्रो विद्यालयमा कोही पनि फेल हुँदैनन् सर ।’

विद्यालयका प्रधानाध्यापक गणेश भट्ट र शिक्षक टंक भट्ट दशैं विदा सकिएको लामो समय भइसक्दा समेत विद्यालयमा हाजिर भएका छैनन् । यसबारेमा आफूलाई जानकारी भए पनि केही गर्न नसकिएको विद्यार्थीका अविभावकले बताउने गरेका छन् । ‘शिक्षक सरहरूलाई केही भने तिम्रो छोरा÷छोरीलाई परीक्षामा के गर्नुपर्छ हामीले जानेका छौं भनेर थर्काउँछन् । छोराछोरीको वर्षभरीको पढाई खेर गैहाल्ला भनेर पनि हामीले उहाँहरूका गतिविधि सहेर बसेका छौं ।’ अविभावक भीमबहादुर खत्रीले भने, ‘अरु स्कुलमा गएर पढाई भएको देख्दा हाम्रो स्कुलमा केही पढाई हुँदैन ।’ कर्णालीपत्र र जिल्लाका सञ्चारकर्मी विद्यालयमा आएको जानकारी पाएपछि हतारले विद्यालय आउने क्रममा साढे १२ बजे बाटोमा भेटिएका शिक्षक धनकर्ण मल्लले घरमा काम भएकाले विद्यालय आउन ढिला भएको प्रतिक्रिया दिए । अफ्नो घरको दाई बिरामी परेकाले समयमा आउन नपाएको प्रष्टिकरण दिएका शिक्षक मल्लले नियमानुसार विद्यालयको पढाई हुन नसकेको स्वकारे ।

सबै गाउँकै व्यक्ति शिक्षक भएकाले पनि विद्यालयको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको अनुभव स्थानीयले गरेका छन् । हामीले तपाईसँग केही भनेको थाहा पाए शिक्षक फेरि हामीप्रति जाइलाग्छन् भन्दै आफ्नो नाम उल्लेख गर्न नचाहेका एकजना अविभावकका अनुसार विद्यालयका प्रधानाध्यापक त प्रायः विद्यालय नै आउदैनन् ।

पूर्वाधार पनि उस्तै

टाढाबाट हेर्दा सरकारी विद्यालयजस्तो पनि नलाग्ने सोरुको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भौतिक पूर्वाधारको अवस्था समेत निकै नाजुक छ । कक्षामा कहिल्यै बेन्चमा बस्न नपाएको बताएका भक्ति लावडले सँधै भुँईको धुलोमा चार कक्षा पूरा गरे । ‘ठूलो मेघ आएको (वर्षा भएको) दिन पनि हाम्रो स्कुलमा विदा हुन्छ ।’ लावडले भने, ‘सोरुकोटका विद्यालय हेर्दा हाम्रो विद्यालय त छुई (नछुने भएको बस्ने) गोठ जस्तो लाग्छ ।’

विद्यालयमा भएको खानेपानीका धारा जिर्ण भएकाले दिउँसो तिर्खा लागे विद्यार्थी टाढा जानुपर्छ । विद्यालयमा धारा त छ तर पानी आउँदैनन । त्यसको मर्मत गर्न विद्यालयसँग स्रोत नभएको र अन्य कुनै पनि निकायले सहयोग नगरेकाले थप समस्या भएको शिक्षक मल्लले बताए । ‘हामीलाई न शिक्षा कार्यालयले हे¥यो न गाउँपालिकाले नै हेरेको छ ।’ उनले थपे, ‘पूर्वाधारमा नै समस्या भएपछि अन्य पढाई त यसै प्रभावित हुने नैं भयो ।’

यसका बारेमा स्थानीय सरकार भने बेखबर छ । विद्यालयको त्यस्तो अवस्थाका बारेमा गाउँपालिकामा आधिकारिक जानकारी कसैबाट पनि नआएको बताएका गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले विद्यालयको अवस्थाको सुधार गर्न र नियमित पठनपाठनका लागि गाउँपालिकाले चासो राखेर छिट्टै समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महिला पनि लागू औषधि कारोबारी, समात्न गाह्रो

१ मंसिर २०७६, आईतवार ०५:४०
स–साना पुरिया बनाएर बेच्दै गरेकी मिनालाई लागू औषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ ग¥यो । महिला प्रहरीलाई लगाएर मिनालाई समातिएको थियो ।