अनुदानको सट्टा ऋण सहुलीयत : मुख्यमन्त्री

कर्णालीपत्र संवाददाता १ मंसिर २०७६, आईतवार ०५:३५

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले अनुदानको सट्टा सहुलीयत दरमा ऋण उपलब्ध गराउने तयारी गरिरहेको बताएका छन । वीरेन्द्रनगरमा रहेको जनहितकारी वचत तथा ऋण सहकारी संस्थाको २१औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मुख्य मन्त्रीशाहीले गतवर्षको अनुदानको अनुभवलाई मध्यनजर गर्दै यस वर्ष प्रदेश सरकारले अनुदान नदिने बताए ।

उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले जनताको आय स्रोत वृद्धि गर्नका लागि प्रदेश सरकारले अनुदान दिने व्यवस्था गरेको भए पनि अनुदानको उपलब्धिमूलक नरहेकोले सहुलीयत ऋणको व्यवस्था मिलाउन लागिएको बताए । उनले अनुदानलाई शहर नभइ गाँउ केन्द्रीत गरिने जानकारी दिए । उदघाट्नको क्रममा मुख्य मन्त्री शाहीले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई नमूना सहर बनाउने अभियानमा प्रदेश सरकार लागिरहेको बताए । सिंगो प्रदेशको प्रतिबिम्ब राजधानी शहरले दिने भएकाले वीरेन्द्रनगरलाई नमूना शहरको रुपमा विकास गर्नुपर्ने उनको भनाई थियो । वीरेन्द्रनगरलाई नमूना सहरका रुपमा विकास गर्न सडक, खानेपानी, विद्युत्, सरसफाई तथा अन्य पूर्वाधार विकासका लागि दीर्घकालीन सोचसहित नयाँ गुरुयोजनाको आवश्यकता रहेको छ, उनले भने, ‘अव्यवस्थित रुपमा भइरहेको जग्गाको खण्डीकरण र संरचना निर्माण कार्यलाई रोक्दै, स्वच्छ, सफा र प्रदुषणरहित सहर निर्माणका लागि नागरिकको पनि उत्तरदायित्व रहेकाले जथाभावी फोहर फाल्ने बानीको अन्त्य हुनुपर्छ ।’ मुख्यमन्त्री शाहीले वीरेन्द्रनगरमा रहेको खानेपानीको समस्या सामाधान गर्न प्रदेश सरकारले ५० करोड बजेट विनियोजन गरिएको जानकारी दिए । उनले चिँगाडको पानी वीरेन्द्रनगरमा ल्याउनका लागि समेत सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिए । उनले खानेपानी आपुर्तिको दीर्घकालीन समाधान नहुँदासम्म विभिन्न उपायहरुको खोजी गरेर पनि तत्कालीन समस्या सामाधान गरिने बताए । आफनो पछिल्ला पटकको चिन भ्रमणका क्रममा वीरेन्द्रनगरको व्यवस्थित सहरीकरण र चक्रपथ निर्माणका लािग आफूले गरेको प्रस्तावमा चिनियाँ पक्ष सकारात्मक रहेको समेत उनले जानकारी दिए ।

सहकारीका अध्यक्ष हरिहरनाथ योगीले सत्रौं वार्षिक साधारण सभाबाट गठित वर्तमान सञ्चालक समितिको चार वर्षे कार्यकाल उत्साहजनक भएको बताए । आर्थिक वर्ष २०७१÷०७२ मा तीन कठ्ठा दश धुर जग्गामा निर्मित दुई तले भवन भएकोमा यसै कार्यकालमा एक तला थप गरी संस्थाको आन्तरिक व्यवस्थापन र बाह्य परिसरलाई सदस्य मैत्री, सहज र आकर्षक बनाइएको उनले जानकारी दिए । अध्यक्ष योगीले सहकारी शिक्षा, शिविरलगायत विभिन्न ७४ भन्दा बढी तालिम तथा गोष्ठिबाट चार हजार पाँचसय बढी व्यक्तिलाई सहभागी गराएको जनाए । यसका साथै विभिन्न विधाअन्तर्गत तीन सय ८६ जनालाई पुरस्कार वितरण गरिएको र विभिन्न संघ संस्था तथा व्यक्ति गरी दुई सय ४१ जनालाई आर्थिक सहयोग गरिएको उनले जानकारी दिए । सहकारीले रेमिटान्स, एसएमएस, मोबाइल एप्स तथा अनलाइन प्रविधिबाट छिटो छरितो र विश्वसनीय सेवा उपलब्ध गराउने प्रयास गरेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दुर्गमका विद्यालयको अवस्था : साढे ११ बजे पहिलो घण्टी

१ मंसिर २०७६, आईतवार ०५:३५
कक्षा ५ मा अध्ययनरत विद्यार्थी भक्ति लावडले भने, ‘अबको आधा घण्टामा मिस आउनुहुन्छ ।’ नभन्दै साढे ११ बजेतिर लखेटिएको मृग झैं हस्याँङ र फस्याँङ गर्दै विद्यालयको बालविकास कक्षाकी सहजकर्ता तथा शिक्षिका मायादेवी भट्ट विद्यालयमा पुगिन्