माला माहात्म्य : संस्कार कि चाकडी ?

कर्णालीपत्र संवाददाता ३० कार्तिक २०७६, शनिबार ११:२९

कर्णालीपत्र । तिहारको भोलिपल्ट बाराको कलैयामा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई उहाँभन्दा अग्लो मालाले स्वागत गरियो । यो दृश्य आफैमा अपाच्य थियो । तडकभडकबाट आफूलाई सधैं टाढा राख्ने नेपालले कसरी त्यहाँ क्वीन्टल हाराहारीको माला लगाउन तयार हुनुभयो होला ?

पार्टी प्रशिक्षणका लागि कैलालीको धनगढी पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विमानस्थलमा माला लगाउनेहरुको लर्को सामाजिक सञ्जालमा आलोचनाको विषय बन्यो । दिनभर जसो सामाजिक सञ्जालमा भाइरल भयो उक्त दृश्यले । गला भरिएर देख्न नसक्ने भएपछि विमानस्थलबाट बाहिर निस्कुन्जेल अध्यक्ष प्रचण्डको गलाकाबाट पाँच पटकसम्म माला निकाल्नु परेको थियो । जबकि उहाँलाई त्यहाँ पार्टीका प्रदेश इन्चार्ज, अध्यक्ष र केही जिम्मेवार नेताहरुले विमानस्थलमा स्वागत गरी कार्यक्रमस्थलमा पुग्दा अतिथि र सहभागीहरुले गडगडाहट तालीका बीच स्वागत गरेको भए पनि हुने थियो । संस्कारभन्दा नजिक हुने नाममा गरिएको स्वागतले मान भन्दा सामाजिक सञ्जालमा अपमान खेप्नु प¥यो ।

सत्ताधारी नेतालाई मात्र होइन । विपक्षी दलका शीर्ष नेतामा पनि मोह देखिएको छ । केही समय तराई पुगेका नेपाली कांग्रेसका नेताहरु सशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालाई पनि एउटै मालामा गाँस्नुपर्छ भन्दै पचासौँ किलोको माला लगाएको दृश्य असुहाँउदो थियो । केन्द्रीय नेता मात्र होइन , जिल्ला र प्रदेशका नेताहरुमा माला मोह देखिन्छ । गृह जिल्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई स्थानीय आयोजकले स्वागतको नाममा लगाएको मालाले पनि त्यतिबेला चर्चा बटुलेको थियो ।

पछिल्ला दिनहरुमा स्वागत र सत्कारको नाममा धान्नै नसक्ने माला लगाउने आयोजक र तयार हुने नेताहरुको बारेमा व्यापक आलोचना भइरहँदा पनि सुधार हुन सकेको छैन । नेता तथा विशिष्ट व्यक्तिहरुलाई विमानस्थल वा कार्यक्रमस्थलमा कसरी स्वागत, सम्मान र सत्कार गर्ने भन्ने स्पष्ट नहुँदा यस्ता असुहाँउदा दृश्यहरु देखा परिहन्छन् । खासमा यसरी टुप्पीभन्दा माथिसम्म माला थुपारिदिने वा धेरै किलो र क्वीन्टलका माला लगाइदिने गरेर अतिथिको सम्मानभन्दा बढी चाकडी गरेको नै ठहरिन्छ । माला कति किलो बराबरको हो ? फूल कहाँको हो ? आयोजक को हो ? पुष्प व्यवसायीहरूले यसरी माला लगाइदिएका हुन् कि ? आखिर त्यसो गरेर विशेष उपलब्धि के भयो ? माला लगाउँदा ख्याल गर्नु मनासिब हुन्छ । लगाइदिनेका त स्वार्थ अपरम्पार नै हुन्छन् । तर लगाउनेले बढी ख्याल गर्नु उचित हुन्छ ।

सर्वप्रथम सायद धनगढीबाट विगतमा धेरै किलो वा क्वीन्टलका यस्ता मालाले प्रमुख अतिथिको स्वागत गर्न थालिएको थियो । त्यसले भारतीय फूल किन्न पाइने तराईका कार्यक्रमहरुमा यसखाले विकृतिको रुप लिएर बढाएको देख्न सकिन्छ । धेरै जस्तो कार्यक्रममा नेताहरूको गलामा यस्ता माला लगाइदिन को भन्दा को कमको माला प्रतिस्पर्धा तथा चाकडीवाजहरूले गरिरहेको होडबाजी देखेर दंगदास र मख्ख पंक्तिसमेत देखिन्छ । माला लगाउँदा र थाप्दा सम्मानित नेताहरूले गल्ती गरेभन्दा पनि यस्तो विषयमा उहाँहरुले आफनो सचिवालयबाट पूर्वतः खबर गराउन सक्ने अवस्था हुन्छ । त्यसो त आयोजक र मालाका व्यवस्थापकहरुले कुनै अन्यथा घटना हुनुअघि ध्यान पु¥याउनु उपयुक्त हुन्छ ।

टुप्पीसम्म माला नलगाउँदा पनि सम्मान बढ्छ

चीनका राष्ट्रपति सीजिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो होडबाजी नगरेवापत राष्ट्रपति पद नै गुमाउनु परेको भन्ने समाचार त सुन्नु परेको छैन दुनियाँले ? अझ राष्ट्रपति ट्रम्पले त २०७६ सालको तिहारको शुभकामना दिँदंै ह्वाइटहाउसमा बत्ती प्रज्वलन गरेको तर बत्तीसँगै मालासमेत रहेको भए पनि उहाँले माला लगाएको देखिन्न । राष्ट्रपति सी भर्खरै नेपाल भ्रमणमा आउँदा पञ्चकन्याले दिएको माला हातले ग्रहण गरे पनि गलामा लगाएको दृश्य त कतै देखिएन । सन् १९७८ मा नेपाल भ्रमण गर्दा आधुनिकीकरणका आर्किटेक्ट चिनियाँ नेता तङ सियाओ पिङलाई सामान्य माला लगाएर नै नेपालमा स्वागत गरिएको थियो ।

सुरक्षा खतरा उस्तै

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल कपिलवस्तुको विजयनगरमा भारतीय मालाको खपतमा प्रमुख आतिथ्यता ग्रहण गर्दे हुनुहुन्थ्यो । जबकि उहाँलाई राज्यले सबभन्दा बढी सुरक्षाथ्रेट भएको नेताका रुपमा छ दर्जनभन्दा बढी सुरक्षकर्मी अघिपछि लगाइरहेको छ । माला लगाइदिने बहानामा प्रचण्ड र पूर्वप्रधानमन्त्री झलनाथ खनालमाथि हातपात भएको घटनाहुँदा हुँदै यस्तो खतराको जोखिम मोलिरहने उपयुक्त होइन । छिमेकी भारतमा राजीव गान्धीको हत्या यस्तै माला लगाइदिने बहानामा आत्मघाती बम प्रहारबाटै त गरिएको थियो । यहाँ आयतित मालासँगै हानिकारक विषादिले अनेकन् स्वास्थ्य समस्या निम्त्याउने समेत गरेको छ ।

यसको हेक्का कसैले गरेको पाइँदैन । हामीलाई त बुझ्नै गा¥हो पो भयो कि यो सुधार गर्न सकिने कमजारी हो कि होइन ? भारतीय सीमासँग जोडिएका तराइका जिल्लाहरुमा नै यस्तो अभ्यास किन पटकपटक भइरहेको छ ? सुरक्षा निकायहरु यस मामिलामा कति सजग र सम्वेदनशील छन् ? माला नलगाएकै कारण कोही नेता नै नमानिने वा अपमानित हुने अवस्था हो र ? यसखाले अभ्यासहरु गणतान्त्रिक संस्कार, संस्कृति र सामाजिक न्याय एवम् समानता अनुकूल हुनुपर्दैन ? मालालाई जस्तो संस्कृतिको द्योतकका रुपमा ग्रहण गर्ने अस्वस्थ र आँखा बिझाउने प्रतिस्पर्धाको क्रम चलिरहेको छ, यसलाई अविलम्ब रोकेर आम जनताले चित्त नदुखाउने ढंगको बनाउनै पर्दछ । आम चुनावको विशेष बेला वा तिहार र छठ आदि पर्वका अवसरमा मालाको व्यापक सदुपयोग गर्ने संस्कृति प्रचलित छ, जो क्षम्य हुनसक्छ । तर यसलाई राजनीतिक संस्कृतिको अङ्ग बनाउने, विमानस्थलमा सयौं माला लिएर स्वागतमा तैनाथ हुने, कार्यक्रमस्थलमा किलोका किलो र क्वीन्टलका क्वीन्टल फूलका माला अनिबार्य जस्तो गरेर रमाउने संस्कृति समाजवादी हुन सक्दैन । यो त बिहारी संस्कृतिको भद्दा, मजाकपूर्ण र विकृत नक्कल मात्र भइरहेको छ । यसलाई सुधार गर्ने कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अनुदानको सट्टा ऋण सहुलीयत : मुख्यमन्त्री

३० कार्तिक २०७६, शनिबार ११:२९
वीरेन्द्रनगरलाई नमूना सहरका रुपमा विकास गर्न सडक, खानेपानी, विद्युत्, सरसफाई तथा अन्य पूर्वाधार विकासका लागि दीर्घकालीन सोचसहित नयाँ गुरुयोजनाको आवश्यकता रहेको छ,