‘साना उद्योगको विकास, कर्णाली समृद्धिको आधार’

कर्णालीपत्र संवाददाता २८ कार्तिक २०७६, बिहीबार ०८:०४

कर्णालीपत्र
कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले लघु, घरेलु तथा साना उद्योगको विकासबाट प्रदेशको आर्थिक समृद्धि हाँसिल गर्न सकिने बताएका छन् ।

बुधबार सल्यान जिल्लाको खलंगामा आयोजित उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बुढाले उक्त कुरा बताएका हुन् । कर्णाली प्रदेशको हकमा औद्योगिक विकासको मुख्य माध्यम भनेकै लघु, घरेलु तथा साना उद्योग भएको उल्लेख गरेका उनले साना उद्योगको विकास नभएसम्म ठूला उद्योगको विकास सम्भव नरहने दाबी गरे ।

‘अबका दिनमा देशको विकास गर्ने माध्यम भनेको घरेलु तथा साना उद्योग निर्विकल्प माध्यम हुन् ।’ उनले भने, ‘प्रदेशको आन्तरिक उत्पादन र रोजगारीका हिसाबले यस्ता उद्योगको भूमिका उच्च हुन्छ ।’

साना उद्योगका क्षेत्रमा प्राथमिकताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरेका मन्त्री बुढाले यस्ता उद्योगबाट गुणस्तरीय र प्रतिस्प्रर्धी सामग्रीको उत्पादन बजारमा आउनुपर्नेमा जोड दिए । कर्मचारी समायोजन ऐनलगायतका कारण कर्णाली प्रदेशमा कर्मचारीको अभाव हुँदा कार्यक्रमको कार्यान्वयनमा केही बिलम्ब भएको स्वीकारेका उनले आगामी दिनमा यस्तो समस्या नहुने भनाई राखे ।

प्रदेशका दश वटै जिल्लामा एक जिल्ला एक ठूला उद्योग सञ्चालनका लागि सम्भाव्यता अध्ययन भईरहेको खुलासा गरेका मन्त्री बुढाले कर्णालीको समृद्धिका लागि उद्योग र व्यवसायमा जोड दिन आग्रह गरे ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेशसभा सदस्य मिना रखालले तीन तहका सरकारका बीचमा समन्वय नहुदाँ काम गर्न समस्या भएको दाबी गरिन् । कार्यक्रममा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका प्रमुख नृपजंग शाही, प्रमुख जिल्ला अधिकारी चुँडाराज न्यौपानेलगायतले उद्योगको महत्वका बारेमा धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सप्तरंग यात्रामा कलाकार सुर्खेतमा; शान्ति र सद्भावका लागि सांगेतिक कार्यक्रम आज

२८ कार्तिक २०७६, बिहीबार ०८:०४
पर्यटन वर्ष २०२० लाई सफल पार्न तथा नेपाल र नेपालीबीचको एकता, सद्भाव फैलाउने मुख्य उद्देश्यसहित सात प्रदेश यात्राको क्रममा चर्चित कलाकारहरु सुर्खेत आइपुगेका हुन् ।