दुईपदमा आठ जनाको उम्मेदवारी

कर्णालीपत्र संवाददाता २८ कार्तिक २०७६, बिहीबार ०७:५४

कर्णालीपत्र
सुर्खेत । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आठ जनाले उम्मेदवारी दिएका छन् । खार्पुनाथ गाउँपालिका हुम्लाको उपाध्यक्ष पदमा तीन र सल्यानको कुमाख गाउँपालिका ५ को वडाअध्यक्ष पदमा ५ जनाको उम्मेरदारी परेको सम्बन्धित जिल्लाका निर्वाचन कार्यालयले जानकारी दिएका छन् ।

उपाध्यक्षकान प्रतिस्पर्धीः हुम्लाको खार्पुनाथ गाउँपालिकामा रिक्त उपाध्यक्ष रिक्त उपाध्यक्ष पदका लागि मनोनयन दर्ता गरेकी नेकपा रुपा (बायाँ) र नेपाली काँग्रेसकी ताराकुमारी शाही (दायाँ) सामूहिक तब्रि खिचाउँदै ।

हुम्लाको खार्पुनाथ गाउँपालिकामा रिक्त उपाध्यक्ष पदमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट रुपमा शाही, नेपाली कांग्रेसको तर्फबाट ताराकुमारी शाही र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको तर्फबाट दीपविक्रम शाहीले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत चन्द्रकान्त पौडेलले निर्वाचन जानकारी दिए ।

सांस्कृतिक कार्यक्रम, झाँकी र पार्टीका नेता कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय यांचु बगरमा पुगेका तीनै जना उम्मेदवारले आआफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै वडाअध्यक्ष रिक्त रहेको सल्यानको कुमाख गाउँपालिका ५ मा पाँच जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीस कुलप्रसाद पाण्डेले जानकारी दिए । उनकाअनुसार उम्मेदवारी दिनेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का धर्मे बुढाथोकी, नेपाली कांग्रेसका खड्गबहादुर बोहरा, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल शाहले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै स्वतन्त्रबाट चित्र प्रकाश गिरी र दलवीर बस्नेतले वडा अध्यक्षको उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रागे चौरले जनाएको छ ।

हुम्ला र सल्यानमा मुख्य निर्वाचन अधिकृतको कार्यालयहरूले उम्मेदवारी दिनका लागि निर्धारण गरेको समय बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मका लागि तेकिएकै समय सीमामा सबै उम्मेदवारले आफ्नो मनोनयन दर्ता गराएको जानकारी दिएका छन् ।

गत जेठ ३ गते सिमकोटबाट खार्पुनाथ गाउँपालिकाको केन्द्र जाने क्रममा बोलेरो जिप दुर्घटना भई कर्णाली नदीमा खसेर ज्यान गएकी सोही गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीको निधन भएर उपाध्यक्ष पद रिक्त रहेको थियो । भने सल्यानको कुमाख गाउँपालिका ५ का वडा अध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समितीका उपप्रमुख भएपछि त्यहाँ वडा अध्यक्ष पदरिक्त रहेको थियो ।

संघीय समाजवादीले समर्थक पाएन

उम्मेदवारी दिन आवश्यक प्रस्तावक र समर्थक नपाएपछि संघीय समाजवादी पार्टीले हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदमा मनोनयन दर्ता गर्न पाएको छैन । एक साताअघि नै जिल्ला पार्टीबाट सर्वसम्मत टिकट पाएका लिला जेठाराले मनोनयन दर्ता गर्ने प्रस्तावक र सर्मथक नपाएपछि आज गर्ने भनिएको मनानयन गर्न नपाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘साना उद्योगको विकास, कर्णाली समृद्धिको आधार’

२८ कार्तिक २०७६, बिहीबार ०७:५४
कर्णाली प्रदेशको हकमा औद्योगिक विकासको मुख्य माध्यम भनेकै लघु, घरेलु तथा साना उद्योग भएको उल्लेख गरेका उनले साना उद्योगको विकास नभएसम्म ठूला उद्योगको विकास सम्भव नरहने दाबी गरे ।