विद्यार्थी पढाउँदै स्थानीय तह

कर्णालीपत्र संवाददाता २७ कार्तिक २०७६, बुधबार ०९:२१

हेमन्त केसी
जाजरकोट । भेरी नगरपालिकाका प्रमुख आफै विद्यार्थीलाई पढाउन शुरु गरेका छन् । नगरपालिकाको शैक्षिक अवस्था सुधार गरेर जिल्लाकै नमूना नगर बनाउने लक्ष्यले उनी उक्त अभियानमा जुटेका हुन् ।

नगरभित्र भएका विद्यालय अनुगमन तथा निरीक्षणमा दैनिक जाने गरेका नगरप्रमुख घर्तीले विद्यालयको भौतिक संरचना मात्र हेर्दैनन्, विद्यार्थीको सिकाई उपलब्धी बुभ्mन विद्यार्थी पढाउने काम समेत गर्दै आएका छन् ।

देशको भोलिको पुस्ता निर्माण गर्न हामीले कस्तो खालको शिक्षा प्रदान गरिरहेका छौं ? हामीले बालबालिकाको शिक्षा के कस्तो वातावरणका कस्ता कुरा सिकाइरहेका छौं ? भन्ने बारेमा जानकारी लिन पनि आफूले कक्षा कोठाको छड्के जाँच गर्ने काम शुरु गरेको नगर प्रमुख घर्तीले जानकारी दिए । उनकाअनुसार नगर भित्रका विद्यार्थीलाई नगरको सबै वस्तुस्थितिको जानकारी गराउन कक्षा कोठामै गएर पढाउन थालिएको हो ।

शिक्षामा लगानी गरेर मात्र हुँदैन । विज्ञान र गणीत र अन्तर्राष्ट्रिय खेलको राम्रो ज्ञान भएका घर्तीले भने, ‘विद्यालयको प्रभावकारिताका लागि स्थानीय सरकारको निरन्तर खबरदारी, अनुगमन र गुणस्तरीय शिक्षण सिकाई क्रियाकलापमा वृद्धि गर्न पनि कक्षा कोठाको अध्ययन मुख्य कुरा हो ।’

नगरको शिक्षण सिकाईमा प्रभावकारिता ल्याउन र विद्यालयको अवस्थामा सुधार गर्न आफू मातहतका सबै विद्यालयका प्रधानाध्यापकलाई बोलाएर सामूहिक भेला गरेका नगर प्रमुखले प्रतिवद्धताअनुसार विद्यालयमा सुधार भए नभएको बारे प्रत्यक्ष बुभ्mन दैनिकजसो आफूले विद्यालय धाउने गरेको बताए ।

शिक्षालाई प्रविधि र रोजगारसँग जोडेर हामीले परिणाममूखी बनाउनुपर्ने उनको भनाई छ । जिल्लाको मुटुमा रहेको भेरी नगरपालिका सबैको केन्द्रमा पर्दछ । सदरमुकामसमेत रहेको भेरी नगरपालिका जिल्लाको जेठा नगर पनि हो । नगरको शिक्षालाई अलि बढी जोड दिएकाले अनुगमन र कक्षा शिक्षणलाई एकैसाथ अघि बढाएका नगरप्रमुख घर्तीले भने, ‘हामीले विद्यालयको समस्या विद्यार्थीकै मुखबाट सुन्ने हो, यस ग¥यो भने मात्रै कहाँ के समस्या छ भन्ने कुरा थाहा हुन्छ र अनी आवश्यक सुधार गर्न सजिलो हुन्छ ।’ कुन विद्यालयका को शिक्षक कति दिन विद्यालय आएनन् ? कुन विद्यालयको कुन कक्षामा कुन दिन पढाई भएन भन्ने कुरा सम्बन्धित कक्षाको पाठ्यपुस्तक नहेरेर कसरी थाहा हुन्छ ? यी सबै अवस्थाको तत्थ्यगत जानकारी लिन आफूले पछिल्लो अभियान थालेको तर्क प्रमुख घर्तीले गरे ।

गाउँ शिक्षा समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख आफै नियमित विद्यालय र कक्षा कोठामा गएर पढाउन थालेपछि नगरभित्रका विद्यालय प्रशासन र कार्यरत शिक्षक समेत निकै सजग बनेका देखिन्छन् । नगर प्रमुख सरले कक्षामा आएर पढाईका बारेमा सोध्न थालेपछि स्कुलका सरहरूको पढाउने शैलीमा समेत परिवर्तन भएको छ ।’ सरस्वती मावि काफलचौरका विद्यार्थी रोशन पुनले भने, ‘नगर प्रमुख सरले सबै सरले पढाउने विषयवस्तु, हामीलाई आवश्यक पर्ने अन्य सेवा सुविधाका बारेमा समेत कोठामा उठाएरै भन्न लगाउनु हुन्छ ।’

वीरेन्द्रनगरको ‘कक्षा कोठामा उपमेयर’

वीरेन्द्रनगर नगरपालिकाका विद्यालयमा ‘कक्षा कोठामा उपमेयर’ कार्यक्रम शुरु भएको छ ।

नगरपलिकाको चालू आर्थिक वर्षको कार्यक्रमअन्तर्गत उपमेयर मोहनमाया ढकालले मंगलबार वीरेन्द्रनगर नगरपालिका ११ को नेपाल राष्ट्रिय चन्द्र कन्या माविमा पुगेर उपप्रमुख ढकालले उक्त कार्यक्रम सुरु गरेकी हुन् ।

संविधानले स्थानीय सरकारलाई दिएको न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाको अधिकारबारे विद्यालयमा अध्ययनरत विद्यार्थीलाई बुझाउन कक्षा कोठामा उपमेयर कार्यक्रम सञ्चालन गरेको उपमेयर ढकालले बताइन् । नगरपालिकाभित्रका विद्यार्थीहरूले स्थानीय सरकारप्रति राखेको अपेक्षा र हामीप्रतिको बुझाईकाबारे प्रत्यक्ष जानकारी लिनका लागि पनि आफूले कार्यक्रम शुरु गरेको जानकारी दिएकी ढकालले भनिन्, ‘मैले विद्यार्थीबाट हामी जनप्रतिनिधिले कस्ता काम गर्नुपर्छ भनेर सुझाव पनि लिन्छु ।’

स्थानीय सरकारलाई नयाँ पुस्तासँग गाँस्न चाहेको बताएकी ढकालले कार्यक्रमले शासन प्रणालीप्रति बालबालिकाको आस्था र अपनत्व जगाउनेमा विश्वाश व्यक्त गरिन् ।

वीरेन्द्रनगरको चन्द्र कन्या माविको कक्षा १० को कोठामा पुगेर कार्यक्रम शुरुवात गरेकी उनले कार्यक्रमको नाम ‘कक्षाकोठामा उपमेयर’ राखिए पनि कार्यक्रम कक्षा कोठामा मात्र सीमित नहुने जानकारी दिइन् ।

‘विद्यार्थी भाइ बहिनीहरूको विचार र भावना बुझेर म निकै उत्साहित भएकी छु । उनले थपिन्, ‘नयाँ पुस्ताको हातमा देशको भविष्य छ । यो पुस्तालाई हामीले सही बाटो र वातावरण दिन सक्यौं भने हामीले कल्पना गरेको देश समृद्ध र सुन्दर हुनेछ ।’

विद्यालयका शिक्षक–शिक्षिकासँग विद्यालयमै पुगेर शैक्षिक समस्या र सम्भावनाबारे जानकारी समेत लिएकी उपप्रमुख ढकालले नगर क्षेत्रका सामुदायिक विद्यालयमा महिनाको एकपटक पुगेर विशेष कक्षा समेत लिने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२०७६-०७-२७

२७ कार्तिक २०७६, बुधबार ०९:२१

सम्बन्धित शीर्षक