सुटुक्क फर्किन् दूतावासकी कर्मचारी

कर्णालीपत्र संवाददाता २७ कार्तिक २०७६, बुधबार ०८:१०

कर्णालीपत्र
हुम्ला । हुम्लामा आएदेखि नैं सुरक्षा निगरानीमा रहेकी नेपालस्थित अमेरिकी दूतावासकी एक महिला कर्मचारी भ्रमण अवधि पूरा नगरेरै फर्किएकी छन् । १२ दिनको भ्रमण अवधि स्वीकृत गराएर जिल्ला आएकी दूतावासकी इकोनमिक अफिसर मोल्लील्यान रिभर्स वल्ड्सले अवधि नसकिदैं सुटुक्क फर्किएको थाहा भएको छ ।

सिमकोट विमानस्थलको रेकर्ड अनुसार उनी कात्तिक २० गते सिमकोटबाट फर्किएकी छन् । उनले नेपाल सरकारबाट स्वीकृत पाएको भ्रमण अवधि नसकिदैं सुटुक्क फर्किनुलाई निकै चाँसोका साथ हेरिएको छ ।

दूतावासकी कर्मचारी मोल्लील्यान रिभर्स वल्ड्सका हरेक गतिविधिलाई सुरक्षा चाँसोका साथ निगरानी गरेको सुरक्षा स्रोतले उनी किन आइन् ? र किन भ्रमण अवधिमै फर्किन् भन्ने बारेमा उच्च तहमा छलफल समेत थालेको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका एक अधिकारीले कर्णालीपत्रसँग भने, ‘कात्तिक १२ गते सिमकोट विमानस्थलमा अवतरण गरेदेखि २० फर्किनेक्रममा सिमकोट विमान स्थलमा जहाज नचढुञ्जेलका उनले गरेका हरेक गतिविधि सुरक्षाको दृष्ट्रिले निकै शंकास्पद लागेका थिए ।’ स्रोतले भन्यो, ‘त्यही भएर पनि हामीले उनको भ्रमणलाई उच्च निगरानीमा राखेका थियौ र अहिले पनि उनको भ्रमणको विषयलाई लिएर सुरक्षाका दृष्ट्रिकोणले आन्तरिक छलफल भइरहेको छ ।’

उत्तरी छिमेकी मुलुक चीनसँगको सीमाना जोडिएको लिमी भ्याली पुग्ने योजनाका साथ हुम्ला आएकी ती कर्मचारी बीचबाटो बाटै फर्किएपछि स्थानीय, प्रशासनिक र सुरक्षावृत्तको चासोको विषय बनेको छ ।

कात्तिक १२ गते सिमकोट पुगेकी उनी त्यसको भोलिपल्ट सिमकोट गाउँपालिका ७ स्थित धारापोरी बास बस्न पुगिन् । आफ्नो पूर्व योजना बमोजिम लिमी हिडेकी दूतावासकी कर्मचारी रिभर्स वल्ड्स कार्तिक १३ गते नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ्गमा बास बसिन् । स्रोताका अनुसार त्यसको भोलीपल्ट केही स्थानीयसँग ट्रकिङ जाने भन्दै पाल्वाङ्ग पुगेकी हुन् । शुरुदेखि जिल्ला सुरक्षा अधिकारीको निर्देशनमा स्थानीय प्रहरी चौकीको प्रत्यक्ष निगरानीमा रहेकी उनले सिमकोटदेखि नैं आफ्नो भ्रमणलाई त्यति सहज मानेकी थिएनन् । उनको व्यवस्थापनमा खटिएका एक स्थानीयले भने, ‘याल्वाङबट लिमीका लागि पाल्वाङ पुगेपछि अचानक उनले फर्किने निधो गरिन् ।’ बिहान एकाएक सिमकोट फर्किने भनेपछि आफू अचम्म परेको बताएका ती सहयोगीका अनुसार सिमकोदेखि नै सुरक्षाकर्मीको आगमनलाई निकै असहज मानेकी थिइन् । याल्वाङ वास बसेको दिन पनि सुरक्षाकर्मीले उनको भ्रमण तालिकाका बारेमा निकै चासो राखेपछि उनको अनुहार नै परिवर्तन भएको बताएका लामा थरका ती सहयोगीले त्यसपछि लिमीको यात्रा रद्ध गरेर सिमकोट फर्किएको बताए ।

सिमकोट फर्केपछि मोल्लील्यान रिभर्स वल्ड्सले सिमकोट ३ लिमाटाङको गाउँ पुगिन् । कुन ठाउँमा गएर के गतिविधि गरिन भन्ने जानकारी गोप्य राखेको सुरक्षा निकायले लिमी नजानु, कुटनीति नियोगको कर्मचारी भएर कसैसँग नभेट्नुलाई थप चासोका साथ हेरेको हो । ‘दूतावासकी महिला कर्मचारी किन आइन् भन्नेमा हामीलाई समेत निकै खुल्दुली लागेको छ,’ जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख राजेन्द्रबहादुर सिहंले भने, ‘गाउँमा गएर कसैसँग भेटघाट पनि गरेको देखिएन ।’

जिल्ला प्रशासन कार्यालयले राखेको जिज्ञासामा आफू टे«किङमा आएको जानकारी दिएकी ती कर्मचारीले प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईसँग मौसम प्रतिकुल भएर फर्किनु परेको बताएकी थिइन् ।

उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण लगत्तै भएको अमेरीकी दूतावासकी कर्मचारी इकोनमिक अफिसर मोल्लील्यान रिभर्स र नेपालस्थित भारतीय राजदुत मञ्जितसिंह पुरीले हुम्ला भ्रमण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली आफै हिंसामा–मुख्यमन्त्री शाही

२७ कार्तिक २०७६, बुधबार ०८:१०
‘कर्णालीबासी सामाजिक, आर्थिक, मानसिक र शारीरिक रुपमा कमजोर हुँदा हामीमाथि हुने क्षेत्रगत हिंसा बढेको हो’, उनले भने, ‘कर्णालीको पहिलो हिंसाका रुपमा रहेको केन्द्रिकृत मानसिकतामा परिवर्तन नहुञ्जेल हिंसाको समस्या समाधान हुन सक्दैन ।’