एकै वर्षमा २६४ किलोमिटर सडक

कर्णालीपत्र संवाददाता २५ कार्तिक २०७६, सोमबार ०७:०७

जाजरकोट । जाजरकोटका स्थानीय तहले एक आर्थिक वर्षमा २ सय ६४ किलोमिटर सडकको ट्रयाक खोलेका छन् । जिल्लामा भएका सात वटै स्थानीय तहले आर्थिक वर्ष २०७५/७६ मा ३३ वटा सडक आयोजना अन्तर्गत नयाँ ट्रयाक खोलेर गाडी सञ्चालनमा ल्याएका हुन् ।

आफनो पाँच वर्षे कार्यकालमा हरेक गाउँलाई सडक सञ्जालमा जोड्ने बाचा गरेका स्थानीय तहले वार्षिक बजेटको ठूलो अंश सडक निर्माणमा विनियोजन गरेर ट्रयाक खोल्ने काम गरेका हुन् ।

गएको आर्थिक वर्ष कुशे गाउँपालिकाले एक सय ४२ किलोमिटर, भेरी नगरपालिका र छेडागाड नगरपालिकाले ३५÷३५ किलोमिटर सडकको नयाँ ट्रयाक खन्ने काम गरेका छन् । यसैगरी बारेकोट गाउँपालिकाले २३ किलोमिटर, जुनिचाँदे गाउँपालिकाले २० किलोमिटर र शिवालय गाउँपालिकाले ९ किलोमिटर नयाँ सडक खनेका हुन् ।

जिल्लाका सबै स्थानीय तहले मुल सडकबाट प्रशासनिक केन्द्र र त्यहाँदेखि प्रत्येक वडालाई सडक पहुँचमा विस्तार गर्न नयाँ सडकको ट्रयाक खन्ने काम गरेका हुन् । यसै वर्ष आफ्ना सबै वडालाई कच्ची सडकमा जोड्ने योजना राखेका जाजरकोटका स्थानीय तहले आफ्नो कुल बजेटको ठूलो हिस्सा सडक खन्ने काममा लगाएको जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख मनबहादुर रावलले जानकारी दिए ।

जाजरकोट–डोल्पा सडक खण्डको बीचमा पर्नेे नलगाड नगरपालिका, भेरी नगरपालिका, शिवालय गाउँपालिका र छेडागाड नगरपालिकाले मुल सडकसँग आन्तरिक सडक जोड्ने काम गरिसकेका छन् । यस्तै पुष्पलाल राजमार्गका नामले समेत चिनिने मध्यपहाडी लोकमार्गसँग जोडिएका भेरी नगरपालिका, छेडागाड नगरपालिका र शिवालय गाउँपालिका पनि आफ्ना आन्तरिक सडकलाई जोड्ने काम गरिसकेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचन लगत्तै आन्तरिक सडक निर्माणलाई पहिलो प्राथमिकता दिएका स्थानीय तहले नागरिकलाई विकासको अनुभूति दिलाउने पहिलो पूर्वाधार सडक भएकाले आफूले सडकलाई नैं जोड दिएको बताए ।

संघीय सरकारबाट निर्माण भइरहेका सडकको स्तरोन्नतिमा ढिला हुँदा स्थानीय सडक निर्माणमा बाधा पुगेको नलगाड नगरपालिकालका नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए । प्रदेश सरकारले जिल्लाको सडक पूर्वाधारमा बजेट नदिँदा र जिल्ला समन्वय समिति जाजरकोटले स्थानीय तहको विकास निर्माणलाई अनुगमन तथा निरीक्षणका लागि चासो नदिएकाले लक्ष्यअनुसार रफ्तारमा अझै काम नभएको तर्क रावलको छ ।

‘स्थानीय तहले ट्रयाक खनेका नयाँ सडक हिउँदमा मात्र प्रयोगमा आउने देखिन्छ’ भेरी नगरपालिकाका प्रमूख चन्द्रबहादुर घर्तीले भने, ‘नयाँ खनिएका सडकको ठाउँठाउँमा रहेका खोलामा पुल नहुँदा सडक निर्माण गर्न हामीलाई निकै समस्या भएको हो ।’

निर्वाचनको क्रममा आफ्नो कार्यअवधिमै गाउँपालिका केन्द्रदेखि सबैै वडालाई सडक सञ्जालमा जोड्ने प्रतिवद्धता अनुसार गाउँपालिकाले सडकमा प्राथमिकता दिएको बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहीले बताए । ‘चालू आर्थिक वर्षको फागुन महिनासम्म गाउँपालिकाका सबै वडा सडकमा जोडिन्छन् ।’ उनले भने गत आर्थिक वर्षमै वडालाई जोड्ने लक्ष्यअनुसार रकम विनियोजन गरिएको थियो तर केही सडक क्रमागत रुपमा काम भइरहेका छन् ।’

१४६ किलोमिटर सडक स्तरोन्नती

गएको आर्थिक वर्ष जिल्लाभर एक सय ४६ किलोमिटर सडकको स्तरोन्नति गर्ने काम भएको छ । गाउँपालिकाले जिल्ला समन्वय समितिमा पेश गरेको प्रगति विवरण अनुसार उक्त सडकको स्तरोन्नति भएको देखिएको हो । जिल्ला समन्वय समिति जाजरकोटका अनुसार भेरी नगरपालिकाले २७ किलोमिटर ग्राभेल र ३३ किलोमिटर सडकको स्तरोननति गरेको छ । आफैले शुरूका आर्थिक वर्षमा खनेका सडकको स्तरोन्नति गर्ने काम गरेको नलगाड नगरपालिकाले ५३ किलोमिटर र छेडागाडले ३३ किलोमिटर सडकको स्तरोन्नति गरेका छन् ।

सडकलाई मात्र प्राथमिकता दिनुभन्दा जनताको जीवनस्तर बदल्ने अन्य कार्यक्रम सञ्चालन गर्नुपर्नेमा कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले जोड दिए । जिल्लामा सञ्चालित विकासे आयोजनाको अनुगमन गरेर फर्किएका सिंहले भने, ‘सबै स्थानीय तहलाई एकीकृत विकासका कार्यक्रम सञ्चालन गर्दे स्थानीय नागरिकको अर्थपूर्ण सहभागितालाई जोड सुझाव दिएको छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२०७६-०७-२५

२५ कार्तिक २०७६, सोमबार ०७:०७