पेट्रोलियम अन्वेषणमा २० टोली

कर्णालीपत्र संवाददाता २५ कार्तिक २०७६, सोमबार ०७:०२

दैलेख २५, कात्तिक ।
दैलेखको भू–भागमा पेट्रोलियम पदार्थको सम्भावना देखिएपछि शुरु गरिएको अन्वेषणको काममा २० वटा टोली परिचालन गरिएको छ । दैलेखका विभिन्न स्थानहरुमा चिनीयाँ कम्पनीले दुई साता अघि शुरु गरेको अन्वेषणमा छुट्टाछुट्टै २० वटा टोली परिचालन गरिएको हो । टोलीले साइस्मिक, जिओलोलिकल, केमिकल र भौगर्भिक सर्वेका कामहरु शुरु गरेको छ ।
अन्वेषणका लागि दैलेखका अग्ला पहाडदेखि समथल भू–भागहरुमा विभिन्न तीन हजारभन्दा बढी स्थानहरुको ड्रिलिङ्ग गरिने भएको छ । चीन सरकारको विशेषज्ञ टोलिले एक दिनमा २० भन्दा बढी स्थानहरुको विभिन्न तरिकाले अनुसन्धान थालेको हो । दैलेखको सबैभन्दा अग्लो भू–भाग चार हजार मिटर उचाईमा रहेको महावुलगायतका स्थानहरूसम्म टोलीले सर्वे गरेको छ । सदरमुकाममा पूर्वी, पश्चिमी, उत्तरी र दक्षिणी सबै भू–भागका अग्ला र होचा स्थानहरुमा विभिन्न अन्वेषणका कामहरु शुरु गरिएका छन् । भू–सतहभित्र पेट्रोलीयम पदार्थ भएकाले अहिले साईस्किम सर्वेका लागि काम अगाडि बढाइएको र अन्य तीनवटा सर्वेका कामहरु पनि एकै साथ अगाडि बढाइएको खानी तथा भू–गर्व विभागका अन्वेषण अधिकृत गणेशनाथ त्रिपाठीले जानकारी दिए । त्रिपाठीका अनुसार जमिनमुनिको संरचना पत्ता लगाउने तयारी पूरा भएको छ भने जिओलोजिकल सर्वे दुई सातादेखि सुरु भइरहेको छ । त्यस्तै भू–भौतिक सर्वे र जिओकेमिकल सर्वे अनुसार विभिन्न स्थानहरुमा काम शुरु भइरहेको पनि त्रिपाठीले जानकारी दिए । अन्वेषणका लागि आवश्यक पर्ने सामानसँगै चीनको अन्वेषण टोली र कामदार बस्ने क्याम्प समेत निर्माण भइसकेको छ । यता स्थानीय प्रशासनले अन्वेषण कार्यको सहजता र सुरक्षाको जिम्मेवारी लिएकाले जिल्ला प्रशासन कार्यालयले अन्वेषणका लागि आवश्यक पर्ने सबैखाले सुरक्षा रणनीति तयार गरेको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलसँगै सुरक्षा निकायको टोलीसमेत स्थलगत अनुगमनमा पुगेको छ । स्थलगत अनुगमन पश्चात् प्रजिअ कट्टेलले नेपालको पहिलो र महत्वपूर्ण आयोजना भएकाले अन्वेषण अवधिसम्मको सुरक्षा र सहजीकरणका लागि आफूले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
स्थानीयलाई रोजगारी
अन्वेषणका लागि आवश्यक पर्ने ७० जना जनशक्ति जिल्लाभित्र कै प्रयोग गरिएको छ भने भोजपुरका १७ जना जनशक्ति पहिलो चरणको अन्वेषणका लागि प्रयोग गरिएको छ । जमिनभित्र ५ किलोमिटरसम्म ड्रिलिगं गर्नका लागि ५० जना स्थानीयलाई क्याममै राखेर अहिले तालिम प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एकै वर्षमा २६४ किलोमिटर सडक

२५ कार्तिक २०७६, सोमबार ०७:०२
जिल्लामा भएका सात वटै स्थानीय तहले आर्थिक वर्ष २०७५/७६ मा ३३ वटा सडक आयोजना अन्तर्गत नयाँ ट्रयाक खोलेर गाडी सञ्चालनमा ल्याएका हुन् ।

सम्बन्धित शीर्षक