तीन महिनामा ९३ दुर्घटना, ३४ जनाको मृत्यु

कर्णालीपत्र संवाददाता २५ कार्तिक २०७६, सोमबार ०६:५४

सुर्खेत, २५ कात्तिक :
कर्णाली प्रदेशमा तीन महिनामा ९३ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परेर ३४ जनाले ज्यान गुमाएका छन् ।
चालू आर्थिक वर्षको साउन महिनायता भएका सवारी दुर्घटनामा परेर ४० जना गम्भीर घाइते भएका छन् भने सामान्य घाइते हुनेको संख्या एक सय ३६ छ ।
नेपाल प्रहरी कर्णाली प्रदेश कार्यालय सुर्खेतका अनुसार सबैभन्दा बढी असोज महिनामा ३३ वटा सवारी दुर्घटना भएका छन् । जसमा ११ जनाले ज्यान गुमाए । यसै गरी भदौमा २६ वटा दुर्घटनामा १३ जनाले ज्यान गुमाएका छन् । भने साउनमा भएका २३ वटा सवारी दुर्घटनामा ५ जनाले ज्यान गुमाए । कात्तिक १९ गतेसम्मको सवारी दुर्घटना सम्बन्धी प्रहरीमा भएको रेकर्ड अनुसार कात्तिकमा मात्रै ११ वटा सवारी दुर्घटनामा ५ जनाले ज्यान गुमाइसकेका छन् ।
कर्णाली प्रदेशका अधिकांश क्षेत्रका सडकहरू कच्ची भएको र चालकले न्यूनतम मापदण्ड समेत पूरा नगरेका कारण पनि दुर्घटनाको संख्यामा वृद्धि हुँदै गएको नेपाल प्रहरी कर्णाली प्रदेश कार्यालय सुर्खेतले जनाएको छ । ‘गएको आर्थिक वर्षको तुलनामा यो वर्षको शुरूवातीमै कर्णालीमा सवारी दुर्घटनाको संख्या दोब्बरले बढ्यो ।’ कार्यालयका प्रमुख समेत रहेका प्रहरी नायव महानिरीक्षक पूर्णचन्द्र जोशीले भने, ‘बढ्दो सडक विस्तारसँगै सवारी साधन प्रयोगकर्ताको संख्यामा बढोत्तरी भएकाले पनि विगतका वर्षको तुलनामा यो वर्षको शुरुमै सवारी दुर्घटनाको संख्या दोब्बर भएको हो ।’
उनका अनुसार गएको आर्थिक वर्षमा ४ सय २ वटा सडक दुर्घटनामा २ सय ६५ जनाले ज्यान गुमाएका थिए । दुर्घटनामा परि ३ सय ३३ गम्भीर र ३ सय ४४ जना सामान्य घाइते भएका थिए । जसमध्ये शुरुका तीन महिनामा ४६ दुर्घटनामा ५० जनाले ज्यान गुमाएका थिए ।
ट्राफिक जाँचमा कडाई
सवारी दुर्घटनाको संख्या दोब्बरले बढ्दै गएपछि प्रहरीले चेकजाँचमा कडाई गर्ने भएको छ । कच्ची र कमजोर सडकमा नयाँ र सवारी चालक अनुमती पत्र नै नलिएका चालकले सवारी चलाउँदा दुर्घटनाको संख्यामा बढोत्तरी आएको ठहर गरेको ट्राफिक प्रहरी कर्णाली प्रदेश कार्यालयले सबैतिर सवारी जाँचलाई कडाई गर्ने भएको छ ।
‘चालकले मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा कर्णालीमा बढी सवारी दुर्घटना भएका छन् ।’ कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक मेघराज प्रसाद चौरसियाले भने, ‘ट्राफिक नियमलाई कडाईका साथ पालना गर्ने हो भने मात्रै पनि ८० प्रतिशत सवारी दुर्घटना न्यूनीकरण गराउन सकिन्छ ।’ उनका अनुसार अस्वभाविक रुपमा बढ्दै गएका सवारी दुर्घटनालाई कम गर्न प्रदेश प्रहरी कार्यालय सुर्खेतले नियम विपरीत सवारी चलाउने चालकलाई कानूनी कारबाही गरेर ट्राफिक नियम सम्बन्धी बन्द प्रशिक्षण दिने व्यवस्था समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पेट्रोलियम अन्वेषणमा २० टोली

२५ कार्तिक २०७६, सोमबार ०६:५४
दैलेख २५, कात्तिक । दैलेखको भू–भागमा पेट्रोलियम पदार्थको सम्भावना देखिएपछि शुरु गरिएको अन्वेषणको काममा २० वटा टोली परिचालन गरिएको छ । दैलेखका विभिन्न स्थानहरुमा चिनीयाँ कम्पनीले दुई साता अघि शुरु गरेको अन्वेषणमा छुट्टाछुट्टै २० वटा टोली परिचालन गरिएको हो । टोलीले साइस्मिक, जिओलोलिकल, केमिकल र भौगर्भिक सर्वेका कामहरु शुरु गरेको […]

सम्बन्धित शीर्षक