कर्मचारीलाई काम गर्ने वातावरण बनाऊ

कर्णालीपत्र संवाददाता २२ कार्तिक २०७६, शुक्रबार १२:०४

गत असोज १३ गते प्रमुख प्रशासकीय अधिकृत पर्शुुराम उपाध्यायमाथि भएको भौतिक आक्रमणपछिको त्रासले मुगुको सोरुकोट गाउँपालिका कर्मचारीविहीन छ । ११ वटा वडा, एक दर्जन बढी स्वास्थ्य संस्था र सोही संख्यामा विषगत शाखा भएको गाउँपालिकामा एकजना पनि कर्मचारी छैनन् । गाउँपालिकामा भएका कुनै पनि कार्यालयमा कर्मचारी नभएपछि भौतिक पूर्वाधार तथा अन्य विकास निर्माणका कामभन्दा नियमितरूपमा भइरहेका स्वास्थ्य सेवा, पञ्जीकरण दर्ता, सिफारिसजस्ता अत्यावश्यक कामसमेत ठप्प छन् । एउटा जन्म/विवाह/बसाइँसराइ दर्ता र दुर्गमका स्थानीय बासिन्दा भएको सिफारिसका लागि जिल्ला सदरमुकाम गमगढी जानुपर्ने बाध्यता सोरुकोट गाउँपालिकाका बासिन्दालाई फेरि शुरु हुन थालेको छ । कर्मचारीमा देखिएको त्रासले गाउँमै सहजरूपमा हुने कामहरू सदरमुकाम केन्द्रित हुन थालेपछि सोरुकोटका स्थानीयलाई २०६२ अघिको राजनीतिक संक्रमणकालको झल्कोको पुनरावृति गराएको छ । सँगै यस घटनाबाट सृजित राजनीतिक मुडभेट र नागरिक सुरक्षामा हुनसक्ने सम्भावित घटनाले मुगुलगायत सुरक्षा पहुँचबाट टाढा रहेका स्थानीय तहका सरकार र नागरिकमा सन्त्रास फैलिएको छ । नागरिकको घरदैलोमा तीनै तहका नीति तथा कार्यक्रम पु¥याउने सबैभन्दा तल्लो स्थानीय तहका सबै कर्मचारी नहुँदा गाउँका सिंहदरबार बन्द हुनु राम्रो अवश्य पनि होइन ।

कर्मचारी आउलान भन्ने आसले बाटो कुरेर थाकेका गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीलगायतका पदाधिकारी आफैँ आजित भएका छन् । कर्मचारीलाई गाउँपालिकामा ल्याउन अनेक प्रयास गरिए पनि नआएको बताएका गाउँपालिका पदाधिकारीले आफ्नोतर्फको अन्तिम विकल्पका रूपमा तीन दिने अल्टीमेटमसहित गाउँपालिकामा कार्यरत सबै कर्मचारीका नाममा सामूहिक पत्र लेखेका छन् । असुरक्षाको कारण देखाउँदै प्रमुख प्रशासकीय अधिकृतदेखि अन्य कर्मचारी सोरुकोट गाउँपालिकाबाट अन्यत्र आफ्नो सरुवा गर्न सदरमुकाम गमगढी, प्रदेश राजधानी सुर्खेत र काठमाडौंका शक्ति केन्द्र धाइरहेका छन् ।

गाउँपालिकाको कर्मचारीकै मूल नेतृत्व प्रमुख प्रशासकीय अधिकृतमाथि दिउँसै भौतिक आक्रमण भएको महिना दिन बितिसक्दा पनि सरकारी तवरबाट ठोस् पहल नहुँदा गाउँपालिकाको काममा फर्किन कर्मचारीले थप मनोबल कमजोर बनाएका छन् । घटनापछि गाउँपालिकाका स्वास्थ्य संस्थामा काम गर्ने २३ जनाले कर्मचारीले एकै दिन रमना लिएर गएपछि स्थानीय स्वास्थ्य संस्था पनि कर्मचारीविहीन छन् । कर्मचारीविहीन गाउँपालिका भएको सोरुकोटका नागरिकका आगामी दिन थप कहरिला बन्नेमा दुईमत छैन ।

लामो चरणको राजनीतिक संक्रणकालको अन्त्य गरेर संविधानतः गठन भएका तीनै तहका सरकारले समृद्धिको यात्रा तय गरेको भनिएका बेला मुगुको सोरुकोट गाउँपालिकाको पछिल्लो अवस्थाः, राजनीतिक, विकास र नागरिक सुरक्षालगायतका संवेदनशील क्षेत्रमा देखिएको दुभाग्यपूर्ण घटना हो । यसको रणनीतिक समाधान र वैकल्पिक व्यवस्थापनमा प्रदेश र संघीय सरकारले चाल्ने कदममा ढिला भइसक्यो । सरकारले आफ्ना गतिविधिमाथि प्रतिबन्द लगाएको रीसमा आक्रमक भएको नेपाल कम्युनिस्ट पार्टी माओवादी ‘विप्लव’ ले आफ्नो उर्भर भूमिकारूपमा समेत दुर्गम क्षेत्रलाई बनाउँदै गएको छ । भित्रभित्रै मोटो चन्दा रकम बुझाइरहेका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी यस समस्याले सकभर गाउँमा जान नपाए हुन्थ्यो भन्ने मनस्थितमा छन् । जसको शुरुवात मुगुको सोरुकोटबाट भइसकेको छ । यस समस्यालाई सम्बन्धित निकायले बेलैमा समाधान गरेर निर्वाधरूपमा स्थानीय तहका कर्मचारीलाई काम गर्ने वातावरण चाँडोभन्दा चाँडो बनाउनु पर्छ । होइन भने सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा नहुने मात्रै होइन देशमा पुनः राजनीतिक संक्रमणकालको पुनरावृति हुने खतरा नहोला भन्न सकिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मन्त्रीले उद्घाटन गरेको कार्यालय चार महिनामै खारेज

२२ कार्तिक २०७६, शुक्रबार १२:०४
कर्णालीपत्र सुर्खेत । प्रदेशभरिका बासिन्दालाई रोग निदानमा विशेषज्ञ सेवा दिने उद्देश्यले उद्घाटन गरिएको कार्यालय चार महिनामै खारेज गरिएको छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला उद्घाटन भएको चार महिनामै खारेज गरिएको हो । स्वास्थ्य मन्त्रालय मातहतको क्षेत्रीय स्वास्थ्य निर्देशनालयअन्तर्गत रहेको प्रयोगशालालाई प्रदेश सरकार मातहत ल्याएर […]

सम्बन्धित शीर्षक