उपनिर्वाचनमा ७५ कर्मचारी

कर्णालीपत्र संवाददाता १८ कार्तिक २०७६, सोमबार ०८:०६

कर्णालीपत्र
सुर्खेत । आसन्न मंसिर १४ मा हुने उपनिर्वाचनका कर्णाली प्रदेशको हुम्ला र सल्यानमा ७५ जना कर्मचारी खटाइने भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष र सल्यानको कुमाख गाउँगालिका–५, का वडाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा उक्त संख्यामा निर्वाचन कर्मचारी खटाउने तयारी निर्वाचन आयोगले गरेको छ ।

जिल्ला निर्वाचन कार्यालय हुम्लाका अनुसार पाँच वडा भएको खार्पुनाथ गाउँपालिकामा पाँचैवटा मतदना केन्द्र तोकिएको छ । उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएका छन् । हुम्लाका जिल्ला निर्वाचन अधिकारी महेश शर्माका अनुसार पाँच मतदान केन्द्रका लागि पाँच मतदान अधिकृत, पाँच सहायक मतदान अधिकृत, १० जना सहायक निर्वाचन कर्मचारी, १८ स्वयम् सेवक र पाँच कार्यालय सहयोगी गरेर ४३ जना मतदान केन्द्रमा खटिने भएका छन् । जिल्ला न्यायाधीशको नेतृत्वमा स्थापना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सातजना गरी हुम्लामा ५० जना कर्मचारी निर्वाचनका लागि खटिने छन् । यसैगरी जिल्ला निर्वाचन कार्यालय सल्यानका निर्वाचन अधिकारी हरिबहादुर बुढाथोकीका अनुसार कुमाख गाउँपालिका–५, को वडाध्यक्ष पदको निर्वाचनका लागि १८ जना मतदान केन्द्र र सातजना मुख्य निर्वाचन अधिकृतको कार्यालय गरी २५ जना कर्मचारी खट्ने भएका छन् ।

पाँच हजार मतदाता सहभागी हुने

आसन्न मंसिर १४ मा हुने उपनिर्वाचनमा कर्णाली प्रदेशका पाँच हजार २६ मतदाता मतदानमा सहभागी हुने भएका छन् । हुम्लाको खार्पुनाथ गाउँपालिकाका तीन हजार एक सय ८७ र सल्यानको कुमाख गाउँपालिका–५, का एक हजार आठ सय ३९ जना मतदाता उपनिर्वाचनमा सहभागी हुने भएका हुन् ।

हुम्लाको खार्पुनाथ गाउँपालिका वडा १ मा आठ सय ८९, २ मा चार सय ८०, ३ मा तीन सय २३, ४ मा ६ सय ४२ र ५ मा आठ सय ५३ जना मतदाताले आसन्न निर्वाचनमा मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय हुम्लाका निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिए ।

निर्वाचन शिक्षा कार्यक्रम एक साता

उपनिर्वाचनका लागि मतदातालाई जानकारी दिन निर्वाचन कार्यालयले सञ्चालन गर्ने निर्वाचन शिक्षा कार्यक्रम एक सातामात्रै सञ्चालन गरिने भएको छ । ‘मतदाता बसोबास गर्ने क्षेत्र र संख्या पनि कम भएकाले उपर्विाचनमा निर्वाचन शिक्षा कार्यक्रम केन्द्रबाटै छोटो समय सञ्चालन गर्ने निदेशन छ,’ हुम्लाका निर्वाचन अधिकारी शर्माले भने, ‘मतदातालाई मतपत्रमा कसरी संकेत गर्ने, कस्ता मत बदर हुन्छन्, भन्नेमा मात्रै हाम्रो निर्वाचन शिक्षा केन्द्रित हुनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेश प्रमुख पदमुक्त

१८ कार्तिक २०७६, सोमबार ०८:०६
निवर्तमान कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनालले आफूलाई बर्खास्त गरेको बारेमा कुनै मतलब नभएको बताए । राष्ट्रपति कार्यालयको विज्ञप्तिका बारेमा कर्णालीपत्रले राखेको जिज्ञासामा खनालले भने, ‘म सन्ध्याकालीन हिँडाइ (इभिनिङ वाक) मा छुँ । हावा कुरा नगर्नुहोस् ।’