हिमाली जिल्लामा हिमपात

कर्णालीपत्र संवाददाता १८ कार्तिक २०७६, सोमबार ०८:०१

कर्णालीपत्र
सुर्खेत । पश्चिमी वायुको प्रभावका कारण कर्णाली प्रदेशभरिको मौसम बदली भएको छ । प्रदेश राजधानी सुर्खेतमा केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने र पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।

‘अबको दुई दिनसम्म कर्णाली प्रदेशका सबै जिल्लामा बदली हुने देखिन्छ ।’ मौसमपूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले भने, ‘हुम्ला, डोल्पा, मुगु र जुम्लाका केही स्थानमा हिमपातसमेत हुने देखिन्छ ।’ यसबीचमा ठूलै हिमपातको सम्भावना नरहेको बताएका मौसमविद् अर्यालका अनुसार कर्णाली प्रदेशका सबै जिल्लामा भने मौसम बदली भइ उत्तरी क्षेत्रमा हिमपात हुने सम्भावना छ ।

हुम्ला र डोल्पामा हिमपात

मौसम परिवर्तनसँगै वर्षकै पहिलोपटक हुम्ला, मुगु र डोल्पाको माथिल्लो क्षेत्रमा सामान्य हिमपात शुरू भएको छ । हुम्लाको सदरमुकाम सिमकोटको लाग्नादेखि माथिल्लो क्षेत्रमा आइतबार अपरान्हदेखि हल्का हिउँ पर्न शुरू गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताए ।

पश्चिमी वायुको प्रभावका कारण आइतबारदेखि मौसममा आएको परिवर्तनले माथिल्लो डोल्पाको शे–फोक्सुण्डो, डोल्पोबुद्ध, साल्दाङ र धो गाउँपालिकामा समेत सामान्य हिमपात भइरहेको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसितुण्डुप गुरुङले जानकारी दिए । ‘गाउँको नजिकै हिउँ पर्न थालेको छ,’ स्थानीय बासिन्दालाई उदृत गर्दै अध्यक्ष गुरुङले भने, ‘वर्षकै पहिलो हिमपातले जाडोे फाल्ने भएकाले पनि गाउँमा अत्यधिक जाडो बढेको छ ।’

उता मुगुको कार्मारोङ गाउँपालिकाको मुगु र करान क्षेत्रमा समेत हिमपात शुरू भएको छ । हिमपात शुरु भएपछि स्थानीय तापक्रम शून्यमा झरेको छ । नाम्खा गाउँपालिका मुचुका छपाल लामाका अनुसार आइतबार अपरान्हदेखि मुचु क्षेत्रको तापक्रम शून्यमा झरेको हो । ‘दिउसै धाराको पानी जमेपछि हामीलाई तापक्रम शून्यमा झरेको भन्ने जानकारी भयो,’ उनले भनिन् ।

लिमी प्रहरीचौकी स¥यो
अत्यधिक जाडो बढेपछि नाम्खा गाउँपालिकाको लिमी प्रहरीचौकी सरेको छ । शुक्रबार प्रदेश प्रहरीबाट आदेश आएपछि शनिबारदेखि लिमीको प्रहरीचौकी जिल्ला प्रहरी कार्यालय सिमकोटमा सरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रहरी प्रमुख सिंहले जानकारी दिए । उनका अनुसार भारी हिमपात र अत्यधिक जाडो बढ्दै गए हिल्सा प्रहरीचौकीलाई समेत सार्ने आन्तरिक तयारी भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उपनिर्वाचनमा ७५ कर्मचारी

१८ कार्तिक २०७६, सोमबार ०८:०१
आसन्न मंसिर १४ मा हुने उपनिर्वाचनका कर्णाली प्रदेशको हुम्ला र सल्यानमा ७५ जना कर्मचारी खटाइने भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष र सल्यानको कुमाख गाउँगालिका–५, का वडाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा उक्त संख्यामा निर्वाचन कर्मचारी खटाउने तयारी निर्वाचन आयोगले गरेको छ ।