दुतावासको सहयोग अपारदर्शी

कर्णालीपत्र संवाददाता १७ कार्तिक २०७६, आईतवार ०८:१८

कर्णालीपत्र
हुम्ला, १७ कात्तिक । भारतीय राजदुतावासले हुम्ला जिल्ला अस्पतालमा वितरण गरेको औषधि तथा स्वास्थ्य सामग्री सहयोगमा अपारदर्शीता देखिएको छ । शुक्रबार नेपाली सेनाको एमआई सेभेनटिन हेलिकोप्टर चार्टर गरेर हुम्ला पुगेका नेपालका लागि भारतीय राजदुत मञ्जितसिंह पुरीले जिल्ला स्वास्थ्य कार्यालय हुम्लाका निमित्त प्रमुख डा. टसी लामालाई हस्तान्तरण गरेको उक्त औषधि र स्वास्थ्य सामग्रीमा यस्तो देखिएको हो ।

भारतीय दुतावासले ४० लाखमा ४२ कार्टुन औषधि र केही स्वास्थ्य सामग्री मात्रै सहयोग गरेपछि यो तथ्य बाहिर आएको हो । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसहित सिमकोट पुगेका भारतीय राजदुत पुरीले शुक्रबार सिमकोट विमानस्थलमै आयोजना गरेको औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रलाई सम्बोधन गर्दै भने, ‘हाम्रा (भारतीय) कैलास तीर्थयात्रीलाई उपचारमा सहयोग गर्नु भएकोमा सधन्यवादसहित यो ४० लाख बराबरको औषधि तथा स्वास्थ्य सामग्री जिल्ला अस्पताल हुम्लालाई हस्तान्तरण गर्न चाहन्छौं ।’ सम्बोधन गरेलगत्तै नेपाली सेनाको हेलिकोप्टरमा आफूसँगै ल्याएको ४१ प्रकारको ४२ कार्टुन औषधि, तीन अक्सिजन सिलिण्डर, १० वटा हाइपरवेल्ट ब्याग जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डा. टसीलाई हस्तान्तरण गरे । राजदुत पुरीले सम्बोधनमा उल्लेख गरेको ४० लाख रकम र हस्तान्तरण भएको औषधि तथा स्वास्थ्य सामग्री देखेर कार्यक्रममा उपस्थित जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी मात्रै होइन अन्य उपस्थितिले समेत राजदुत पुरी आफैँले घोषणा गरेको मूल्य बराबरको औषधि र स्वास्थ्य सामग्री नआएकोप्रति शंका गर्दै जिब्रो टोके । कार्यक्रममा उपस्थित एक स्वास्थ्यकर्मीले कर्णालीपत्रसँग भने, ‘औषधि र स्वास्थ्य सामग्री हेर्दा त दश लाख पनि परेन जस्तो लाग्छ । तर ४० लाख रकम कसरी खर्च भयो ?’

दुतावासले सहयोगस्वरुप प्रदान गरेको औषधी तथा स्वास्थ्य सामाग्री जिल्ला स्वास्थ्य कार्यालय हुम्लालाई हस्तन्तरण गर्दै उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव र नेपालस्थित भारतीय राजदुत मञ्जितसिंह पुरी ।

भारतीय राजदुतावासकै आयोजनामा सञ्चालन भएको औपचारिक कार्यक्रममा कुटनीतिक मर्यादा कायम राख्न प्रतिक्रिया नदिएको स्वास्थ्यकर्मीहरूले बताए । दुतावासकोतर्फबाट राजदुत पुरीले जिल्ला स्वास्थ्य कार्यालयलाई औषधि र केही स्वास्थ्य सामग्रीबाहेक अन्य कुनै सामग्री हस्तान्तरण नगरेको उनीहरू बताउँछन् । सिमकोट विमानस्थलमा अवतरण गरेको एक घण्टापछि नेपाली सेनाको सोही हेलिकोप्टरमै स्वास्थ्यमन्त्री यादव र राजदुत पुरी फर्केका थिए । उनीहरू फर्किएपछि हस्तारण भएका सामान कार्यालयमा सारिएको थियो । राजदुत पुरीले अनुमानित मूल्य निर्धारण गर्दा घोषणा गरेको लागतको आधाभन्दा कम औषधि र स्वास्थ्य सामग्री आफूले पाएको अस्पतालले जनाएको छ ।
‘माहामहिम राजदुत आफैँले सार्वजनिक कार्यक्रममा घोाषण गरेको लागतअनुसारको सामान हामीले पाएनौं,’ जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको उच्च स्रोत भन्छ, ‘हामीलाई हस्तान्तरण गरेको औषधिको मूल्य चार लाखभन्दा बढी पर्दैन ।’ दुतावासबाट हस्तान्तरण गरिएको तीनवटा अक्सिजन सिलिण्डर, १० वटा हाइपर बेल्ट ब्यागको मूल्य पनि त्यति नपर्ने स्रोतले बतायो । स्रोत भन्छ, ‘नेपाली सेनाको हेलिकोप्टर भाडा जोड्दा पनि ४० लाख रकम पुग्दैन । दुतावासले कसरी त्यत्रो लागतमा सामग्री खरिद ग¥यो हामी अचम्म परेका छौं ।’

हरेक आर्थिक वर्षमा प्रदेश सरकारले जिल्ला स्वास्थ्य कार्यालयमार्फत् जिल्ला अस्पताल हुम्लालाई औषधि खरिद अनुदानमा दिने पाँच लाखको रकमले ४५ कार्टुन बढी औषधि खरिद गरेको जिल्ला स्वास्थ्य कार्यालयका एक अधिकारीले बताए । उनका अनुसार भारतीय दुतावासले दिएको औषधि तथा स्वास्थ्य सामग्री खरिद तथा ढुवानी पारदर्शी भएन ।

जिल्ला स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरेको सामग्रीको सूचीसमेत नदिएकाले कुन औषधि कति मात्रामा दिएको भन्ने एकिन गर्न समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डा. टसी लामाले बताए । ‘हामीलाई औषधि र स्वास्थ्य सामग्री बुझ्नु भन्ने खबर आयो, त्यहीँअनुसार बुझ्ने काम गरेका हौं । अरु यसबारेमा केही थाहा छैन,’ डा. लामाले प्रतिप्रश्न गर्दै भने, ‘कुन सामान कतिमा खरिद गरियो ? कतिमा ढुवानी भयो ? भन्नेबारेमा हामीलाई कुनै जानकारी छैन । तपाईंलाई विस्तृत जानकारी चाहिए उतै (भारतीय दुतावसमा) सोध्नुस् ।’ पटकपटक गरेर जिल्ला स्वास्थ्य कार्यालयलाई भारतीय दुतावासले दुईवटा अक्सिजन कन्सन्टेटर, पाँच केभिएको जेनेरेटरसमेत उपलब्ध गराएको भन्दै डा. लामाले मूल्यका बारेमा आफूलाई कुनै जानकारी नभएको बताए । आफूसँगको कुराकानीमा राजदुत पुरीले अघिल्लोपटक (जेनेरेटर र अक्सिजन कन्सन्टेटर) को सहयोगबापत पाँच लाख बेग्लै भएको बताएको डा. लामाले बताए । उनले भने, ‘राजदुत पुरीको मौखिक कुराअनुसार भारतीय दुतावासले हुम्ला जिल्ला स्वास्थ्य कार्यालयलाई ४५ लाख बराबरको सहयोग गरेको देखिन्छ ।’ तर सामग्री र औषधि कतिको आयो भन्नेबारेमा उनले कुनै प्रतिक्रिया दिन चाहेनन् ।

नेपालस्थित भारतीय दुतावासले पलब्ध गराएको औषधी स्वास्थ्यष् सामाग्रीकामे परिणामको बारेमा कुनै प्रतिक्रिया दिएको छैन् । औषधी हस्तान्तरण कार्यक्रममा सुहभागी दुतावासका एक कर्मचारीसँग औषधी र स्वास्थ्य सामाग्रीको सूची र मूल्यका बारेृमा कर्णालीपत्रको जिज्ञासामका उनले कुनै प्रतिक्रिया दिएनन् । तर दुतावासका जिल्लास्थित प्रतिनिधि शाहीले हस्तान्तरित औषध, स्वास्थ्य सामागी्र खरिद तथा ढुवानी गर्दा प्रयोग भएको हेलिकोप्टर भाडा जोडढ्दा उक्त रकम खर्च भएको दावी गरे ।

हुम्लावासीको नाममा आफ्नै नागरिकलाई सहयोग

भारतीय दुतावासले हस्तान्तरण गरेको औषधि तथा स्वास्थ्य उपकरण हुम्लाका बासिन्दाको नाम दिए पनि आफ्नै नागरिकको स्वास्थ्यलाई ख्याल गरेर वितरण गरेको पाइएको छ । गत वर्ष राजदुत पुरीको हुम्लास्थलगत भ्रमणका आधारमा उक्त औषधि र स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । राजदुत पुरीको स्थलगत भ्रमणका बेला बर्सेनि कैलाश मानसरोवरको यात्रामा जाने भारतीय तीर्थयात्रीलाई श्वासप्रश्वासमा समस्या देखापर्ने पाइएको थियो ।
सामग्री हस्तान्तरण कार्यक्रममा राजदुत पुरीले भने, ‘हाम्रा नागरिक (भारतीय) लाई यहाँ आउँदा श्वासप्रश्वासको निकै समस्या हुने भएकाले पनि यो सहयोग अपरिहार्य ठानेका हौं ।’ उनको यो भनाइ दुतावासको सहयोग हुम्लाका नागरिकलाई भन्दा बढी केन्द्रित भारतीय नागरिकलाई गरेको नेकपा हुम्लाका एक नेताले जनाए । कुटनीतिक विषय भएकाले आफ्नो नाम उल्लेख नगर्न आग्रह गरेका ती नेताका अनुसार औषधिको प्रकारले पनि सहयोग कसको लागि केन्द्रित छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । हुम्लाका स्थानीयका लागि हाइपर बेल्ट ब्यागजस्ता स्वास्थ्य उपकरण त्यति आवश्यक नहुने बताएकी प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले दुतावासको सहयोग अर्को वर्षमा आउने भारतीय तीर्थयात्रुप्रति लक्षित रहेको बताइन् ।

जिल्ला स्वास्थ्य कार्यालयमार्फत् नेपाल र चीनको सिमाना हिल्सामा स्थापना गरिएको अस्थायी स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालले मानसरोवर कैलाशको यात्रा गर्ने समयमा भारतीय नागरिकको उपचारमा सहयोग पु¥याएपछि दुतावासले यो वर्ष औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको भारतीय दुतावासका हुम्ला प्रतिनिधि जनकबहादुर शाहीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

करोडौं खर्चेर पनि गीताचौर सिँचाइ आयोजना अलपत्र

१७ कार्तिक २०७६, आईतवार ०८:१८
पञ्चायतकालमा सुरु भएको खानेपानी अहिलेसम्म अलपत्र, करोडौँ रकम स्वाहा

सम्बन्धित शीर्षक