उपकुलपति छान्न खुल्ला प्रतिस्पर्धा

कर्णालीपत्र संवाददाता १६ कार्तिक २०७६, शनिबार १०:४९

कर्णालीपत्र
सुर्खेत, १६ कात्तिक । सरकारले मध्यपश्चिम विश्वविद्यालयलगायत तीनवटा विश्व विद्यालयका उपकुलपति नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मध्यपश्चिमाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन आह्वान गरेको हो ।

भागबण्डामा विश्वविद्यालयको उपकुलपति नियुक्ति गरिएको भन्दै विरोध भइरहँदा सरकारले यसपटकदेखि इच्छुक उम्मेदवारसँग आवेदन मागेर नियुक्ति गर्ने नयाँ थालनीको सुरुवात गरेको हो । आवेदनको आधारमा रोष्ट्रर तयार गर्ने र त्यसबाट योग्य व्यक्तिलाई उपकुलपतिको रूपमा सिफारिस गर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले यसअघि कृषि तथा वन, नेपाल संस्कृत र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिको लागि आवेदन माग गरेको थियो । ती आवेदनमध्ये बाट उपकुलपति भने अझै नियुक्ति गरिएको छैन ।

उपकुलपति छनोट समितिकी सदस्यसमेत रहेकी राष्ट्रिय योजना आयोगकी सदस्य उषा झाले आवेदन माग गर्दा योग्य उम्मेदवारले आफ्नो अनुभव र क्षमता देखाउन सक्ने वातावरण तयार भएको बताइन् । ‘विगतमा सीधै उपकुलपति नियुक्ति गर्दा धेरै विवाद आए,’ उनले भनिन्, ‘यसपटक योग्य व्यक्ति प्रतिस्पर्धामा आउने वातावरण तयार गर्न आवेदन माग्ने निर्णय गरेका हौँ ।’ मन्त्रालयको पछिल्लो निर्णयले इच्छा नहुँदा नहुँदै जिम्मेवारी दिने र पदमा पुगिसकेपछि काम भएन भनेर व्यक्तिको आलोचना गर्ने परिपाटीको अन्त्य हुने सदस्य झाको विश्वास छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा.डा. उपेन्द्र कोइरालाको गत असोज ५ गते पदावधि सकिएपछि उक्त पद रिक्त छ । हाल व्यवस्थापन संकायका डीन डा. मस्तबहादुर गरंजालाई काम चलाउ कुलपतिको जिम्मा दिइएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कुलपतिको लागि आधा दर्जनभन्दा बढी उम्मेदवार आकांक्षी छन् । आकांक्षी उम्मेदवारहरूले राजनीतिक लविङ तीव्र बनाए पनि आवेदन माग्ने नयाँ प्रक्रियाले भने आकांक्षीलाई भने अप्ठ्यारो हुने भएको छ । सम्भावित उम्मेदवारमध्येका एकले आवेदन दिएर नियुक्ति नहुने हुँदा प्रतिष्ठा घट्ने डरले पनि पक्का भएपछि मात्र आवेदन दिने बताए । उनले भने, ‘शाहीकालमा राजाले प्रधानमन्त्रीको दरखास्त मागेजस्तो मागेर प्राज्ञिक व्यक्तित्वमाथि अपमान गरियो यो राम्रो भएन ।’ स्रोतका अनुसार आवेदन माग गरिए पनि बाहिर उपयुक्त उम्मेदवार छनोट गरेको सन्देश दिने गरी भागबण्डामै उपकुलपति नियुक्ति हुने सम्भावना

छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र पूर्व एमाले वा पूर्व माओवादीमध्ये जसको कोटामा उपकुलपति पर्छ उसैले सिफारिस गर्ने छ ।

 

यसैबीच कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा.पूण्यप्रसाद रेग्मी पनि मध्यपश्चिमाञ्चल (मप) विश्वविद्यालयको उपकुलपतिको उम्मेदवारको सम्भावित सूचीमा रहे पनि उनी भने यो सूचीबाट बाहिरिएका छन् । रेग्मी चितवनमा रहेको कृषि, वन विज्ञान विश्वविद्यालयको उपकुलपतिमा नियुक्ति हुने सम्भावना भएपछि मप विश्वविद्यालयको दौडबाट बाहिरिएका हुन् ।

  डा. मस्तबहादुर गंरजा           
 

 डा. मस्तबहादुर गंरजा
डीन, व्यवस्थापन संकाय मध्यपश्चिमाञ्चल विश्वविद्यालय (हाल काम चलाउ उपकुलपति)

म स्वभाविकरूपमा दाबेदार हो । मलाई अर्को व्यवस्था नभएसम्म काम गर्न जिम्मेवारी दिइएको छ । मैले दुई कार्यकाल डीनकोे जिम्मेवारी सम्हालीसकेको छुँ । आवेदन आह्वान गरेको थाहा पाएँ । स्वभाविक उम्मेदवार भएकोले दरखास्त हाल्छु । मलाई जिम्मेवारी दिइयो भने कुशलतापूर्वक विश्वविद्यालय सञ्चालन गर्छु ।

 

प्रा.डा. केशरसिंह राना
सदस्य, मध्यपश्चिमाञ्चल विश्वविद्यालय सेवा आयोग

प्रा.डा. केशरसिंह राना

प्राकृतिकरूपमा पनि मेरो स्वभाविक दाबेदारी रहन्छ । अरु साथीहरू पनि हुनुहुन्छ । विश्वविद्यालयलाई व्यवस्थितरूपमा सञ्चालन गर्नुपर्ने छ । मन्त्रालयले मागेको आवेदनमा म पनि सहभागी हुन्छु । जिम्मेवारी पाएको खण्डमा कुशलतापूर्वक सञ्चालनमा मेरो योगदान रहन्छ ।

 

 

 

प्रा.डा. जीवेन्द्रदेव गिरी

     प्रा.डा. जीवेन्द्रदेव गिरी

प्राध्यापक, त्रिवि एवम् पूर्व सदस्य सचिव नेपाल प्रज्ञा प्रतिष्ठान

 

धेरै शुभचिन्तकहरूले सुर्खेतमा आएर शिक्षा क्षेत्रमा काम गरेहुने थियो भने शुभेच्छा राख्नु भएको छ । मेरो पनि जिल्लामा बसेर काम गर्ने इच्छा छ । तर मरिहत्ते गर्ने विचार छैन । हानथाप गरेर पद ओगट्नु राम्रो होइन । जिम्मेवारी आयो भने लिन तयार छुँ । अहिले जुन किसिमको हानथापमा छ त्यसमा म संलग्न छैन । पहिलोपटक पनि मेरो सम्भावना थियो । अरु क्षमतावान् साथीहरू आउनुभयो भने पनि मेरो सहयोग हुन्छ । दरखास्त हाल्ने समय छ त्यसको बारेमा सोच्दैछु ।

प्रा.डा. कवि पोखरेल
प्राध्यापक, त्रिभुवन विश्वविद्यालय

प्रा.डा. कवि पोखरेल

यस क्षेत्रको शिक्षालाई मैले बुझेको छुँ । उच्च शिक्षा गरिब जनताको बोझ हुनु हँुदैन । मध्यपश्चिमाञ्चल विश्वविद्यालय यहाँका निम्न आय भएका जनताका छोराछोरीको पहुँचमा पुगोस् भन्ने हेतुले स्थापना गरिएको हो । विश्वविद्यालय जुनरूप सञ्चालन होस् भन्ने अपेक्षा थियो त्यो पूरा हुन सकेन । म विगत लामो समय यसै क्षेत्रमा काम गरे । विश्वविद्यालयल बनाउँदा पद नपाएकोलाई पद दिने ठाँउ होइन । स्थापनाकालदेखि व्यक्तिगत लाभमा सीमित भयो । संस्थालाई दुरुपयोग गरियो । हिजोका नियुक्तिले के सन्देश गयो अब सोच्नुपर्छ । शुभचिन्तकले मलाई आवेदन दिन सल्लाह दिएका छन् । तर मैले आफ्नो स्वाभिमानमाथि आँच आउने गरी पदको लागि मरिहत्ते गर्दैन । हेरौँ अवस्था कस्तो हुन्छ ? जिम्मेवारी लिने अवसर आयो भने मात्र आवेदनमा सहभागी बन्छु ।

 

 

प्रा.डा. नन्दबहादुर सिंह
प्राध्यापक, त्रिभुवन विश्वविद्यालय

        प्रा.डा. नन्दबहादुर सिंह

संसारका विश्वविद्यालयको स्तरीकरणमा आज हेर्ने हो भने मध्यपश्चिमाञ्चल विश्वविद्यालय ११ हजार आठ सय ८१ औं स्थानमा छ । जुन आफैँमा लाजमर्दो हो । यदी मैले नेतृत्व पाउने हो भने शुरुका चार महिनामै पाँच हजारौं स्थानमा विश्वविद्यालयलाई ल्याउने पहिलो प्रयास हुनेछ । उत्कृष्ट विश्वविद्यालयको एक्काइसौं सूचीमा रहेको टेकियो विश्वविद्यालयमा गरेको अध्ययन र कार्य अनुभवले मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई म शैक्षिक संस्था होइन् अब शैक्षिक कारखानाकारूपमा विकास गर्ने छुँ । २१ औं सताब्दि ज्ञानको समाज हो । जहाँका हरेक क्षेत्रमा विज्ञता र सृजनशीलताको नेतृत्व अनिर्वाय हुन्छ । विश्वविद्यालयको पदलाई भजाएर आर्थिक शोषण गर्ने, आफ्ना निवास अत्याधुनिक बनाएर विद्यार्थीका कक्षा कोठालाई झुप्रोमै राख्ने प्रवृतिले बजारमा बेरोजगारी उत्पादन गर्नेबाहेक अरु केही हुन्न । जो आज छ । अब यसलाई परिवर्तन गर्ने नेतृत्वको आवश्यक्ता छ ।

रारालाई रणनीतिक क्षेत्रका रूपमा राखेर जैविक र पर्यावरणीय अध्ययनरस्रोत केन्द्रका रूपमा विकास गर्ने हो भने मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विश्वभरका विद्यार्थीको अकर्षणको थलो बन्छ । जसका लागि उपकुलपति आफैँ दिनमा १८/२० घण्टा आफैँ खट्नु पर्छ जुन आजसम्म देखिएन तर म देखाउन चाहन्छु । मैले शुक्रबार शिक्षा मन्त्रालयमा पेस गरेको भिजन प्लानभन्दा अरु कसैको उत्कृष्ट हुन्छ भने म सहजरूपमा स्वीकार्छु । होइन भने मलाई मौका दिइयोस् मैले अघि सारेको थ्री एस ग्राउण्ड थेउरीका माध्यमलेल विश्वविद्यालयलाई, राजनीति, सांस्कृति, उद्योग, कृषि र पर्यटनसँग जोडेर नेपाल सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यलाई साकार पार्नेमा केन्द्रित रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२०७६-०७-१६

१६ कार्तिक २०७६, शनिबार १०:४९